• १४ कात्तिक २०८२, शुक्रबार

लुम्बिनी प्रादेशिक अस्पताल : फार्मेसी सेवापछि सेवाग्राहीलाई राहत

blog

बुटवल समाचारदाता

बुटवल, कात्तिक १४ गते । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सेवा लिनेहरूको संख्या बढ्दै गएपछि फार्मेसी सेवा विस्तार गरिएको छ । लुम्बिनी प्रदेशको सबैभन्दा जेठो यो अस्पतालमा सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि पहिलो प्रस्थान विन्दुको मान्यता दिएपछि सेवा लिन आउनेको सङ्ख्या थप बढेको छ । 

विक्रम संवत् १९६७ सालमा स्थापना भएको यो अस्पतालमा सेवाग्राहीको चाप अत्यधिक बढेपछि सेवाग्राहीको सुविधाका लागि फार्मेसी काउन्टरको सङ्ख्या विस्तार गरिएको अस्पतालले जनाएको छ । 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्नका लागि फार्मेसी काउन्टरमा हुने भिडलाई कम गर्न काउन्टर थप गरेर सेवा दिन सुरु गरिएको बताउनुभयो । 

अस्पतालका स्वास्थ्य बिमा शाखा प्रमुख दीपेन्द्र पौडेलका अनुसार स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ओपिडी सेवातर्फ दैनिक एक हजार दुई सयभन्दा बढी सेवाग्राही आउने गर्दछन् । 

त्यसै गरी आकस्मिकतर्फ एक सयभन्दा बढी सेवाग्राही सेवा लिन आउने गरेको बताइएको छ । प्रमुख पौडेलले अस्पतालमा भर्ना भएर उपचाररत बिरामीको सङ्ख्या दैनिक ७० देखि ८० जनासम्म हुने गरेको बताउनुभयो । 

अस्पतालमा दैनिक एक हजार पाँच सय जनाले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत फार्मेसीबाट सेवा लिने गरेका छन् । गत आर्थिक वर्षमा स्वास्थ्य बिमा सेवा कार्यक्रम अन्तर्गत अस्पतालबाट सेवा लिनेको सङ्ख्या करिब एक लाख ६० हजार रहेको छ । अस्पतालले सो अवधिमा ३५ करोड रुपियाँ बराबरको उपचार सेवा उपलब्ध गराएको थियो । 

अस्पतालका फार्मेसी प्रमुख पदम खनालले यसअघि दुई वटा काउन्टरबाट सेवा दिइँदै आएकोमा मङ्गलबारदेखि थप सात वटा काउन्टरबाट सेवा सञ्चालन भइरहेको बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रमका लागि फार्मेसीमा हाल आठ जना कर्मचारीबाट सेवा प्रदान हुँदै आएको छ । काउन्टर विस्तारले सेवाग्राही लामो समयसम्म लाइनमा बस्नुपर्ने समस्या अन्त्य हुने अपेक्षा गरिएको अस्पतालले जनाएको छ ।