आगजनी भएलगत्तै आफूलाई बेरोजगार भएको महसुस गर्नुभएका करार, ज्यालादारीलगायत विभिन्न सेवासर्तमा कार्यरत कर्मचारीलाई निरन्तर रूपमा जोड्नका लागि केही दिनभित्रै आवश्यक प्रक्रिया पूरा गरेर कम्पनी सञ्चालन गरिने
काठमाडौँ, चैत २४ गते । आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र अबको एक महिनाभित्र पुनः सञ्चालनमा आउने भएको छ । प्रशोधन केन्द्रका महाप्रबन्धक सङ्गीता यादवले उद्योगलाई पुनः सञ्चालनको तयारी भइरहेको बताउँदै एक महिनाभित्र उत्पादन सुरु हुने जानकारी दिनुभएको हो ।
राजावादी भनिएका प्रदर्शनकारीले चैत १५ गते आगजनी गर्दा सो केन्द्र क्षतिग्रस्त भएको थियो । अपराह्न ४ बजे गरिएको आगजनीपछि केन्द्रको उत्पादन पूर्णमा रूपमा बन्द छ । पहिलेकै परिणाममा गर्न नसकिए पनि उत्पादन सुरु गर्ने उहाँले स्पष्ट पार्नुभयो । उत्पादन बन्द रहे पनि दैनिक प्रशासन सुरु भइसकेको छ ।
“सवारीसाधन र भवन मात्र नभई उत्पादनसँग सम्बन्धित धेरै उपकरणसमेत आगोले खरानी भए । कतिपय नयाँ उपकरण खरिद गरी जडान गर्नुपर्ने हुन्छ । त्यही भएर केही समय लाग्न सक्छ,” उहाँले भन्नुभयो, “तत्कालीन र दीर्घकालीन योजना बनाएर यस केन्द्रलाई पहिलेकै अवस्थामा फर्काउनु छ । यसका लागि सरकारको सहयोग आवश्यक छ ।” यो प्रशोधन केन्द्र वन तथा वातावरण मन्त्रालयमातहत सञ्चालन हुँदै आएको छ ।
गृहकार्य भइरहेको छ : मन्त्री ठकुरी
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले प्रशोधन केन्द्र छिटोभन्दा छिटो सञ्चालनका लागि मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयले प्राविधिक र विज्ञसँग छलफल गरिरहेको छ । अस्थायी रूपमा सञ्चालन गर्न करिब १० करोड रुपियाँ आवश्यक देखिएको छ । यसबारे मन्त्रीपरिषद्को बैठकमा समेत छलफल भइसकेको छ । चाँडै रकम उपलब्ध हुन्छ ।” यो प्रशोधन केन्द्र सञ्चालनबारे मन्त्रीपरिषद्ले चाँडै नै निर्णय गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
प्रारम्भिक मूल्याङ्कनबाट करिब २८ करोड रुपियाँ बराबरको क्षति भएको देखिएको बताउँदै मन्त्री ठकुरीले अस्थायी रूपमा सञ्चालनका लागि रकम उपलब्ध गराउन मन्त्रालय प्रव्रिmयागत रूपमा अगाडि बढिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार सहरी मन्त्रालय अन्तर्गतको निकायबाट यसको क्षतिको विस्तृत विवरण सङ्कलन तथा मूल्याङ्कनको काम सुरु भइसकेको छ ।
उहाँले भन्नुभयो, “आगजनी भएको भोलिपल्टदेखि नै आफूलाई बेरोजगार भएको महसुस गर्नुभएका करार, ज्यालादारीलगायत विभिन्न सेवासर्तमा कार्यरत कर्मचारीलाई निरन्तर रूपमा जोड्नका लागि केही दिनभित्रै आवश्यक प्रक्रिया पूरा गरेर कम्पनी सञ्चालन गर्छौं ।”
सो क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सोबिता गौतमले जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र अहिले बस्तीको बिच भागमा परिसकेको हुनाले यसलाई अन्य ठाउँमा सार्ने सरकारले योजना बनाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जतिबेला यो प्रशोधन केन्द्र स्थापना भयो, खुला ठाउँ थियो । अब घना बस्ती भइसकेकाले यहाँ उपयुक्त छैन भन्ने महसुस भएको छ । सरकारले उपयुक्त स्थानमा सार्नका लागि छिटै नै योजना बनाउनु पर्छ ।”
एक हजार किसान र चार सय कर्मचारी आबद्ध
केन्द्रका प्रशासन प्रमुख धर्म नेपालका अनुसार केन्द्रीय कार्यालय काठमाडौँमा भए पनि बारा, झापा, कैलाली, जाजरकोट, गोरखामा यस कम्पनीका शाखा रहेका छन् । यस कम्पनीमा प्रत्यक्ष रूपमा चार सय जनाले रोजगारी पाएका छन् भने एक हजार किसान आबद्ध छन् । किसानले कम्पनीका लागि जडीबुटी उत्पादन गर्छन् ।
यस कम्पनीले सन्चो, सन्चो बाम, सन्चो मसाज तेल, शिलाजित, सञ्चो जटा केश तेललगायतका औषधीय सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीले यसै हप्ता सन्चो मह र सन्चो शुद्ध टिमुरको बिक्रीवितरण सुरु गर्न लागेको थियो । त्यसै गरी केन्द्रले मानिसको भन्सासँग सम्बन्धित उत्पादनको तयारी गर्न लागेको थियो ।
यो प्रशोधन केन्द्र सुगन्धित तेलको नेपालमा नै सबभन्दा ठुलो कम्पनी हो । यो कम्पनी हरेक नेपालीले गर्व गर्नलायकको रहेको बताउँदै उहाँले भन्नुभयो, “कम्पनीले आफैँ कच्चा पदार्थ उत्पादन गर्छ, उत्पादनका लागि कुनै पनि वस्तु विदेशबाट आयात गर्दैन ।”
प्रशोधन केन्द्रका प्रशासन प्रमुख नेपालले नयाँ वस्तुको उत्पादन तथा बिक्री केन्द्र विस्तारको तयारी भइरहेकै बेला आगजनी हुँदा कम्पनीलाई ठुलो क्षति भएको बताउनुभयो । आगजनीले कम्पनीलाई आर्थिक क्षति मात्र नभई उत्पादन वृद्धि र सेवा विस्तारमा समेत अवरोध पुर्याएको उहाँको भनाइ छ । उहाँका अनुसार उद्योगको दुई भवन र १३ वटा सवारीसाधन, उपकरण, भौतिक संरचना, उत्पादित सामान खरानी भएको छ ।
 
                                 
                                                 
                                                            -square-thumb.jpg) 
                                                                 
                                                                 
                                                             
                                                                -square-thumb.jpg) 
                                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                