• १२ असार २०८१, बुधबार

चोरको स्वर मञ्चन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २१ गते । लिम्बू समुदायमा प्रचलित भागी विवाहको कथालाई ‘चोरको स्वर’ नामक नाटकबाट मञ्चन गरिएको छ । अनिल सुब्बा र अन्वेषण राई थुलुङको परिकल्पना तथा निर्देशन रहेको नाटक शुक्रबारदेखि थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन गरिएको हो ।  आर्टमान्डु नेपाल प्रालिको प्रस्तुति रहेको नाटकका कथा नवीन चौहानले तयार पार्नुभएको हो । 

नाटकमा अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङ्हाङ, इँगिहोपो कोइँच सुनुवार, सङ्गीता थापामगर, वेदना राई, सुरज तमू, प्रतिना राई, रमिता राई, प्रयास बान्तवा राई, रेश्मा लिम्बू, सीता राई, नर्सिस लिङ्देन, दिवस पयाङ्गू, उदय लिम्बू, प्रवीन मगर, नुशा लिङ्देन, सुनिल तामाङलगायतका कलाकारको अभिनय रहेको छ । 

केटाले केटी भगाइसकेपछि केटा पक्षबाट ‘हजुरहरूको छोरीचेली हाम्रो साथमा छ, हाम्रो छोरा भतिजले माया गरेर, खुसीसाथ राखेको छ’ भनी केटा पक्षका भलाद्मीहरू विशेष रीतिरिवाजसहित जानकारी दिन आउने सांस्कृतिक प्रचलन नै चोरको स्वर हो । माइती पक्षले रित अर्थात् चोरको स्वर स्वीकार गरिसकेपछि लिम्बू संस्कार, रीतिरिवाजअनुसार विवाहको प्रसङ्ग अघि बढ्छ ।असार १५ गतेसम्म मञ्चन हुने नाटक हरेक दिन साँझ ५ बजे र शनिबार शनिबार १ बजे पनि हेर्न सकिनेछ ।