• १५ भदौ २०८२, आइतबार

‘सत्यम्’ कथामा द्वन्द्व, जनआन्दोलन र यथार्थको चित्रण

blog

 काठमाडौँ, भदौ १४ गते । पत्रकार तथा कथाकार लक्ष्मण वियोगीको कथाकृति ‘सत्यम्’माथि शनिबार राजधानीमा बृहत् विमर्श सम्पन्न भएको छ । वरिष्ठ साहित्यकार तथा समालोचकहरूले एक कार्यक्रमकाबीच समीक्षा एवम् टिप्पणी गर्नुभएको हो ।

वरिष्ठ साहित्यकार एवम् समालोचक प्राडा गोविन्दराज भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा डा तुलसीप्रसाद भट्टराई प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्राडा कुमारप्रसाद कोइरालाले प्रमुख वक्ताको भूमिका निर्वाह गर्नुभएको थियो भने लेखक तथा पत्रकार राजेश खनालले सञ्चालन गर्नुभएको थियो ।

१५ कथा समेटिएको कृतिबारे समालोचक डा। अशोक थापा, महेश पौड्याल, डा। शोभा ढुंगाना, टेकनारायण ढकाल, जानुका खतिवडा र देवी तिमल्सिनाले आफ्ना टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।

समालोचक डा थापाले ‘चुन्कीको रहस्य’, ‘छुटेका पानीहाँस’ र ‘क्रमु’ कथाबारे बोल्दै फरक भाषाबाट सुरुआत गरिएकाले पाठकलाई कथामा प्रवेश गर्न कठिन हुनसक्ने टिप्पणी गर्नुभयो । ‘क्रमु’मा जातीय कारणले असफल बनेको प्रेमलाई कल्पनाभन्दा माथि उठाएर प्रस्तुत गरिएको भए अझ प्रभावकारी हुने सुझाव पनि दिनुभयो । त्यस्तै, ‘छुटेका पानीहाँस’ कथामा पात्रलाई अनिश्चिततामा छोडिएको हुँदा पाठकलाई खल्लो अनुभूति हुने सम्भावना रहेको उल्लेख गर्नुभयो ।

डा। शोभा ढुंगानाले ‘स्वप्नलोक’, ‘प्रेत–यान’, ‘चराहरू उडे’ र ‘सौँराई’ कथामाथि धारणा राख्दै ‘सत्यम्’ नामसँगै कथाहरू यथार्थपरक रहेको बताउनुभयो । उहाँले माओवादी द्वन्द्वले जन्माएका पीडा र आघातलाई कथाकारले सफलतापूर्वक उजागर गर्नुभएको धारणा राख्नुभयो ।

समालोचक टेकनारायण ढकालले ‘राँकेभूतको लीला’, ‘मनफूल झरेपछि’ र ‘हिउँखोलाको आलाप’ कथामाथि टिप्पणी गर्दै आफू पनि द्वन्द्वकालीन पीडित भएको स्मरण गर्दै कृतिकारले कथालाई न्याय गर्नुभएको उल्लेख गर्नुभयो ।

आख्यानकार जानुका खतिवडाले ‘टाउको’, ‘रित्तो गुँड’ र ‘बागियान’ कथामा युद्धको पृष्ठभूमि, आञ्चलिकता र स्थानीय बोलिचालीको प्रयोगले कथालाई उत्कृष्ट बनाएको बताउनुभयो । उहाँले परिवेशको वर्णनमा कथाकार बढी हाबी भएको पक्षलाई औँल्याउनुभयो ।

अर्की टिप्पणीकार देवी तिमल्सिनाले ‘ऊ’ र ‘आँसुको लोरी’ कथामाथि आफ्ना पाठकीय अनुभव राख्नुभएको थियो ।

समालोचक महेश पौड्यालले ‘सत्यम्’ले समाजमा खण्डित हुँदै गएको सत्यलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको बताउनुभयो । उहाँले माओवादी आन्दोलन, २०६२र६३ को जनआन्दोलन तथा मधेश आन्दोलनलाई कथाले व्यङ्ग्यात्मक ढङ्गले उठाएको उल्लेख गर्दै यस्ता ऐतिहासिक घटनाक्रमलाई समयमै टेकेर कथामा बुनिएकोले वियोगीलाई उम्दा लेखकका रूपमा स्थापित गरेको टिप्पणी गर्नुभयो ।

कृतिकार वियोगीले कृतिमा करिब ६० प्रतिशत कथा देखे–भोगेका घटनामा आधारित रहेको र बाँकी कलात्मक सिर्जनाले भरिएको बताउनुभयो । उहाँले पहिलो संस्करणमा देखिएका त्रुटिलाई सुधार गर्ने र प्राप्त सल्लाह–सुझाव आत्मसात् गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रमुख वक्ता प्रा।डा। कुमारप्रसाद कोइरालाले कृतिमा द्वन्द्वकालीन अभिघात, जनआन्दोलन, मधेश आन्दोलन, विज्ञान, पर्यावरण र आञ्चलिक पृष्ठभूमि चित्रण गरिएको बताउनुभयो । उहाँले वैचारिक, सामाजिक यथार्थपरक र काव्यिक भाषाशैलीले कृतिलाई सशक्त बनाएको उल्लेख गर्नुभयो ।

प्रमुख अतिथि डा. तुलसीप्रसाद भट्टराईले ‘सत्यम्’मा समेटिएका कथाले उत्कृष्ट लेखनको नमुना प्रस्तुत गरेको बताउनुभयो । उहाँले लेखनमा काव्यिक शैली र नयाँ शब्दहरूको प्रयोगले कृतिलाई रोचक बनाएको भन्दै भविष्यमा अझ सशक्त कृति ल्याउन लेखकलाई सुझाव दिनुभयो ।

कार्यक्रमको समापन गर्दै सभापति प्रा।डा। गोविन्दराज भट्टराईले वियोगीको लेखनशैली र सिर्जनात्मक क्षमताले आफूलाई प्रभावित तुल्याएको बताउनुभयो । उहाँले वियोगीलाई उपन्यास लेखनतिर पनि उन्मुख हुनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकी, व्यङ्ग्य कवि लक्ष्मण गामनागे, साहित्यकार एवम् पत्रकार त्रिभुवनचन्द्र वाग्ले, साहित्यिक पत्रकार विमल भौकाजी, साहित्यकार प्रा।डा। अन्जना वस्ती, प्रमोद प्रधान, विजय हितान, हरि गौतम, अनिता पन्थी, जयराम तिमल्सिना, झम्क तिमल्सिना, कवि महेश कार्की ‘क्षितिज’, मोहराज शर्मा लगायतको उपस्थिति रहेको थियो ।