• २९ असोज २०८२, बुधबार

कलायात्राको विषय ‘शान्त स्वभाव’

blog

गोरखापत्र समाचारदाता

कीर्तिपुर, असोज २९ गते । क्रोधकला शिरोमणि कालु कुमाले (कुम्हा) को जीवनी, उहाँको कलायात्रालगायतका विषय समेटिएको म्युजिक भिडियो ‘शान्त स्वभाव’ सार्वजनिक गरिएको छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल हस्तकला महासङ्घलगायतका सङ्घ संस्थाद्वारा सोमबार कीर्तिपुरमा आयोजित कार्यक्रममा क्रोधकला शिरोमणि कुमालेको जीवनी झल्काउने गीत ‘शान्त स्वभाव’ सार्वजनिक गरिएको हो । 

क्रोधकला शिरोमणि फाउन्डेसनले प्रस्तुत गरेको गीतको रचना प्रेम महर्जनले गर्नुभएको हो । नरेन्द्र प्यासीको सङ्गीत/स्वरमा ‘शान्त स्वभाव’ का गीतको म्युजिक भिडियो उज्ज्वल सिंहले निर्देशन/छायाङ्कन गर्नुभएको छ ।

कीर्तिपुर महानगर प्रमुख कृष्णमान डङ्गोलले अरनिको जन्मेको देश नेपालमा क्रोधकलामा पारङ्गत कलाकार कुमालेले पनि देशविदेशमा धेरै चर्चा कमाउनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “९३ वर्षको उमेरमा पनि मूर्ति बनाउने कर्ममा सक्रिय कलाकार कुमालेलाई कीर्तिपुर महानरले अभिनन्दन गर्न पाउनुलाई सौभाग्य ठानेका छौँ ।” कार्यक्रममा लोककवि राजभाइ जकमीःले क्रोधकला शिरोमणि कुमालेप्रति समर्पित कविता वाचन गर्नुभएको थियो । 

ललितपुरको थपाटोल, ओकुबहालमा जन्मनुभएका कलाकार कुमालेको बाल्यकाल कलामय वातावरणमा बित्यो । उहाँको परिवारले देवताको पूजामा चढाइने माटाका भाँडा, विभिन्न आकृति बनाउने गरेको थियो । बुवा सानु कुमालेले माटोको भाँडा बनाउनुहुँदा उहाँले पनि माटोका ससाना सुगा, मैना, हात्ती, बाघलगायतका आकृति बनाउँदै कलायात्रा सुरु गर्नुभएको थियो । उहाँका साइँला छोरा राकेश अवालेका अनुसार माटाका भाँडा बनाउने कलाकार परिवारको बिँडो थाम्दै सुरु भएको बुवाको यात्रा धातुको क्रोधमय भावको विशालकाय मूर्तिसम्म पुगेको र कलाकै माध्यमबाट सम्मानित हुने अवसर जुरेको हो ।  

उहाँले निर्माण गर्नुभएका कलाकृति भैरव, धँटल धन्वन्तरी वाराही, त्यागल बालकुमारी मन्दिरको गणेश र भैरव, महाबुद्ध ठुलो वज्र, यमन्त, सिद्धा, अजिमा, पद्यपाणि, बोधिसत्व, वज्रयोगिनी, वज्रभैरव, चक्रसंवर, ह्यगृव, कालभैरव, श्वेत महाकाल, काग्युलगायत छन् ।