• १४ कात्तिक २०८२, शुक्रबार

काटेको धान खेतमा अलपत्र

blog

काटिएको धान खेतमै । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी),कात्तिक १४ गते ।
सप्तरीमा काटिएको धान खेतमै अलपत्र परेपछि किसानलाई क्षति व्यहोर्नुपरेको छ । पाकेको धान भित्र्याउन किसानहरू धमाधम धान काटिरहेको बेला बुधबारदेखि लगातार परेको पानीका कारण काटेको धान खेतमै अलपत्र परेपछि किसानले क्षति व्यहोर्नु परेको हो ।

धान पाकेर काट्ने बेला भएकाले खेतको अधिकांस धान पाकिसकेकोले पाकेको धान, खेतमा काटेर राखेको धान र मुठा पारेर राखेको धानमा क्षति भएको राजविराज नगरपालिका १ चनौराकी दुर्गादेवि रजकले बताउनुभयो ।

उहाँले लगातारको पानीका कारण समस्या भएको जानकारी दिनुभयो ।

राजविराज नगरपालिका १५ कि रेखा देवी यादवले दस कठ्ठा धान काटेर खेतमै राखेको बेला अचानक आएको लगातारको पानीले धान चौपट्टै भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अझै पानी रोकिएको छैन । बेमौसमी पानीका कारण उहाँ जस्तो जिल्लाका कैयौं किसानले अहिले परेको पानीको कारण क्षति व्यहोर्नुपरेको छ ।’’

मौसम बिनाको पानीले धानबालीमा क्षति पुर्‍याउनु स्वभाविक भए पनि यो पानीले किसानलाई ठुलो क्षति व्यहोर्नु परेको राजविराज २ की कुसुम यादवले बताउनुभयो  ।

पानी पर्ने पूर्व अनुमानको विषयमा सूचना पाएको आधारमा खेतमा काटिएको धानलाई दौनी गरेर भित्र्याएकाहरूको क्षति नभएको कृषि ज्ञान केन्द्र सप्तरीका कार्यालय प्रमुख किसुनदेव राउतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पानी पर्छ भन्ने सूचनाको विषयमा गम्भीर नभएकाहरूको क्षति भएको हो । मङ्सिर महिनामा तयार हुने धानमा फुल लाग्ने बेलामा लगातारको पानीले अधिकांस धान खेतमै ढलेपछि फल लाग्न समस्या छ ।’’ भर्खरै रोपिएको मौसमी तरकारी बालीमा पनि यो पानीले ठुलो क्षति पुर्‍याएको उहाँले बताउनुभयो ।