• ४ भदौ २०८२, बुधबार

यस्ता छन् कुकुर पाल्न चाहिने मापदण्ड

blog

काठमाडौं, भदौ ४  गते । काठमाडौं महानगरपालिकाका अनुसार महानगरभित्रका ९५ प्रतिशत सामुदायिक कुकुरलाई रोगबाट बचाउन भ्याक्सिन लगाइएको छ । 

महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले घरभित्र पालेका कुकुरको अभिलेखीकरणका लागि समेत स्थानीयमा अपिल जारी गरिएको जानकारी दिनुभयो ।

कुकुर÷बिरालो बन्ध्याकरण÷भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि, २०८० को अनुसूची (३) बमोजिम अभिलेखनका लागि अपिल जारी गरिएको थियो । महानगरले २०८१ चैतमा अभिलेखीकरणका लागि अपिल जारी गरे पनि सो कार्य भने सन्तोषजनक रुपमा अघि बढ्न सकेको छैन ।

उहाँले भन्नुभयो, “घरभित्र पालेका कुकुरलाई अभिलेखीकरणका लागि वडा कार्यालयमा दर्ता गर्नुस् भनेर अपिल जारी गरिएको छ । कसको कुकुर सडकमा छोडिएको हो भन्ने कुरा  सम्बन्धित घरधनीसँग सूचना गर्न सजिलो होस् भनेर यसो गरिएको हो ।”

उहाँले सामुदायिक कुकुर समाजकै उत्पादन भएको तथा उनीहरुको बाँच्ने हकको सवाल पनि अधिकारकर्मीले उठाउने गरेको भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो, “सामुदायिक कुकुर समाजकै उत्पादन हो । हामीले लखेटेर यताबाट उता गर्न पनि ठीक होइन । कुकुरको बाँच्ने हकको कुरा पनि कैयौं अधिकारकर्मीले गर्नुहुन्छ । यसकारण रोबाट बचाउन नियमित भ्याक्सिनेसन गर्ने गरेका छौं । हाम्रो अन्दाजमा करिब ९५ प्रतिशतलाई भ्याक्सिनेसन गरेका छौं ।” 

त्यस्ता कुकुर सन्तान नियन्त्रणका लागि बन्ध्याकरण बढाइएको तथा सडक दुर्घटनामा परेका कुकुरको उपचारका लागि मेडिकल सपोर्ट र सेल्टरको व्यवस्थापन गरिएको उहाँको भनाइ छ ।

उहाँले कतिपयले घरभित्र पालेका कुकुर बुढो भएपछि सडकमा छोडिदिने र उद्धारका लागि सहयोग माग्ने गरेको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, “घरभित्र पालेका कुकुरको अलि–अलि रौं झर्न लाग्यो, बुढो भयो भने सडक बाहिर, घरको गेट बाहिर पठाएर कहाँको कुकुर आएछ भन्दै टिपेर लैजानुस् भनेर हामीलाई फोन गर्ने पनि गर्नुहुन्छ । अनि यसरी त कति गर्न सकिएला र । त्यसैले घरमा पालेका कुकुरको अभिलेखीकरण गर्नुस् भनेर अनुरोध गरेका हौं ।”

के गर्दैछ राजनीतिक दल ?

सहरी तथा ग्रामीण क्षेत्रमा पालिएका वा सडकमा छोडिएका कुकुरको व्यवस्थापनका सन्दर्भमा नेपाली कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले ध्यानाकर्षण गराएको छ । 

विभागका प्रमुख कल्याण गुरुङका अनुसार खासगरी, यस्ता कुकुरको दिसा, पिसाबको व्यवस्थापन हुन नसक्दा मानिसको स्वास्थ्य, वातावरण र अन्य जीवलाई घातक प्रभाव परिरहेको छ । 

उहाँले भन्नुभयो, “मानिसहरु घरमा कुकुर पाल्नुहुन्छ । बाहिर सडकमा, चउर, मैदानमा दिसा गराउनुहुन्छ । मैदानमा केटाकेटी खेलिरहेका हुन्छन् । मानिसहरु पैदल हिंडिरहेका हुन्छन्, यसले गर्दा त्यो दिसा घर–घरमा पुग्छ ।”

“दिसाका कणहरु हावामा मिसेर उड्छ ।श्वासमार्फत मानिसको स्वास्थ्यमा असर गर्छ । बगेर पानीमा, नदीमा जान्छ, बारीका तरकारीमा पर्छ । नदीका माछालाई प्रभाव पर्छ । चराचुरुङ्गी, गाई वा अन्य जीवले खाने दाना प्रदूषित हुन्छ”, उहाँले भन्नुभयो, “अर्को कुरा बेवारिसे कुकुरबाट रेबिजको सम्भावना हुन्छ । उनीहरुको रौं झरेर खानामा समेत जान सक्छ । हावाबाट फोक्सोमा समेत जान्छ ।”

उहाँले जलवायु परिवर्तन, मौसम, वनजङ्गल, वातावरण विज्ञान, जङ्गली जनावर, सिँचाइ, कृषिलगायतका विषयमा नेपाली कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले गत असार २ देखि साउन ६ गतेसम्म ३० दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँले कुकुरको दिसापिसाब, खकार, रौंहरुले भयानक रोग निम्त्याउने भन्नुहुँदै यसको व्यवस्थापनमा स्थानीयदेखि सङ्घीय सरकार गम्भीरताका साथ लाग्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “घरमा आयस्रोत कति छ ? कुकुरको दिसापिसाब कहाँ गराउँछ ? फोहोर व्यवस्थापन गर्ने ठाउँ छ कि छैन ? भ्याक्सिन दिएको छ कि छैन ? छाडा कुकुरलाई ट्याग लगाएर एक ठाउँमा व्यवस्थापन गर्नुपर्छ ।”

स्थानीय सरकारले वडा तहमा प्रभावकारी कुकुर व्यवस्थापनका लागि प्रभावकारी कार्यविधि बनाएर लागू गर्नुपर्ने उहाँले जोड दिनुभएको छ ।

उहाँले राम्रोसँग कुकुर पालन तथा व्यवस्थापन गर्नेलाई पुरस्कृत गर्नुपर्ने तथा लापरवाही गर्नेलाई कारवाही गर्नुपर्ने बताउनुभयो । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।