• १२ साउन २०८१, शनिबार

मदन-आश्रित स्मृति दिवस : राजनीति समाजप्रति जिम्मेवार भएन

blog

काठमाडौं, जेठ ३ गते । बिहीबार ३१ औं मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । २०५० सालमा दासढुङ्गामा भएको रहस्यमय जीप दुर्घटनामा परी तत्कालीन नेकपा (एमाले)का महासचिव  मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो । सो रहस्यमय मृत्युको सत्यतथ्य अझै बाहिर आउन नसक्नु नेपाली राजनीतिका लागि विडम्बनापूर्ण विषय बनेको छ ।


काठमाडौंको टुँडिखेलमा भाषण गर्नुहुँदै स्व.मदन भण्डारी ।

सिद्धान्त छैन सङ्ख्या मात्रै – सीपी मैनाली 

पुराना वामपन्थी नेता एवम् नेकपा (माले) का महासचिव सीपी मैनालीले स्वर्गीय मदन–आश्रित नेतृत्वको पार्टी पटक–पटक सरकारमा पुगे पनि यस विषयमा जिम्मेवारीपूर्वक छानबिन हुन नसकेको बताउनुभयो ।

महासचिव मैनालीले भन्नुभयो, “जेठ ३ गते रहस्यमय जीप दुर्घटना भयो । उहाँहरु चढेको जीप दासढुङ्गाबाट त्रिशूली नदीमा खस्यो र त्यो स्वाभाविक लाग्दैन । घटनास्थलको अवलोकन गर्दा जीवराज आश्रितको शव गाडीमै थियो । मदन भण्डारीको शव चाहिँ नारायणी नदीको बगरमा । पार्टीले केपी ओलीको नेतृत्वमा समिति पनि बनायो तर पनि पत्तो लागेन । पार्टीका नेताहरु प्रधानमन्त्री, राष्ट्रपति, गृहमन्त्री बनेको स्थितिमा जिम्मेवारीपूर्वक छानबिन गरेको छैन ।” 

पुष्पलाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभिन्न समयमा टुटफुट आएको उल्लेख गर्नुभयो । मदन–आश्रितको स्मरण गर्नुहुँदै उहाँले मदन जनवादी सांस्कृतिक सङ्गठन हुँदै पार्टी नेतृत्वमा आएको कुरा बताउनुभयो । यसैगरी, जीवराज आश्रित पुष्पलालको सिद्धान्तमा पोख्त रहेको र पछि सङ्गठन विभाग प्रमुखको जिम्मेवारीमा रहनुभएको उहाँले स्मरण गर्नुभयो ।

तर, कम्युनिष्ट पार्टीले पुँजीवादी सिद्धान्तलाई मार्गदर्शनको रुपमा अपनाउनु त्रुटि भएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “कम्युनिस्ट पार्टीभित्र पुँजीवादी सिद्धान्तलाई मार्गदर्शनको रुपमा अपनाउने त्रुटि भयो । त्यो धार एमाले वा माधव नेपालमा भए पनि कम्युनिष्ट गुण गुमायो ।” 

उहाँले अरु पार्टी र कम्युनिस्ट पार्टीलाई भोट दिनु कुनै अन्तर नभएको समेत भन्नुहुँदै सिद्धान्त छोडेर सङ्ख्यात्मक वृद्धि मात्रै भएको बनाउनुभयो ।

उहाँले भन्नुभयो, “गुदी, सिद्धान्त नहेरेर सङ्ख्या हेर्ने कार्यकर्ता उपलब्धि भएको ठान्दा हुन् । मार्क्सवादी गुण चरित्र सिद्धियो तर सङ्ख्या बढ्यो । यो कम्युनिस्ट पार्टीको लागि राम्रो काम होइन ।”


राजनीतिमा अवसरवादले छोएको छ – चित्रबहादुर केसी

यसैगरी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मदन–आश्रितले नेपालको लोकतान्त्रिक र वाम आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो ।

प्रतिनिधिसभा सांसदसमेत रहेका केसीले भन्नुभयो, “उहाँहरुले नेपालको लोकतान्त्रिक आन्दोलन, वामपन्थी आन्दोलनमा महत्वपूर्ण योेगदान गर्नुभएको छ । यो कुरा सबैलाई जगजाहेर छ । तर उहाँहरुको पछि लागेर हिंड्नेहरुले जसरी मुलुकमा शासन चलाउनुभयो, जनताको समस्या समाधान गर्नुपर्थ्याे, त्यतातिर लाग्नुभएन ।”

उहाँले त्यो बेला महाकाली सन्धिलगायत राष्ट्रियताका सवालमा मदन–आश्रित जस्ता नेतासँग सँगसँगै हिँडेको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, “उहाँहरु जीवित भएको भए कति लाज मान्नुहुन्थ्यो । कति आश्चर्य मान्नुहुन्थ्यो होला । किनभने, म उहाँहरुसँग पनि हिडेँ। महाकाली सन्धि राष्ट्रियताको बारेमा म मदनजी, जीवराजजी सँगसँगै हिडें नि ।”

उहाँले विगत र अहिलेको वामपन्थी राजनीतिको विषयलाई विश्व कम्युनिष्ट आन्दोलनबाट जोडेर हेर्नुपर्ने बताउनुभयो । १९५६ मा रसियन कम्युनिष्ट पार्टीले २० औं महाधिवेशनमा संसदीय बाटो हिंडेर समाजवाद ल्याउन सकिन्छ भन्ने अवधारणाको लहड सबैतिर परेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “कमरेड माओ जीवित रहुन्जेल त्यो अवसरवादको विरुद्धमा उहाँले ठूलो सङ्घर्ष गर्नुभयो । राजनीतिक, सिद्धान्तलाई देश र जनताको पक्षमा प्रयोग गर्नुको सट्टा निजी स्वार्थको पक्षमा, गुटगत स्वार्थको लागि जुन खालको प्रवृत्ति छ । नेपालको मात्र होइन, बाहिरको हावा छ, अवसरवादले छोएको छ । यो प्रवृत्तिविरुद्ध फेरि पनि विश्वभरी क्रान्तिकारी शक्तिले त्यसको प्रतिवाद गरिरहेको छ ।” 

उहाँले यी सबै विषय जनता र मिडियामा आउने जागरणमा भर पर्ने भनाइ पनि राख्नुभयो । “यी सबै कुराले करेक्सन गर्दै जाला । अहिले जुन निराशाको स्थिति छ, यो अस्थायी हो । किनभने, जबसम्म पृथ्वीमा शोषण पद्धति, लुटतन्त्र चलिरहन्छ, त्यसको विरुद्धमा युगयुगदेखि मानव जातिले सङ्घर्ष गर्दै, लड्दै आएको छ ।”


मदन भण्डारीको शवयात्रा । गोरखापत्र फाइल 
सत्तामा पुगेपछि सिद्धान्त बिर्सन्छन् – हरि रोका

यस्तै, विश्लेषक हरि रोकाले त्यो समय र अहिलेको कम्युनिस्ट आन्दोलनका परिस्थिति बद्लिएको धारणा राख्नुभयो । 

रोकाले भन्नुभयो, “धेरै परिस्थिति बद्लिसक्याे । त्यो बेला विश्वव्यापी रुपमा कम्युनिस्ट आन्दोलन ढलेको बेला थियो । त्यसकारणले गर्दा त्यो बेलाको डिफेन्सिभ नीतिलाई अहिलेसम्म निरन्तरता दिइरहेका छन् । तर त्यतिबेला जुन कल्चर थियो । त्यो सुसंस्कृति पनि बाँकी रहेन । अहिले झन् नाङ्गो, नवउदारवादी, बजार, अर्थतन्त्र उन्मुख भयो । समाजप्रति जिम्मेवार भएन । यस्तो खालको अवस्थामा पुगेको छ ।”

मदन–आश्रितको रहस्यमय घटनाको सत्यतथ्य अझै किन बाहिर आउन सकेन भन्ने जिज्ञासामा उहाँले सत्तामा पुग्नेबित्तिकै पार्टीले सबै कुरा बिर्सने गरेको उहाँले बताउनुभयो । 

रोकाले भन्नुभयो, “खड्ग ओली प्रधानमन्त्री हुनुभयो । धर्मपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति हुनुभयो, मन्त्री धेरै पटक हुनुभयो । तर खोजी गर्ने प्रयत्न गर्नुभएन । त्यो संस्थागत रुपमा खोजी गर्नुपर्ने वातावरण बनाउनुपर्थ्यो। त्यो हिसाबले अन्याेलग्रस्त बन्यो ।”

उहाँले वर्तमान कम्युनिस्ट पार्टी र नेतृत्व सिद्धान्त, आचरण र व्यवहारबाट धेरै टाढा पुगेको गुनासो गर्नुभयो । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।