पूर्णिमा प्रतिविम्ब
सपनाहरूको पहाड ढलेर
आफैँले खनेको
गन्तव्यको गोरेटो पुरिएपछि
यति बेला यात्राकै क्रममा भए पनि
यात्रा गन्तव्यबिहिन भएको छ
माझी बिनाको डुङ्गा जस्तै !
फेरि बाटो खन्ने साहासको हतियार
मनको आरनले अर्चाप्नै सकेन
कोइला बनेर साथ दिनुपर्ने
सारथि पनि टाढा भइदिँदा
मनमा कुरा खेलिरहेछ,
‘ओराली लागेको हरिणलाई
बाच्छाले पनि खेद्छ’
यसै भनिएको होइन रहेछन् ।
कठोर हुनुपर्ने पाटो कमजोर
कमजोर हुनुपर्ने पाटो कठोर
भएको छ मनको !
हाँस्दा हाँस्दैको उमङ्ग,
र हिँड्दा हिँड्दैको ऊर्जा हराएपछि !
मान्छे जिउँदो लास हुनुको अर्थ
महसुस गरिरहेछु !
लाचार बनेर
सपनाहरूको लास अगाडि
मुस्कुराउने प्रयत्न गर्दैछु !
लास र जिउँदो लासको बिचमा
फरक यति नै हँुदोरहेछ
थाहै नदिई
खुसीको समानान्तर रेखा
दुःखको बक्ररेखामा परिवर्तन भएपछि
यति बेला,
रित्तो लागिरहेछ जिन्दगी
अक्षर बिनाको किताब जस्तो !