काठमाडौं, जेठ ३ गते । नेपाली राजनीतिले हरेक वर्ष जेठ ३ मा सम्झिने नाम हो मदन–आश्रित ।
२०५० साल जेठ ३ गते दासढुङ्गामा भएको रहस्यमय जीप दुर्घटनामा नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको अकल्पनीय मृत्यु भयो जसले नेपालको लोकतान्त्रिक एवम् वामआन्दोलनमा अपुरणीय क्षति पुर्यायो ।
“त्यो घटनाको भोलिपल्ट म आफैं अवलोकन गर्न गएको थिएँ । जे देखें, त्यो स्वभाविक घटना लागेन । उहाँहरु चढेको जीप दासढुङ्गाबाट त्रिशूली नदीमा खस्यो”, पुराना वामपन्थी नेता एवम् नेकपा (माले) का महासचिव सीपी मैनालीले भन्नुभयो, “मदन भण्डारीको शव नारायणी नदीको बगरमा भेटियो । यो स्वभाविक दुर्घटनाको रुपमा लाग्दैन, घटाएको दुर्घटना हो ।”
वामपन्थी नेता राधाकृष्ण मैनाली जेठ ३ लाई शोकाकुल एवम् सहयोद्धामा निराशा ल्याएको विरहलाग्दो दिनको रुपमा सम्झनुहुन्छ ।
नेता मैनालीले भन्नुभयो, “सहयोद्धामा एउटा विरहलाग्दो दिन त हो । मदन–आश्रितको जुन व्यक्तित्व हो । त्यसमा पनि मदनको व्यक्तित्व एउटा लडाकुपन, देशलाई सुधार गर्ने सोच, चिन्तनमा राष्ट्रवादी प्रेम, कुशल, हक्की स्वभाव, शुद्ध मनको नेताको रुपमा अगाडि आएका थिए । त्यसभित्र उहाँको निश्चलपन थियो ।”
नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले जननेता स्वर्गीय मदन भण्डारी र जीवराज आश्रित नेपाली कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको अत्यन्तै इमानदार, निष्ठावान एवम् समर्पित नेताका रुपमा सम्झनुभयो ।
नेता बोहोराले भन्नुभयो, “जननेता कमरेड मदन भण्डारी र पार्टीको कुशल सङ्गठक कमरेड जीवराज आश्रितको ३२ औं स्मृति दिवसमा म आफ्नो तर्फबाट हार्दिक श्रद्धाभाव व्यक्त गर्दछु । उहाँहरु नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनको अत्यन्तै इमानदार, निष्ठावान, समर्पित नेताहरु हो । हिजो प्रजातन्त्र भनिन्थ्यो, अहिले लोकतन्त्र भनिन्छ । जे भएपनि लोकतन्त्र, प्रजातन्त्र ल्याउनका निम्ति उहाँहरुले ठूलो योगदान गर्नुभएको छ ।”
अहिले सरकारको नेतृत्व समेत गर्दै आएको नेकपा (एमाले) ले ‘जनताको बहुदलीय जनवाद’ लाई पार्टीको मार्गनिर्देशक सिद्धान्तको रुपमा अङ्गाल्दै आएको छ । जुन सिद्धान्तका प्रणेता हुनुहुन्छ, जननेता मदन भण्डारी ।
वामपन्थी नेताहरुले स्वर्गीय भण्डारीले प्रतिपादन गर्नुभएको ‘जबज’ को उपयोगिता एवम् वर्तमान अवस्थामा सान्दर्भिकताका विषयमा आ–आफ्नो विचार राख्नुभयो ।
नेता बोहोराले तत्कालीन समयमा विश्वमा माक्र्सवादको औचित्यमाथि नै धक्का लागेको अवस्थामा नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ रुप दिने विषयमा जननेता भण्डारीको योगदान अविस्मरणीय रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “वैचारिक आक्रमण भएको बेलामा नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ रुप दिने बारेमा कमरेड मदन भण्डारीको एकदमै विशेष योगदान छ । खासगरी, हामीले लामो समयदेखि जनवादी क्रान्ति, नौलो जनवाद भनिराखेको ठाउँमा ‘जनवाद’ लाई ‘प्रतिस्पर्धात्मक जनवाद’ मा रुपान्तरण गर्ने मामलामा उहाँले धेरै ठुलो योगदान गर्नुभयो । जसको परिणाम स्वरुप २०४६ सालमा भूमिगतरुपमा आयोजना गरेको तत्कालीन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशनबाट ‘जनवादी व्यवस्थामा प्रतिस्पर्धा’ भन्ने हामीले थप्यौं ।” यसले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा लगेको उहाँको भनाइ छ ।
यसैगरी, २०४९ सालमा भएको एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनबाट ‘जनताको बहुदलीय जनवाद’ को नीति तथा कार्यक्रमको विकास भयो । विपक्ष तथा विपरीत विचारलाई पनि असाध्यै सम्मानजनक स्थान दिइयो । खुला छलफल, तर्कवितर्क र विश्लेषणपछि परिस्कृत सिद्धान्तको रुपमा ‘जबज’ को विकास भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “सबै विचारलाई परिस्कृत गरेर तत्कालीन नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशन २०४९ सालमा भयो । त्यसबाट ‘जनताको बहुदलीय जनवाद’ को नीति तथा कार्यक्रमको रुपमा विकास गरेर अहिलेसम्म आएका छौं । यसको राजनीतिक अडान, वर्ग अडान ठीक छ । यसले परिवर्तन र क्रान्तिको प्रक्रियालाई नयाँ ढङ्गले विश्लेषण गरेको छ ।”
वामपन्थी नेता राधाकृष्ण मैनालीले जननेता भण्डारीको नेतृत्वमा विपक्षी मतलाई समेटेको तथा आन्दोलन एकीकृत रुपमा अघि बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मदन भइराखेको भए आन्दोलन पनि एकीकृत हुन सक्थ्यो । त्यतिखेर पार्टीभित्र ठुलो विवाद थियो । जनताको बहुदलीय जनवाद र अरु विभिन्न विचारहरुको खैलाबैला पार्टीमा थियो । मदनकै नेतृत्वले त्यतिखेर सबै नेताहरुलाई, विपक्षी मत राख्ने सीपी, झलनाथ सबैलाई समेटेर पार्टीलाई एकीकृत बनाउँदै अगाडि लिएर जानुभएको थियो ।”
उहाँले वर्तमान अवस्थामा समाजवादका लागि ‘जबज’ जप्ने गरेपनि देशलाई सम्पन्न दिशातिर लाने कुरामा कुनै पनि वामपन्थी नेतृत्व आउन नसकेको बताउनुभयो ।
“आम मान्छेको सत्ताप्रतिको जुन विकर्षण बढेको छ, त्यसलाई हटाउने होइन, त्यो विकर्षणलाई नै पुँजी ठान्ने । यही सोचमा मदन भण्डारीको ‘जबज’ लाई लेप लगाएर जाने कुरा आएको छ । मदन–आश्रितको सङ्गठनात्मक स्वरुपलाई परिपूर्ण गरेर देशलाई सम्पन्न दिशातिर लाने कुरामा वामपन्थी नेतृत्व आउन सकेन”, उहाँले भन्नुभयो, “मदनको ‘जबज’ जपेर मात्रै होइन जबज जस्तै काम पनि गर्नप¥यो । त्यो काम गर्न नसक्दा देशले अप्ठ्यारो दिनहरु भेगिरहनुपरेको छ ।”
मदन–आश्रितको दुखद् अवसान नभएको भए देशको प्रजातान्त्रिक धारले नै नयाँ धार समात्न सक्ने सम्भावना समेत रहन्थ्यो, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “दासढुङ्गा घटना नभएको भए देशको इतिहास, परम्परा नै अर्को हुन सक्थ्यो । देशको बहुदलीय प्रणाली, प्रजातान्त्रिक धारले नै नयाँ धार लिन सक्ने सम्भावना थियो । त्यसो नभएर हामीले ठूलो संकट भोग्नुपर्यो । जुन संकटलाई हामीले माथि उठाउन सकेका छैनौं । मदन–आश्रितको अवसान राष्ट्रिय ठुलो क्षति हो जुन संकट धान्न अहिलेको नेतृत्वले सकिरहेको छैन ।”
यस्तै, नेकपा (माले) का महासचिव मैनालीले परिवर्तनका लागि जनताको चेतना, सङ्गठन, आन्दोलन र शक्तिमा भर पर्नुपर्छ भन्ने नीति लिनसक्नुपर्ने बताउनुभयो । उहाँले ‘जबज’ लाई तात्कालीक सिद्धान्तको रुपमा बुझ्नुपर्ने भनाइ समेत राख्नुभयो ।
उहाँले भन्नुभयो, “जनताको बहुदलीय जनवाद भनेको तात्कालीक कुरा हो । तत्काल बहुदलीय व्यवस्थालाई सदुपयोग गर्दै मात्रात्मक परिवर्तनलाई देश र जनताको हितमा मात्रै यसलाई प्रयोग गर्नुपर्छ । एमालेजनले विचार गर्थे भने, सधैंभरी समाज परिवर्तनको जनवाद, साम्यवाद ल्याउने नीति हो भन्ने जुन छ, यसलाई बदल्न तयार हुनुपर्छ ।”