• १८ असार २०८१, मङ्गलबार

आउन थाले रोकिएका ट्याङ्कर

blog

रुपन्देहीको बेलहिया नाकामा रोकिएका इन्धन बोकेका ट्याङ्कर । भारतीय तेल डिपोमा आएको समस्याले रोकिएका यी ट्याङ्कर आइतबार अपराह्नदेखि नेपाल भित्रिन थालेका छन् । तस्बिर : लक्ष्मण पौडेल/भैरहवा

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ ३१ गते । दुई दिनदेखि भारतीय क्षेत्रमा रोकिएका नेपाली ट्याङ्कर आउन थालेका छन् । भारतीय भन्सारमा रहेका इन्डियन आयल कर्पोरेसनको डिपोमा आन्तरिक कोड आईईसीएडीमा प्राविधिक समस्या आएपछि तेल भर्ने काम बन्द हुँदा नेपाली ट्याङ्कर रोकिनुपरेको नेपाल आयल निगमले जनाएको छ ।

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले भारतीय भन्सारमा आएको समस्याले नेपाली ट्याङ्कर दुई दिन रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतीय भन्सारमा उनीहरूको आन्तरिक सुरक्षा कोडमा समस्या आएपछि तेल भर्ने काम दुई दिन रोकिएको हो । आजदेखि तेल भर्न सुरु भएको छ, ट्याङ्करहरू नेपालतर्फ आउने क्रम सुरु भइसक्यो ।” 

दुई दिन तेल आपूर्ति बन्द हुँदा समग्र आपूर्ति व्यवस्थामा असर नपर्ने प्रवक्ता उपाध्यायले बताउनुभयो तर तेस्रो दिन पनि ढुवानी बन्द भएको भए बजारमा समस्या हुन सक्ने उहाँको भनाइ छ । 

उपाध्यायका अनुसार इन्डियन आयल कर्पोरेसनको माथिल्लो तहबाट भारतीय भन्सारमा प्राविधिक समस्या आए पनि नेपालको लागि तत्काल लोड गर्नु भन्ने निर्देशन आएपछि ढुवानी सुरु भएको हो । सोमबार विराटनगर, वीरगञ्ज, सुनौली, नेपालगञ्जलगायत नाकाबाट ढुवानी सुरु भएको छ ।