• २९ असोज २०८२, बुधबार

तनहुँ प्रशासन कार्यालयमा सेवा समय ३ घण्टा थप बढ्यो

blog

जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवाग्राहीको भीड । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, असोज २९ गते ।
सेवाग्राहीको भीड बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले सेवा समय विस्तार गरेको छ । कार्यालयले बिहान ८ देखि साँझ ६ बजेसम्म सेवा सञ्चालन सुरु गरेको हो । यसअघि सेवा बिहान १० देखि साँझ ५ बजेसम्म मात्र दिइँदै आएको थियो ।

जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको कार्यालयमा एक महिनापछि गत आइतबारदेखि राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन सेवा पुनः सुरु गरिएको हो । सेवाग्राहीको अत्यधिक भीडका कारण बिहान दुई घण्टा र साँझ एक घण्टा थप गरेर कुल तीन घण्टा समय विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

“एक महिना सेवा रोकिँदा भीड अत्यधिक बढेकाले समय थप गरेर सहजता ल्याउने प्रयास गरिएको हो,” अधिकारीले भन्नुभयो । उहाँका अनुसार पहिले पाँच युनिटबाट सञ्चालन भइरहेको राष्ट्रिय परिचयपत्र सेवा अहिले दुई युनिटमा सीमित भएकाले पनि भीड बढेको हो ।

नेपाल सरकारले आवश्यक उपकरण पठाएपछि सेवा पुनः सञ्चालन सम्भव भएको हो । त्यस्तै, तनहुँ उद्योग वाणिज्य सङ्घको सहयोगमा जलेका कोठाको मर्मत सम्भार पूरा भएपछि कार्यालय सञ्चालनमा सहजता आएको अधिकारीले बताउनुभयो ।

हाल कार्यालयमा नागरिकताको सेवा सुचारु भइसकेको छ भने राहदानी सेवा सुरु गर्ने तयारी भइरहेको जनाइएको छ । राहदानी वितरण कार्य भने निरन्तर जारी रहेको कार्यालयले जनाएको छ । आइतबारबाट राष्ट्रिय परिचयपत्रको काम सुरु गरिएको र मङ्गलबारबाट तीन घण्टा समय थप गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।