काठमाडौँ, भदौ १७ गते । नेकपा (एमाले) को विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको तयारी सम्पन्न भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्षले सो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।
एमाले प्रचार तथा प्रकाशन प्रमुख राजेन्द्र गौतमका अनुसार विधान महाधिवेशनको तयारीका सन्दर्भमा प्रस्तुत हुने सबै दस्तावेज अन्तिम चरणमा रहेका तथा भौतिक तयारीको कार्य तीव्ररुपमा अघि बढेको छ । उपप्रधान एवम् अर्थमन्त्री समेत रहनुभएका एमाले उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्तावमा आएका सुझाव समग्रतामा हेर्नुभएको छ ।
गौतमले भन्नुभयो, “पार्टी अध्यक्षले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनको तयारी सम्पन्न भइसकेको छ । पार्टीका उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्तावमा आएका सुझावलाई कम्पायल गरेर हेरिरहनुभएको छ । त्यो सामग्री पनि अन्तिम चरणमा छ । पार्टी महासचिवबाट प्रस्तुत गर्ने सङ्गठनात्मक प्रस्ताव जो छ, त्यो पनि तयार भएको छ ।” एमाले महासचिव शंकर पोखरेलले प्रस्तुत गर्नुहुने सङ्गठनात्मक प्रतिवेदन पनि तयार भएको उहाँको भनाइ छ ।
गाैतमका अनुसार अनुशासन आयोग, लेखा परीक्षण आयोग, निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रस्तुत हुने दस्तावेजसम्बन्धी तयारीको काम अन्तिम चरणमा छ ।
महाधिवेशन सफलताका लागि प्रतिनिधि व्यवस्थापन, मञ्च तथा हल व्यवस्थापन, स्वयम्सेवक व्यवस्थापन, आवास व्यवस्थापन, खाद्य व्यवस्थापन, प्रचार व्यवस्थापन, यातायात व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन, सांस्कृतिक व्यवस्थापन, स्वागत गेट तथा साजसज्जा र दस्तावेज प्रकाशन व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु गठन गरिएका छन् ।
एमाले पोलिटब्युरो सदस्य विनोद श्रेष्ठका अनुसार यी उपसमितिको बैठक निरन्तर बस्दै आएको छ ।
श्रेष्ठले भन्नुभयो, “सबै विभागले आ–आफ्नो ढङ्गले काम गरिरहेको छ । प्रतिनिधि व्यवस्थापन सम्बन्धमा सङ्गठन विभागले सबै सूची उतारिसक्नुभएको छ । आवासको सन्दर्भमा सम्पर्क समन्वय समितिले जिम्मा लिएको छ । प्रतिनिधिहरु जो काठमाडौं बाहिरबाट आउँदैछन्, उनीहरुको व्यवस्थापनका लागि काम भइरहेको छ ।” उहाँले आफ्नो जिम्मेवारीमा मञ्च तथा यातायात व्यवस्थापन रहेको भन्नुहुँदै सातदोबाटोदेखि कार्यक्रम स्थलसम्म साझा यातायातको व्यवस्थापन गरिने जानकारी दिनुभयो ।
दुई हजार ३२ प्रतिनिधि
सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले विधान महाधिवेशनमा प्रतिनिधि सङ्ख्या दुई हजार ३२ रहेको जानकारी दिनुभयो । केन्द्रीय निकायका नेताहरु समेत गरी जम्मा दुई हजार तीन सय ४९ जना सहभागी हुनुहुने उहाँको भनाइ छ ।
प्रचार विभाग प्रमुख गौतमले विधान महाधिवेशनमा सुरक्षा व्यवस्थापनका लागि तीन सय जना स्वयम्सेवक परिचालन हुने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “तीन सय स्वयम्सेवक परिचालन हुँदैछन् । हामी महाधिवेशन प्रतिनिधिको अद्यावधिक गर्ने, त्यसको नामावली लिने, रजिस्ट्रेसन गर्ने, त्यसको फिजिकल चार्ट बनाउने जस्ता कामहरु धमाधम भइरहेका छन् । निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय गन्तव्य भन्ने मूल नाराका साथ हामीले अधिवेशनलाई अगाडि बढाएका छौं ।”
फरक मत
नेकपा (एमाले) को नवौं केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण स्थगित गर्ने निर्णय गरेको थियो । यस विषयमा एमाले वरिष्ठ उपाध्यक्षसहित दुई उपाध्यक्षद्वयले फरक मत राख्दै आएका छन् ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले विधान महाधिवेशनमा आफूहरुको फरक मत कायम रहने बताउनुभयो ।
ज्ञवालीले भन्नुभयो, “पूर्व राष्ट्रपति राजनीतिमा सक्रिय हुनुहुँदैन भन्ने प्रश्न उठ्यो । दुई–दुई पटक नवीकरण गरिसकेपछिको अवस्थामा विभिन्न कारणले त्यसमाथि प्रश्न उठ्यो, अब त्यतातिर नजाऔं । उहाँ सक्रिय राजनीतिमा आउनुहुँदैन, तटस्थ भएर जिन्दगी बिताउनुपर्छ भन्नेमा संविधान, नियम, कानुन केहीले रोकेको छैन ।”
राजनीतिमा सक्रिय हुने विषय नागरिकको मौलिक हक अन्तर्गत रहने तर, पार्टीले नदिएको अवस्थामा सदस्यताको प्रक्रिया अघि बढ्न नसक्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “सदस्यता भनेको पार्टीले दिएपछि लिने हो । पार्टीले मान्दै मान्दैन, हुँदैन भन्यो भने त्यो सदस्यता हुँदैन । कि त, महाधिवेशनले सदस्यता उचित छ भनेर दिनुपर्छ । नवीकरणलाई मान्यता दिनुपर्छ ।
उहाँले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन हुने या नहुने विषयमा निर्णय नभए यो विषय पछिसम्म लम्बिन सक्ने बताउनुभयो ।
“सम्बन्धित व्यक्तिले मेरो अधिकार हो भन्ने भयो । पार्टीले तपाइले पाउनुहुन्न भन्ने भयो । कतिपय यस्ता मुद्दा हुन्छन्, सम्बन्धित ठाउँमा निर्णय त हुन्छन् । संविधानमा पनि विमतिहरु छन् । संविधान संशोधन गर्ने बेला मतहरु आउँछन् । लागू हुँदैन त्यो एउटा पक्ष भयो तर एजेण्डा जीवित रहन्छ”, उहाँले भन्नुभयो, “कम्युनिष्टको झण्डा बोकेर मर्न चाहन्छु भन्यो भने उसले अन्तिमसम्म यो विषय उठाउने भयो नि त । या त, उहाँ ब्याक हुनपर्यो ।”
उहाँले विधान महाधिवेशनमा नसुल्झेका विषय ११ औं महाधिवेशनमा उठ्न सक्ने समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, “विधान महाधिवेशनमा नमाने राष्ट्रिय महाधिवेशनमा उठ्ने भयो फेरि ११ औं महाधिवेशनमा । ११ औं महाधिवेशनमा नमाने १२ औं मा सम्बन्धित व्यक्तिले जबसम्म उठाइरहन्छ तबसम्म त्यो एजेण्डा बन्छ । पार्टीको मनस्थिती, अवस्था, स्थिती त परिवर्तन भइरहन्छ ।”
गौतमले भने विधान अधिवेशनमा फरक मत औपचारिक रुपमा नआएको बताउनुभयो ।
गौतमले भन्नुभयो, “यस विषयमा औपचारिक रुपमा त्यस्तो केही कुरा जानकारी छैन । औपचारिक रुपमा नआएपछि कसरी भन्ने त”