• २७ असोज २०८२, सोमबार

प्रतिनिधि सभा सदस्य निर्वाचन

यस्तो छ नयाँ र पुराना दल दर्ता प्रक्रिया

blog

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई

काठमाडौँ, असोज २७ गते । २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ताको प्रक्रिया जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनमा भाग लिन चाहने नयाँ दलले २०८२ कात्तिक मसान्तसम्म दल दर्ताको समय तोकिएको जानकारी दिनुभयो । निर्वाचन प्रयोजनका लागि नयाँ र पुराना सबै दलले मङ्सिर १ देखि १० गतेसम्म पुनः दल दर्ता गर्नुपर्ने उहाँको भनाइ छ । 

प्रवक्ता भट्टराईले भन्नुभयो, “निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुभन्दा समय अगावै २०८२ कात्तिक मसान्तसम्म निर्वाचनमा भाग लिन चाहने दलहरुलाई दल दर्ताको आह्वान गरेको छ । यसलाई अझ स्पष्ट भाषामा भनौं, जुन नयाँ राजनीतिक दल २०८२ कात्तिक मसान्तसम्म दर्ता भइसक्छ, दर्ता प्रमाणपत्र लिइसक्छ, त्यस्तो दल निर्वाचन प्रयोजनका लागि मङ्सिर १ देखि १० को बिचमा पुनः दर्ता हुन सक्ने सम्भावना रहन्छ ।”

फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा दल दर्ताका सम्बन्धमा निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईसँग गरिएको संवाद :

  • २०८२ साल फागुन २१ गते हुने निर्वाचनका लागि दल दर्ताको प्रक्रिया सुरु भइसकेको छ । पुराना र नयाँ दलले दल दर्ताका लागि के कागजात पेस गर्नुपर्छ ? 

२०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने काम मङ्सिर १ देखि १० गतेसम्मलाई तोकिएको छ । तर निर्वाचन आयोगका कुनै पनि नयाँ दल दर्ता गर्ने काम सधैँभरि खुला रहन्छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समयभन्दा अगावै दल दर्ता गरेका दलहरुले निर्वाचन प्रयोजनका लागि समेत दल दर्ता गरेर निर्वाचनमा भाग लिन सक्छन् । तर दल दर्ता नै भएको छैन भने निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सकिने सम्भावना हुँदैन । 

त्यसकारण, निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुभन्दा समय अगावै २०८२ कात्तिक मसान्तसम्म निर्वाचनमा भाग लिन चाहने दलहरुलाई दल दर्ताको आह्वान गरेको छ । यसलाई अझ स्पष्ट भाषामा भनौं, जुन नयाँ राजनीतिक दल २०८२ कात्तिक मसान्तसम्म दर्ता भइसक्छ, दर्ता प्रमाणपत्र लिइसक्छ, त्यस्तो दल निर्वाचन प्रयोजनका लागि मङ्सिर १ देखि १०को बिचमा पुनः दर्ता हुन सक्ने सम्भावना रहन्छ । तर आयोगमा दर्ता नै नभएको दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न नपाउने भएको हुनाले कुनै नयाँ दल दर्ता हुन चाहेमा २०८२ कात्तिक मसान्तसम्म दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । त्यस्तो नयाँ दल दर्ता गर्न चाहने संस्था अथवा व्यक्तिले सुरुमा विधान पेस गर्नुपर्ने हुन्छ । त्यसको साथमा घोषणापत्र, दलको झण्डा कस्तो रहने, दलले निर्वाचन चिन्ह कस्तो राख्न चाहेको छ त्यो खुलाउनुपर्ने हुन्छ । त्यसको अतिरिक्त पाँच सय जना नेपाली नागरिकले त्यो दलमा आबद्ध हुन चाहेको प्रतिबद्धता पत्र, उनीहरु अर्को कुनै दलमा म सङ्लग्न छैन भनेको घोषणापत्र र आफ्नो नागरिकता अथवा मतदाता परिचयपत्रको प्रतिलिपि राखेर पाँच सय जना नागरिकले हस्ताक्षर गरेको हुनुपर्छ । त्यसको अलावा, कम्तीमा २१ जना सदस्य रहेको केन्द्रीय समिति गठन गरेर त्यसको विवरण समावेश गर्नुपर्ने हुन्छ । यी नियमित कागजात भए । यसमा प्राप्त कागजातको पुष्ट्याइँ लिने प्रावधानका लागि आयोगले थप केही कागजात माग्न आवश्यक ठान्यो भने त्यो कागजात पेस गर्नुपर्ने हुन्छ । 

जसले रीतपूर्वक कागजात पेस गरेको छ, त्यस्तो दलको ४५ दिनभित्र दल दर्ताको प्रमाणपत्र दिइसक्नुपर्ने गरी कानुनमा व्यवस्था भएको छ । तर यो पटक हामीलाई समय छोटो भएको कारणले ४५ दिन पनि लगाउने छैनौं । जसले कागजात पूरा गर्नुहुन्छ, उहाँहरुलाइ हार्मी कात्तिक मसान्तभित्रै दल दर्ताको प्रमाणपत्र दिइसक्ने छौं । त्यस्तो दल दर्ताको प्रमाणपत्र लिइसकेको दलले मङ्सिर १ देखि १० गतेसम्ममा निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । त्यस्तो दल दर्ता गर्ने सन्दर्भमा यो नयाँ दल दर्ताको कुरा गरें । पुरानो दल समेत कसैको समयमै महाधिवेशन भएको छैन भने महाधिवेशन सम्पन्न गरेको कागजात पेस गर्नुपर्‍यो । त्यो अवधिको आय, व्ययको लेखापरीक्षण गरेको छैन भने लेखापरीक्षण गरेको प्रतिलिपी पेस गर्नुपर्‍यो । त्यो दल नियमित रुपमा क्रियाशील रहीरहेको छ भनेर पुष्ट्याइँ गर्ने कागजातहरु पेस गर्‍यो भने निर्वाचन प्रयोजनका लागि दल दर्ता हुनेछ । निर्वाचन प्रयोजनका लागि दल दर्ता भएका दलहरुले पछि आफ्नो तर्फबाट उम्मेदवार उठाउन पाउनेछ । 

त्यसकारण, म फेरि पनि पुरानो र लोकप्रिय पत्रिका गोरखापत्रमार्फत आम दर्शक र स्रोतालाई अनुरोध गर्न चाहन्छु, नेपाली नागरिकले निर्वाचनमा तीन तरिकाले भाग लिन सक्छन् । एउटा दल दर्ता गरेर दलको नेतृत्व गरेर नेता वा कार्यकर्ता भएर । दोस्रो, दलकै सदस्य नभए पनि स्वतन्त्र उम्मेदवारको रुपमा पनि निर्वाचनमा भाग लिन सक्छ ।

तेस्रो, मतदान गरेर निर्वाचनमा भाग लिन सक्छ । हामीले मतदाताहरु कोही पनि नछुटुन् भन्नका लागि मतदाता नामावलीमा नाम दर्ताको व्यवस्था समेत अध्यादेशमार्फत कानुन संशोधन गरेर त्यो काम अगाडि बढाइरहेका छौं । यो पनि कात्तिक मसान्तसम्म चलिरहन्छ । कोही पनि योग्य नागरिकहरु मतदाता नामावलीमा नछुट्न् भनेर हामीले आवश्यक सहजीकरण पनि गरिरहेका छौं । दल दर्ता गरेर दलका रुपमा निर्वाचनमा सहभागी हुन चाहने दलहरुलाई पनि सुरुमा कात्तिक मसान्तसम्मको समय दिइएको छ ।  पहिल्यै दर्ता भइसकेका दलहरुलाई पनि अडिट गराउने लगायतका आफ्ना गर्नुपर्ने आवश्यक कुराहरु पुरा गरेर मङ्सिर १ देखि १० को बिचमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेर निर्वाचनमा सहभागी हुन सक्नुहुनेछ । यो सबैको लागि खुला राखिएको र निर्वाचन महाअभियान भएको हुनाले सबै नागरिकले आ–आफ्नो स्थानमा जनप्रतिनिधि छनोट गर्ने सम्बन्धमा दलको माध्यमबाट अथवा मतदाता भएर उहाँहरुले सक्रियतापूर्वक भाग लिनुहुनेछ भन्ने विश्वास निर्वाचन आयोगले लिएको छ ।

भिडियो : मनोजरत्न शाही 

राजनीतिक दलसम्बन्धी (पहिलो संशोधा) ऐन २०७४ को परिच्छेद २ अनुसार राजनीतिक दलको गठन, दर्ता तथा सञ्चालन गर्न सकिनेछ । 

दल गठन गर्न सकिने :– १) समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरुले संविधान र यस ऐनको अधीनमा रही आफ्ना राजनीतिक काम कारबाही सञ्चालन गर्न राजनीतिक दल गठन गर्न सक्नेछन् ।

२) उपदफा १ बमोजिम दल गठन गर्दा दलको घोषणापत्र तथा कार्यक्रम सार्वजनिक गर्नुपर्नेछ ।

३) यस दफा बमोजिम गठन भएको दलले आफ्नो उद्देश्य तथा कार्यक्रम प्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचारप्रसार गर्न वा गरायने सक्नेछ ।

४ दल दर्ता हुनुपर्ने :– १) दफा ३ बमोजिम गठन भएको दल आयोगमा दर्ता हुनुपर्नेछ ।

२) उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानुन बमोजिम आयोगमा दर्ता भइ यो ऐन  प्रारम्भ हुँदाका बखत दर्ता कायम रहेको दल दर्ता हुनु पर्ने छैन र त्यस्तो दल यसै ऐन बमोजिम  दर्ता भएको मानिनेछ ।

३) उपदफा २ मा जुनसुकै कुरा लेखिएको भए तापति यो ऐन प्रारम्भ हुँदाको बखत दर्ता कार्यम रहेको दलले यो ऐन प्रारम्भ भएको एक वर्षभित्र दफा ५ को उपदफा १ को खण्ड क, ख, ग, च र छ बमोजिमका विवरण तथा कागजात आयोगमा पेश गर्नुपर्नेछ ।

४) यस ऐन बमोजिम दर्ता भएको दलले यस ऐन बमोजिमको अधिकारको प्रयोग गर्न र सुविधा प्राप्त गर्न सक्नेछ ।

५) आयोगले यस ऐन बमोजिम दल दर्ता भएको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नेछ ।

५) दल दर्तासम्बन्धी व्यवस्था :– दफा ४ बमोजिम दल दर्ता हुनका लागि दलको प्रमुख पदाधिकारीले केन्द्रीय समितिको निर्णयसहित देहायको विवरण तथा कागजात संलग्न गरी तोकिए बमोजिम ढाँचामा आयोगसमक्ष निवेदन दिनुपर्नेछ ।

क) दलको विधान, 
ख) घोषणापत्र,
ग) झण्डा, चिन्हको नमूना, 
घ) कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता पत्र र निजहरुको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर, 
ङ) खण्ड घ बमोजिम प्रतिबद्ध जनाउने व्यक्तिले अर्को दलको सदस्य नभएको भनी गरेको उद्घोषणपत्र, 
च) कम्तीमा एक्काइस सदस्य केन्द्रीय समितिको व्यवस्था र 
छ) आयोगले आवश्यक ठानेका अन्य विवरण तथा कागजात ।

२) उपदफा १) बमोजिम प्राप्त भएको निवेदन उपर आयोगले आवश्यक जाँझबुझ गर्नेछ ।

३) उपदफा २ को प्रयोजनका लागि आयोगले प्रस्तावित दलको प्रमुख पदाधिकारी वा केन्द्रीय समितिका सदस्यसँग छलफल गर्न थप कुनै विवरण वा आवश्यक कागजात माग गर्न वा निजहरुको हस्ताक्षर तोकिएको ढाँचामा सनाखत गराउन सक्नेछ ।

४) उपदफा २ बमोजिम भएको जाँचबुझबाट प्रास्तावित दल संविधान र यस ऐन बमोजिम दर्ता हुन सक्ने देखिएमा आयोगले उपदफा १ बमोजिम निवेदन परेको ४५ दिनभित्र त्यस्तो दल दर्ता गरी दल दर्ता प्रमाणपत्र र दर्ता हुन नसक्ने भए त्यसका कारण खुलाई निवेदकलाई जानकारी दिनुपर्नेछ । 

५) उपदफा ४ बमोजिम दल दर्ता गर्दा तोकिए बमोजिमको विवरणसहित दल दर्ता किताबमा अभिलेख गर्नुपर्नेछ । 

६ दल दर्ता हुन नसक्ने :– १) दफा ५ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै अवस्थामा दल दर्ता हुन सक्ने छैन 
क) दलले संविधानको धारा २६९ को उपधारा ४ बमोजिमको शर्त पूरा नगरेको भएमा,

ख) दलको नाम, उद्देश्य, चिन्ह, झण्डा, विधान, नियमावली तथा काम, कारबाही संविधानको धारण २६९ को उपधारा ५, धारा २७० को उपधारा २ तथा यस ऐन प्रतिकूल हुने भएमा,

ग) दलको सदस्यता प्राप्त गर्न नेपालका नागरिकलाई धर्म, जात, जाति, सम्प्रदाय, भाषा वा लिङ्गको आधारमा बन्देज लगाइएको, वञ्चित गरेको वा विभेद गरेको देखिएमा,

घ) दलको विधानमा दफा ८ को उपदफा २ बमोजिम उल्लेख हुनुपर्ने कुरा उल्लेख नभएमा,

ङ) दलको नाम वा चिन्ह आयोगमा दर्ताए कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा,

च) दलको नाम, उद्देश्य, चिन्ह वा झण्डा नेपालको धार्मिक  वा साम्प्रदायिक एकतालाई खलल पार्ने वा विखण्डित गर्ने प्रकृतिको भएमा वा सार्वजनिक नैतिकता प्रतिकूल हुने भएमा,

छ) दफा ५ को उपदफा ३ बमोजिम आयोगले माग गरेको विवरण वा कागजात उपलब्ध नगराएमा वा पदाधिकारी वा सदस्यका हस्ताक्षर सनाखत हुन नसकेमा ।

२) उपदफा १ बमोजिमको कुनै कारणबाट दल दर्ता गर्न नसकिने भएमा आयोगले त्यसका कारण खुलाई १५ दिनभित्र दल दर्ताका लागि सुधारसहितको विवरण आयोगमा पेश गर्न सम्बन्धित निवेदकलाई सूचना दिन सक्नेछ । 

३) उपदफा २ बमोजिमको अवधिभित्र त्यस्तो विवरण प्राप्त भएमा र आयोग त्यसमा सन्तुष्ट भएमा आयोगले दफा ५ को उपदफा ४ बमोजिम दल दर्ता गरी निवेदकलाई त्यसको प्रमाणपत्र दिनेछ र दल दर्ता हुन नसक्ने भएमा त्यसका कारण खुलाई निवेदकलाई जानकारी दिनेछ । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।