- दूरगामी महत्त्वको भ्रमण हुन्छ किनभने साङ्घाई सहयोग सङ्गठनमा इन्डियाको प्रधानमन्त्री, चाइनाको राष्ट्रपतिसँग पनि भेट हुने भएकाले हाम्रो दुई वटा छिमेकीमा अहिले सम्बन्ध सुधार भएको छ ।
- “प्रधानमन्त्रीज्यूको चीन भ्रमण तय भएको छ । यस भ्रमणको आवश्यक तयारी सम्बन्धको कामहरू परराष्ट्र मन्त्रालयले गरिरहेको छ । भ्रमणसम्बन्धी मितिलगायतका विस्तृत विवरण उपयुक्त समयमा जानकारी गराउँछौं ।”
काठमाडौँ, भदौ ११ गते । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निकट समयमा छिमेकी मुलुक चीन र भारतको भ्रमण हुने तय भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीको चीन र भारत भ्रमणको मिति भने तय भइसकेको छैन ।
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा आइसकेको छ । २०८२ भदौ १ गते नेपालको दुई दिने औपचारिक भ्रमणमा आउनुभएका भारतका विदेश सचिव विक्रम मेसीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको भारत भ्रमणको निम्ता दिनुभएको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भन्नुभयो, “प्रधानमन्त्रीज्यूको चीन भ्रमण तय भएको छ । यस भ्रमणको आवश्यक तयारी सम्बन्धको कामहरू परराष्ट्र मन्त्रालयले गरिरहेको छ । भ्रमणसम्बन्धी मितिलगायतका विस्तृत विवरण उपयुक्त समयमा जानकारी गराउँछौं ।” परराष्ट्र मन्त्रालयले मिति तय नभएको बताएको भए पनि प्रधानमन्त्री यही भदौ १४ गते चीन भ्रमण तय भएको बुझिएको छ ।
के भन्छन् कूटनीतिज्ञ ?
पूर्व राजदूत एवम् कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्रीको निकट भविष्यमै हुन गइरहेको चीन र भारत भ्रमण दूरगामी महत्त्वको हुने बताउनुभयो ।
प्रधानमन्त्री ओली साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को आयोजनामा चीनमा हुने शिखर सम्मेलनमा सहभागी हुन चीन जान लाग्नुभएको हो । उक्त भ्रमणमा चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र माेदीलगायतका नेतासँग भेट गर्ने कार्यक्रम रहेको छ ।
श्रेष्ठ भन्नुहुन्छ, “दूरगामी महत्वको भ्रमण हुन्छ किनभने साङ्घाई सहयोग सङ्गठनमा इण्डियाको प्रधानमन्त्री, चाइनाको राष्ट्रपतिसँग पनि भेट हुने भएकाले हाम्रो दुईटा छिमेकीमा अहिले सम्बन्ध सुधार भएको छ । इण्डियाले रुससँग तेल लियो नाकाबन्दी मानेन भनेर अमेरिकाले २५ प्रतिशत पेनाल्टी र ५० प्रतिशत कर लगाएर पेलेको हुनाले चाइनासँग सम्बन्ध राम्रो कायम राख्ने । तेल लिन छोड्दिन भनेर अडान इन्डियाले लिएको छ ।”
नयाँ बहुध्रुवीय अवस्थामा भारत, चीन, रसिया, साउथ अफ्रिका, ब्राजिललगायतका विश्वका प्रभावशाली देशहरू आइपुगेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “यो नयाँ बहुध्रुवीय विश्वका एक्टर्सहरु नजिक आउने त्यसमा नेपाल पनि भाग लिन पाउने हुँदा नेपालको दृष्टिकोणमा दुई छिमेकीबिच तनाव हुनुभन्दा सम्बन्ध सुधार भएको स्वागतयोग्य हुन्छ । दोस्रो कुरा, क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिमा पनि यसले सकारात्मक असर पार्ने भएको हुनाले यो भ्रमण दूरगामी महत्वको छ ।”
भेट हुनु सकारात्मक
पूर्व राजदूत एवम् राजनीतिशास्त्री प्राडा. लोकराज बराल शिखर सम्मेलनमा नेपाल सहभागी हुने विषयलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुहुन्छ । उहाँले नेपालका प्रधानमन्त्रीसँग छिमेकी मुलुक भारत र चीनका नेताहरूसँग भेट भए पनि सीमालगायतका समस्या सुल्झन नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “भेट भएको, कुरा राखेको सकारात्मक कुरा हो । भारत पनि आएन, आएन भन्दाभन्दै निम्ता लिएरै आयो । अब भेटवार्ता हुन्छ । धेरै कुरा हामीलाई पनि थाहा छ, कति कुरा सुल्झिन्छन्, कति सुल्झिँदैनन् । सिमानाको कुरा सुल्झिने कुरा होइन ।”
प्रधानमन्त्रीको चीन भ्रमणको समयमा सामान्य विचार आदान प्रदान हुन सक्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “महाकाली सन्धि गरेको झण्डै ३० वर्ष हुन आँटिसक्यो अहिलेसम्म दुई देशका प्रधानमन्त्री जहिले पनि भेटिराछन्, मिलाउने भन्छन् तर कहिले पनि हुँदैन । भेटेर मात्रै पनि हुँदैन । एउटा सद्भाव हो । मान्छेहरूलाई के के न हुन्छ जस्तो लाग्छ । सामान्य कुराहरू हुन्छन्, विचारको आदन प्रदान हुन्छ ।”
एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुनुभएपछि यो दोस्रो चीन भ्रमण हुन लागेको हो । कूटनीतिज्ञ श्रेष्ठको विचारमा बदलिँदो विश्व परिवेशमा एसियाली देशहरू एकअर्कासँग जोडिने कडीका रूपमा यस भ्रमणलाई लिनुपर्दछ ।
कूटनीतिज्ञ श्रेष्ठ भन्नुहुन्छ, “नेपालले भारत नै पहिले जानुपर्छ भन्ने नभइकन दुई–दुई चोटि चाइना जाने भएपछि यसले बद्लिँदो विश्व परिवेशलाई देखाएको छ । भारतका लागि पनि नेपाल आवश्यक भइसक्यो । यसो हेर्दा, एसियाली देशहरू एकअर्कासँग नजिक हुने र त्यो कडी नेपाल हुने हुनाले एसियाको २१ औं शताब्दी बनाउनका लागि बहुत सकारात्मक हुने छ ।”
विकासको कुरामा हामीले ध्यान दिनुपर्छ
प्राडा. बरालका अनुसार नेपालको भारतसँगको सम्बन्ध ससाना कुरामा जोडिएको छ ।
उहाँ भन्नुहुन्छ, “भारतसँग सम्बन्ध सधैं सुधार भएको हुन्छ, सधैं नभएको पनि हुन्छ यस्तो सम्बन्ध छ । यो दुई देश यति नजिक छन् कि, स–साना कुरामा हाम्रो ध्यान गएको हुन्छ । हामीले कहिलेकाहीँ उसलाई मन नपर्ने कुरामा बढी उत्तेजित गर्छौं । यसको साटो विकासको कुरामा हामीले ध्यान दिनुपर्छ । तछाडमछाड गरेर राष्ट्रवादी हुनुभन्दा जनमुखी कार्यक्रम ल्याएर नेपाली जनतालाई बलियो बनाउने कामतिर लाग्नुपर्छ ।”
उहाँले छिमेकी मुलुकसँग राम्रो सम्बन्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “देश विकास तीव्र गतिमा अगाडि बढाउने कुरामा, छिमेकसँग राम्रो सम्बन्ध बनाउने कुरामा ध्यान दिँदैनौं । भेटवार्ता भएको सकारात्मक रूपमा लिन्छौं तर यसबाट हामीले धेरै अपेक्षा गर्न पनि हुँदैन ।”
वाम एकताको पक्षमा चीन
श्रेष्ठका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका कम्युनिष्ट पार्टीसँग मात्र नभई नेपाली कांग्रेससँग पनि सम्बन्ध सुधार गर्दै आएको छ । केही वर्षदेखि नेपालका मधेशवादी दलमा समेत चीनले भाइचारा प्रतिनिधि पठाउने गरेको छ । उहाँ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीनले केही समयअघि निमन्त्रणा दिएर वाम एकताको पक्षमा परामर्श गरेको आँकलन गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “वाम एकता भए राम्रो हुन्छ भन्ने चिनियाँ सोच छ । वास्तवमा, नेपालमा विद्यादेवीको भूमिका हुन सक्छ, सबै वामलाई एक बनाउने विषयमा चीनले प्रोत्साहन पनि गरिरहेको छ । दुई–दुईचोटि संसद् भङ्ग गर्दा रातको १२ बजे विद्याजीले ओलीजीलाई मद्दत पुर्याएको हो नि । नागरिकता विधेयकमा हो अलिकति अलग भूमिका खेलेको । विद्या र ओली त एक अर्काका पूरक हुन् । वैकल्पिकमा विद्याजी हुनुभयो भने ओलीजीका लागि पनि राम्रो हुन्छ ।”
चीन नेपालमा वाम एकता चाहन्छ भन्ने तथ्यगत आधार के छन् त भन्ने जिज्ञासामा उहाँले अध्यक्ष ओलीले नै पूर्व राष्ट्रपति भण्डारीलाई चीन भ्रमणमा पठाउनुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्याजीलाई बोलाएको किन त पार्टीको नेताको रूपमा बोलाएको हो नि । ओलीजीले पनि विदेश विभाग प्रमुखलाई पठाइदेऊ भन्दा एक किसिमले ओलीजीले विद्याजीलाई पठाएकै हो । वाम एकताको कुरा विद्याजीलाई भन्यो, अब ओलीजीलाई पनि भन्छ र यस्तो विवाद नगर, मिलेर गर भन्छ । यसपालि ओलीजीलाई पनि सम्झाउँछ । अरुले एमाले ब्रेक होस् भन्ने चाहन्छ तर एमाले पनि ब्रेक हुन नदिने र अरु वामलाई पनि समेट्नेतर्फ परामर्श चिनियाँ कम्युनिस्टहरूको नेपालका कम्युनिस्टलाई हुन्छ भन्ने मलाई लाग्छ । यो कदम एकपछि अर्को गरी अगाडि बढ्दैछ ।”
उहाँले पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता खारेज गर्ने निर्णयमा समेत एमालेले पुनर्विचार गर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “पहिलो राष्ट्रपति महिला भयो । पहिलो प्रधानमन्त्री पनि हुन पाउँछ कि ? सबैलाई एक गरेर अरु हुनुभन्दा विद्या उत्तराधिकारी हुँदा ओलीजीका लागि पनि फाइदा हुन्छ । उहाँहरुको पार्टी विधान संशोधन गर्ने सेसन हुँदैछ, त्यसमा पुनर्विचार पुर्याउँला । मलाई लाग्छ, सदस्यता नै खारेज गर्ने अवस्था फिर्ता लिन सक्छ त्यसमा चाइना भ्रमणले दुवैलाई सम्झाउँछ ।”
प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपालको भूराजनीतिक महत्त्वमा नयाँ भूमिका खेल्नुपर्ने अवस्थामा सकारात्मक असर पार्ने उहाँको भनाइ छ ।