विनय कर्ण
कल्याणपुर (सप्तरी), असोज २९ गते । सप्तरी हनुमाननगर कंकालिनी नगरपालिकामा भएको दुई छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ५ जोगिनायाँ घर भएका ४२ वर्षीय नरेश यादवको चौताराबाट लडेर मङ्गलबार राति मृत्यु भएको हो ।
यादव अत्याधिक मादक पदार्थ सेवन गरेर सोही ठाउँस्थित जोगिनिया बाँधमा रहेको रुखको चौतारामा बसिरहेको अवस्थामा अचानक लडी घाइते हुनु भएको थियो ।
घाइते उहाँलाई भारदह अस्पतालमा सप्तरीमा सामान्य उपचार पश्चात थप उपचारका लागि सुनसरीमा लगिएकोमा मङ्गलबार राति चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक डम्बर पुरीले जानकारी दिनुभयो ।
यस्तै, सोही नगरपालिका वडा नम्बर ३ गितखोरा घर भएका ५५ वर्षीया महिला सबुरी खंगको मृत्यु भएको छ ।
एकसाता अघि घाँसमा छर्ने विषादी सेवन गरी सिकिस्त हुनु भएका उहाँलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारपछि थप उपचारका लागि नोवेल अस्पताल विराटनगर लगिएको थियो ।
आर्थिक अवस्था कमजोर भएकाले त्यहाँ उपचार गराउन नसकि कोशी अस्पताल विराटनगरमा उपचार गराएर घर ल्याइएकोमा मङ्गलबार राति उहाँको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लेखबहादुर विष्टले जानकारी दिनुभयो ।