काठमाडौँ, असोज १२ गते । देशभरिको २८ कारागारबाट ‘जेनजी’ प्रदर्शनका क्रममा १४ हजार ५४९ कैदीबन्दी भागेका थिए । यसमध्ये बिहीबारसम्म सात हजार ७३५ कैदीबन्दी फिर्ता आएका छन् ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार हाल कारागारमा रहेका २९ हजार २१९ र बाल सुधारगृहतर्फ एक हजार ४२२ गरी ३० हजार ६४१ कैदीबन्दी रहेका छन् । जसमध्ये जेनजी आन्दोलनमा कारागारबाट १३ हजार ५८५ र सुधारगृहबाट ९६४ गरी जम्मा १४ हजार ५४९ कैदीबन्दी भागेका थिए । उहाँका अनुसार कारागारमा सात हजार ३९४ र बाल सुधारगृहमा ३४१ गरी सात हजार ७३५ कैदीबन्दी फिर्ता आएका छन् ।
कुन कारागारबाट कति भागे
काठमाडौँको जगन्नाथदेवल कारागारबाट ३३ सयभन्दा बढी कैदीबन्दी भागेका थिए । जगन्नाथदेवलका कारागार प्रमुख कृष्णप्रसाद चापागाँईका अनुसार हाल यस कारागारमा २२ सय ८१ जना कैदीबन्दी छन् । उहाँका अनुसार भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा यस कारागारमा सामान्य क्षति पुगेको थियो ।
उहाँले भन्नुभयो, “भागेका कैदी आउनेक्रम जारी छ । यहाँ खासै आगजनी भएन, सामान्य तोडफोड भएको छ । कैदीबन्दीलाई कुनै पनि समस्या भएन ।” पक्राउ गरेर ल्याइएको भन्दा आफैँ फर्केर आउने कैदीबन्दीको सङ्ख्या बढी रहेको उहाँको भनाइ छ ।
जब, डिल्लीबजार कारागारमा जेनजी प्रदर्शनकारीले आकस्मिक आगो लगाए, तब यहाँका कैदीबन्दी केन्द्रीय कारागारमा सारिएको थियो । डिल्लीबजार कारागारका कार्यालय प्रशासक बाबुराम अर्यालले कारागारको पुननिर्माण पश्चात् उनीहरुलाई यही ल्याइने उहाँको भनाइ छ ।
अर्यालले भन्नुभयो, “जेनजी आन्दोलनका क्रममा डिल्लीबजारबाट कैदीबन्दी सेन्टर जेलमा सारिएको थियो । उहाँहरुलाई स्थानान्तरण गरेर फेरि यही ल्याउँछौं । यहाँ आकस्मिक आगलागी भएर त्यहाँ लगिएको हो ।” उहाँले डिल्लीबजारमा दुई सय २२ कैदीबन्दी रहेको जानकारी दिनुभयो ।
यसैगरी ललितपुरको नख्खु कारागारबाट १२ सय ७२ जना कैदीबन्दी भागेका थिए । कारागार व्यवस्थापन विभागका अनुसार अब नख्खुमा फिर्ता आउन बाँकी रहेका कैदीबन्दीको सङ्ख्या ५०७ रहेको छ ।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेले भागेका कैदीबन्दीलाई फिर्ता आउन आव्हान गरिएको बताउनुभयो । कैदीबन्दी फिर्ता नआए कारागारबाट भागेको आरोपमा थप सजाय भुक्तान हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “उनीहरुलाई नियन्त्रणमा लिन र आउनका लागि हामीले आमन्त्रण गरेका थियौं । नेपाल प्रहरीले पनि आव्हान गरेको छ । कानुनमा तोकिएको जुन भुक्तान गरिराख्नुभएको छ, सजायअनुसार कारागारबाट भागेको आधारमा थप खप्टेर सजाय हुन्छ । यसकारण, तुरुन्त फर्कनुपर्ने हुन्छ ।”
उहाँले कारागारका सबैजसो कैदीबन्दीको नाम, ठेगाना लगायत सबै विवरण सुरक्षा निकाय, गृह मन्त्रालयमार्फत प्रहरी, नाकाहरुमा पठाइएको र खोजबिनको काय जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै जिल्ला, ईलाका कार्यालयमा प्रहरीले पक्राउ गरेर ल्याएपछि उनीहरुलाई थप सजाय हुन्छ । यसकारण, उहाँहरुलाई अझै पनि फर्कनका लागि आव्हान गरिरहेका छौं ।”
कैदीबन्दी भागेका २८ कारागार
देशका विभिन्न २८ वटा कारागारबाट जेनजी प्रदर्शनका क्रममा कैदीबन्दी भागेका थिए । कारागार व्यवस्थापन विभागका अनुसार झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नख्खु, जगन्नाथदेवल, डिल्लीबजार, मकवानपुर, रसुवा, सचतवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौवस्ता, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर लगायतका कारागारबाट कैदीबन्दी भागेका थिए । यसैगरी, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवास्ता र डोटी गरी नौ वटा बाल सुधार गृहबाट बन्दीहरु भागेका थिए ।
बन्दी खोजी तथा पक्राउ कार्यदल
कारागार व्यवस्थापन विभागले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दी फर्काउन शुक्रबार ‘करार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेको छ ।
उल्लेख्य सङ्ख्यामा कैदीबन्दी कारागार बाहिर रहेको भन्दै सहायक जिल्ला प्रमुखको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहनेगरी सो कार्यदल गठन गरिएको छ । गृह मन्त्रालयले फरार बन्दी खोजी, नियन्त्रण तथा पक्राउ अभियान सञ्चालन गर्ने कार्य अझ सघन रुपमा अघि बढाउन गृह मन्त्रायलले कार्यदेश जारी गरेको छ ।
न्यौपानेका अनुसार गृह मन्त्रालयले फरार बन्दी खोजी तथा पक्राउ कार्यदल, प्रमुख जिल्ला अधिकारी र कारागार व्यवस्थापन विभागलाई भूमिका तोक्नुका साथै कार्यदेश जारी गरिएको छ ।