• २१ असार २०८१, शुक्रबार

नेपाल–अफ्रिका फिल्म फेस्टिभल

कुइनेटो र ऐना उत्कृष्ट चलचित्र

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २० गते । दसौँ नेपाल–अफ्रिका फिल्म फेस्टिभल २०२२ मा अन्तर्राष्ट्रिय विधातर्फ सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यसैगरी करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोस्ट अफ स्पेसटाइम’ले उत्कृष्ट लघु चलचित्रको अवार्ड पायो ।

राष्ट्रियतर्फ कृषा चौलागाईंको चलचित्र ‘ऐना’ले उत्कृष्ट लघु चलचित्र र माधवराज खरेलको चलचित्र ‘कुइनेटो’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेका छन् । कुइनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरीतर्फको अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायाँकारको अवार्ड हासिल गर्नुभयो । महोत्सवमा लघु चलचित्र ऐनाबाट कृषाले क्रिटिक्सतर्फको उत्कृट निर्देशक अवार्ड र ऐनाबाटै भूपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड पाउनुभयो ।

चलचित्र राइजबाट ऋषिराज आचार्यले उत्कृष्ट निर्देशकको अवार्ड जित्नुभयो । राइज चलचित्रबाटै गजित विष्टले उत्कृष्ट अभिनेता, सरिता भारतीले उत्कृष्ट अभिनेत्री, तुलसीप्रसाद श्रेष्ठले उत्कृष्ट खलनायक र रिना अवालेले उत्कृष्ट हेयर स्टाइलको अवार्ड हासिल गर्नुभयो ।

यसैगरी, चलचित्र द डटरले पनि तीन अवार्ड हासिल ग¥यो । द डटरबाट राजेन्द्र बजगाईंले उत्कृष्ट ब्याक ग्राउन्ड म्युजिक निर्देशन, रेनिश फागोले उत्कृष्ट कलर करेक्सन र इनु थापाले उत्कृष्ट कस्ट्युम डिजाइनको अवार्ड प्राप्त गर्नुभयो ।

उत्कृष्ट स्क्रिप्ट राइटिङको अवार्ड पुरुषोत्तम बस्नेतले चलचित्र गरिमाबाट, उत्कृष्ट सहअभिनेताको अवार्ड केडी प्रश्रितले चलचित्र ‘थर्ड आई’बाट हासिल गर्नुभयो । चलचित्र ‘द ब्लाक कर्नर’बाट निर्देशक लक्षु गौतमले उत्कृष्ट निर्देशनतर्फको जुरी, चलचित्र ‘शङ्का’ बाट सुमन दाहालले उत्कृष्ट ‘सोसियल म्यासेज फिल्म’को अवार्ड प्राप्त गर्नुभयो । स्टुडेन्ट फिल्मको प्रतिस्पर्धामा सनोल दासको चलचित्र ‘झोल’ उत्कृष्ट भएको छ ।

नेपाल–अफ्रिका फिल्म फेस्टिभल २०२२ आइतबारबाट काठमाडौँको नाचघरमा सुरु भएको हो । अग्रज अभिनेता सुनिल थापा, नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, अग्रज अभिनेता सुनिल थापा, डिस्ट्रिक ३२५ बी वान एलकी जोन चेयरपर्सन लायन एवं अग्रज ब्युटिसियन सोनी कारञ्जित, चलचित्र पत्रकार सङ्घका पूर्वअध्यक्ष शान्तिप्रियलगायतले विजेतालाई अवार्ड प्रदान गर्नुभयो ।

महोत्सवको निर्णायकमा अग्रज सङ्गीतकार जुगल डङ्गोल, अभिनेताहरू प्रेम पाण्डे, प्रवन भुसाल, सागर घिसिङ, नेपाल म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की, कोरियोग्राफर तथा भिडियो निर्देशक अजय स्याङ्तान र चलचित्र पत्रकार कुवेर गिरी हुनुहुन्थ्यो ।