काठमाडौं, भदौ ४ गते । नेकपा (एमाले) का सचिव एवम् पूर्वमन्त्री पद्मा अर्यालले तीज एकता र समानताको पर्वको रुपमा मनाउनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल केन्द्रीय महिला विभागले बुधबार आयोजना गरेको ‘तीज मिलन कार्यक्रम’ मा उहाँले सो कुरा बताउनुभयो ।
उहाँले विगतमा आफू राजनीतिमा लाग्दै गर्दा तीज गीतले प्रेरित गर्ने गरेको अनुभव सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “राजनीतिमा लाग्दै गर्दा तीज गीतले प्रेरित गथ्र्यो । परिवर्तनका लागि झण्डा बोकौं, सङ्घर्षमा हाम फालौं जस्तो हुन्थ्यो । व्रत बस्ने, नाचगान गर्ने यो तीजलाई राज्य व्यवस्था परिवर्तन गर्ने महत्त्वपूर्ण माध्यमका रुपमा प्रयोग गर्यौं ।”
उहाँले हजुरआमा एवम् विगतका पुस्ता बोल्न, लेख्न नसक्ने अवस्थामा तीजमा आफ्नो दु:ख, सुखका कुरा गीतमार्फत पोख्ने अवसरका रुपमा रहेको बताउनुभयो । अहिलेका नयाँ पुस्ताले तीजको मौलिक पक्षको संरक्षण गर्दै आनुधनिकताको उपयोग गर्न सक्नुपर्ने उहाँको भनाइ छ ।
यसैगरी, तीज पर्वका माध्यमबाट एकता र समानताको सन्देश प्रवाह गर्न सक्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “मौलिक संस्कृतिको रक्षा र आधुनिकताको उपयोग गर्नुपर्छ । गरगहना, लत्ता, कपडा लगाउने व्यवहारिक हिसाबले अघि बढ्दैछ । तपाईंको कलम एकता, समानता र न्यायको पक्षमा चल्न सक्नुपर्छ ।”
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले समाजमा भएका लैङ्गिक विभेद अन्त्य गरेर अवसर दिनुपर्ने अभिव्यक्ति तीज गीतमार्फत अभिव्यक्त हुँदै आएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले तीज अभिव्यक्त हुन नसकेका कुरा साटासाट गर्ने तथा भेटघाट गर्ने अवसरको पर्व रहेको बताउनुभयो ।
वरिष्ठ पत्रकार बबिता बस्नेतले तीज पर्व महिलाको अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको बताउनुभयो ।
प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले पत्रकार महिलालाई कार्यकक्षभित्रै अनेकौं चुनौती रहेको बताउनुभयो । यसका बाबजुत पत्रकार महिलाले समाजमा उज्यालो छर्ने काम गर्दै आएको उहाँको भनाइ छ ।