गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २९ गते । चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा साढे तीन खर्ब रुपियाँभन्दा बढी प्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको चालु आव २०८२/८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार रेमिट्यान्स ३३.१ प्रतिशतले बढेर तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १५.८ प्रतिशतले बढेको थियो ।
२०८२ भदौको रेमिट्यान्स एक खर्ब ७४ अर्ब ६७ करोड रुपियाँ छ । अघिल्लो वर्षको सोही महिनामा एक खर्ब २७ अर्ब ९९ करोड रुपियाँ थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २७.६ प्रतिशतले बढेर दुई अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) तीन खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय दुई खर्ब ८७ अर्ब ७६ करोड थियो ।राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार समीक्षा अवधिमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.८७ प्रतिशतमा सीमित रहेको छ ।
त्यस्तै १६ महिनाको वस्तु तथा सेवा आयात धान्ने गरी कुल विदेशी विनिमय सञ्चिति २८ खर्ब ८१ अर्ब ३५ करोड रुपियाँ पुगेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २० अर्ब ४१ करोड पुगेको हो । यस्तै चालु खाता एक खर्ब ३० अर्ब ६९ करोड र शोधनान्तर स्थिति एक खर्ब ५३ अर्ब ६८ करोड रुपियाँले बचतमा रहेको छ ।
समीक्षा अवधिमा नेपाल सरकारको खर्च एक खर्ब ८० अर्ब १७ करोड रुपियाँ र राजस्व परिचालन एक खर्ब ५७ अर्ब ५३ करोड रुपियाँ रहको छ । साथै विस्तृत मुद्राप्रदाय ०.३ प्रतिशतले र वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.४ प्रतिशतले बढेको छ ।
बैङ्क तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.८ प्रतिशत रहेको छ ।
बैङ्क तथा वित्तीय संस्थाबिचको अन्तरबैङ्क कारोबारको भारित औसत ब्याजदर २.७५ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.१३ प्रतिशत रहेको छ । वाणिज्य बैङ्कको निक्षेपको भारित औसत ब्याजदर ३.९६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.६६ प्रतिशत रहेको छ ।