दुर्गाकिरण तिवारी
हिजोआज खै किन हो
हिउँ जस्तै जमेकी छु
एकढिक्का हुनेगरी
माइनस सत्ताइस डिग्रीको
ठन्डीको रापले
हिमताल बनाइदिएको छ
मनको पोखरीलाई
अब खै कहिले आउने होला
वसन्तसँगै मायालु न्यानोपन ?
कुनै कुराले पटक्कै पगाल्नै सक्दैन
केही कुराले छुनै सक्दैन
सबै खाता बन्दा भैसके सायद
जिन्दगीका !
यौवनका उन्मादहरू सुकिसके क्यार !
गड्गडाउन छोडे मनका खहरेहरू
रसाउनै छोडे प्रेमले कन्दराहरू
आत्मतृष्णाले विचलित हुनै छोड्यो
मस्तिष्कमा ठोक्किनै छोडे
प्रेमका अनिभूतिहरू !
त्यसैले त जमेर म
हिउँमा परिणत भएकी छु
हिउँमा पनि
सुक्खा, अत्यन्तै सुक्खा
लाग्छ !
सदियौँदेखि सूर्यको मुख देखेकै छैन
उसका किरणले स्पर्श गरेकै छैन
अब गर्ला नगर्ला ?
गोधुलीले चियाउला नचियाउला ?
खै शङ्कै लाग्छ !
भन्न त भन्छन् नि
खोलो बाह्र वर्षमा पनि फर्कन्छ
तर
फर्कला नफर्कला ?
मनको कुनै कुनाले
फेरि प्रेमको आभास गर्ला नगर्ला ?
जमेको मनलाई
फेरि पगाल्ला नपगाल्ला ?
यो मनको अगेनोमा
प्रेमको न्यानो दिने आगो
फेरि बल्ला कि नबल्ला ?