रामकृष्ण बोहोरा
बागलुङ, कात्तिक १४ गते । सिप र जाँगर भए सबैले पत्याउँछन् । उमेरले ६० काट्नुभएका भीमबहादुरको मेहनतले बुढेसकालमा पनि काम गररै मनग्गे कमाइ गर्न सकिन्छ भन्ने स्थापित भएको छ । उहाँ काठको मूर्ति बनाउने काममा सधैँ तल्लीन हुनुहुन्छ । सानाठुला सबैलाई सम्मान गरेर बोल्नुहुन्छ । उमेर बुढ्यौली भए पनि उहाँको मेहनत भने तन्नेरी छ । सिप सयौँ वर्षअघिको मल्लकालीन कलाकार जस्तै छ । आफ्नो सिपमा उहाँ कहिल्यै घमण्ड गर्नुहुँदैन । बुवाबाट सिकेको कला तीन भाइलाई पनि सिकाइसक्नुभएको छ ।
बागलुङ नरपालिका–३ निवासी भीमबहादुर विकले बाबुबाजेको विरासत १२ वर्षको उमेरबाटै धान्न थाल्नुभएको थियो । त्यो कला परिष्कृत बन्दै गएको छ । उहाँका बाबु मोतीलाल पनि मूर्तिकार हुनुहुन्थ्यो । मोतीलाल मात्र हैन भीमबहादुरका छ वटा पुस्ता काष्ठकलामा आबद्ध हुनुहुन्छ । त्यो विरासत उहाँले अहिले पनि धानेको बताउनुभयो । विकले भन्नुभयो, “हाम्रा पुस्ताले पाल्पाको ऋषिकेश मन्दिर बनाएपछि एक जनाको हात काटिएको थियो । अन्यत्र गएर यस्तै कला बनाउन नसकोस् भनेर हात काटिएको रे ।” पाल्पाका तत्कालीन राजा मणीमुकुन्द सेनले कालीगण्डकी स्नान गर्न जाँदा ऋषिकेशको मूर्ति भेटेर मन्दिर बनाउन लगाएको इतिहास छ । उक्त मन्दिरमा काठको काम र मूर्ति कुँद्न भीमबहादुरका छ पुस्ताअघिका जिजुबाउ गएको किंवदन्तीसमेत छ ।
हात काटिएर फर्कनुभएका उहाँका जिजुबाबुले छोराछोरीलाई काष्ठकला सिकाएपछि निरन्तर परिवार यो पेसामै रमाएको छ । भीमबहादुरका कान्छा भाइ इन्द्रले भन्नुभयो, “बुबाले दाइलाई सिकाउनुभएछ, अहिले दाइबाट हामीले सिक्दै छौँ । उस्तै गर्न सकिएको छैन तर केही गर्न सक्ने भयौँ ।” माइलो सूर्य र साइलो नरबहादुरले पनि कलाकारिता सिक्नुभएको छ ।
मल्लकालीन टुँडाल कुँद्ने भीमबहादुरले हालै बागलुङ कालिका मन्दिरमा बनाइएको सत्तलमा पनि मूर्ति कुँद्नुभएको हो । देवीदेवताको मूर्ति, जङ्गली जनावर, कलस, धनुषवाण, यौनलीला जस्ता मूर्ति काठमा कुँद्न भीमबहादुरलाई कसैले भेट्दैन । हरेक टुँडालमा इतिहास लेखाउन सकिने उहाँको भनाइ छ । “कुनै जन्तुको चित्र मात्र हैन, त्यसको इतिहास बुझ्नु पर्छ,” उहाँले भन्नुभयो, “त्यसपछि मात्रै जीवनचक्रलाई आकर्षक बनाउन सकिन्छ ।”
 
                                
                             
                                                 
                                                             
                                                                -square-thumb.jpg) 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                