• ६ जेठ २०८१, आइतबार

उदयपुर सिमेन्ट उद्योग

पत्रु सामान बिक्रीबाट साढे पाँच करोड आम्दानी

blog

उदयपुर सिमेन्ट उद्योगको सिँधाली खानी क्षेत्रमा अलपत्र उपकरण । यी सामान उद्योगले बिक्री गरेको हो । फाइल तस्बिर :भक्तिविलास पोखरेल

गाईघाट, जेठ ३१  गते  । उदयपुर सिमेन्ट उद्योगले विभिन्न किसिमका पत्रु सामान बिक्री गरी करिब साढे पाँच करोड रुपियाँ आम्दानी गरेको छ । उद्योगको प्लान्ट तथा खानी क्षेत्रमा विगत लामो समयदेखि प्रयोगविहीन अवस्थामा यत्रतत्र छरिएर रहेका फलामे सामग्री तथा विभिन्न उपकरण खुला प्रतिस्पर्धाका आधारमा बिक्री गरिएको हो । ती सामान बिक्रीबाट उद्योगले पाँच करोड ४८ लाख रुपियाँभन्दा बढी आम्दानी गरेको उद्योगका महाप्रबन्धक गोपिकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

उद्योग स्थापनाका क्रममा जापान सरकारले अनुदानस्वरूप उपलब्ध गराएका ती उपकरण प्रयोग पनि नभइरहेका र बिक्री पनि नगरिँदा खिया लागेर त्यसै सडेर जान लागेको र यसबाट उद्योगलाई निकै ठूलो नोक्सानी हुने अवस्था थियो । 

उहाँका अनुसार मेसिन, औजार, उपकरण र सवारीसाधनबाहेकका ५३ वटा ‘आइटम’का पत्रु सामानका लागि काठमाडौँ,  सिनामङ्गलको प्रयास सोलुसन एन्ड बिल्डर्सले भ्याटबाहेक दुई करोड ४१ लाख रुपियाँमा लिलाम ठेक्का सम्झौता गरेको हो । 

यसबाहेक अन्य उपकरणमा १६ वटा डम्प ट्रक, पाँचवटा पजेरो जिप, तीनवटा मिनी बस, दुईवटा एक्साभेटर, तीनवटा बुल्डोजर, चारवटा एयर कम्प्रेसर, तीनवटा क्राउलर ड्रिल, दुईवटा फायर इन्जिन, दुईवटा इन्धन ट्याङ्कर, दुईवटा फोर्कलिफ्ट, फायर फाइरिङ, म्यागजिन बक्स, दुईवटा ह्विल लोडर, दुईवटा ट्र्याक लोडर, भाइब्रेटिङ रोलर र ड्रिल मेसिनलगायतका थोत्रा सामान तीन करोड सात लाख रुपियाँमा बिक्री गरिएको हो ।

यसैबीच जलजलेस्थित कारखाना परिसरमा सोमबार आयोजित उदयपुर सिमेन्ट उद्योगको ३४औँ वार्षिक साधारण सभा तथा वार्षिकोत्सव कार्यक्रमको अवसरमा महाप्रबन्धक न्यौपानेले आगामी आर्थिक वर्षमा उद्योगलाई अझ सबल र बलियो बनाउने प्रतिबद्धतासहितका विभिन्न योजना सार्वजनिक गर्नुभयो ।

उद्योगको खर्च कटौती गर्दै स्पेयर पार्टस्को उचित व्यवस्थापन गरी क्लिन सेल, रमिल, कोल मिल आदिलाई चुस्त दुरुस्त पार्ने, हाल कायम रहेको ५३३ जनाको दरबन्दीभित्रैबाट जनशक्ति उपयोग गर्ने, उद्योग क्षेत्रमा हुने धुलो धुँवा नियन्त्रण गर्ने, उत्पादन वृद्धि गर्ने, अर्काे प्लान्ट निर्माण गर्नेलगायतका योजना महाप्रबन्धक न्यौपानेले सार्वजनिक गर्नुभयो ।