प्रवीण कुमार शर्मा 
रौतहट, कात्तिक १४ गते । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न समयमा फरार भएर लुकेर बसेका प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
रौतहटको कटहरिया–१ (क)को २४ वटा कित्ताको ९ बिगा १८ कठ्ठा १५ धुर जग्गासँग सम्बन्धित मुद्दामा अदालतको फैसला र पत्र किर्ते खडा गरी गैरकानुनी तवरले आफ्नो नाममा दाखिला गराएको आरोपमा कटहरिया–१ का ४२ वर्षीय रामपुकार महतो कोइरीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारि प्रहरी निरीक्षक रुद्रराज कंडेलले जानकारी दिनुभयो ।
त्यस्तै, प्रहरीले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा श्री धन लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरमा एजेन्टको रूपमा काम काज गर्दै आएका गौर– ८ का ४७ वर्षीय सुरेन्द्र साहलाई पक्राउ गरेर थप अनुसन्धान थालेको छ । साहले गाँउका मानिसहरूलाई विभिन्न किसिमको प्रलोभनहरू देखाई विश्वासमा पारी १ वर्षे र ७८ महिने खाताहरू खोल्न लगाई सोही खाताहरुमा रकम जम्मा गराउँदै आएकोमा धन लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बन्द गरी प्रतिवादीहरू फरार रहेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी कडेलले जानकारी दिनुभयो ।
त्यस्तै, जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटको हिरासतबाट लागुऔषध गाँजा मुद्दाका फरार थुनुवा चन्द्रपुर– ६ ठोकर टोलका पनिलाल दासलाई प्रहरीले पक्राउ गरेको छ । साथै जेनजी आन्दोलनकै क्रममा कारागार कार्यालय गौर, रौतहटबाट फरार लागुऔषध मुद्दाका कैदीबन्दी चन्द्रपुर–१ का २८ वर्षीय उमेश राना मगरलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि कारागार कार्यालय गौर, रौतहटमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी कँडेलले जानकारी दिनुभयो ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg)