नेपाली उड्ययन क्षेत्रले फेरि अर्को एक हवाई दुर्घटनाको दुखद घटना भोग्नुप¥यो । तारा एयरको पोखराबाट जोमसोमतर्फ जाँदै गरेको ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिकाको सानुसरे भीरमा आइतबार दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २२ जनाले ज्यान गुमाए ।
प्रारम्भिक अनुमानअनुसार, प्रतिकूल मौसमका कारण विमान दुर्घटनाग्रस्त भएको मानिए पनि यस सम्बन्धमा गठित पाँच सदस्यीय जाँचबुझ समितिको प्रतिवेदनपश्चात् नै दुर्घटनाको ठोस निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ । लगभग सात दशक लामो नेपालको हवाई उड्डयनको इतिहासमा १०८ वटा हवाई दुर्घटना भइसकेका छन् । यी दुर्घटनामा झन्डै नौ सय मानिसले ज्यान गुमाइसकेको अभिलेख रहेको छ ।
यस अर्थमा सरदर वार्षिक दुईवटा जसो हवाई दुर्घटना नेपाली आकाशमा भइरहेको पाइन्छ । विमान दुर्घटना आफैँमा हृदयविदारक एवं पीडादायी घटना हो । पीडितका परिवारलाई पर्ने मानवीयलगायतका विभिन्न प्रतिकूल प्रभावका अतिरिक्त यसले समग्रमा मुलुकको हवाई उड्डयनका क्षेत्रमा पनि निकै गम्भीर असर पु-याइरहेको तथ्य सबैसामु छ ।
हवाई दुर्घटनाका निरन्तरको शृङ्खलाकै फलस्वरूप अन्तर्राष्ट्रिय हवाई उड्डयन निकायले नेपाली ध्वजावाहक विमानलाई अमेरिका तथा युरोपका आकाशमा उड्न प्रतिबन्ध लगाएको वर्षौं व्यतित भइसकेको छ । यसैको परिणति स्वरूप मुलुकका हवाई संस्थाको अन्तर्राष्ट्रिय क्षमता विस्तारमा सङ्कुचन देखिनुका साथै हवाई प्रतिष्ठामा समेत प्रतिकूल असर परिरहेको छ । यसको प्रत्यक्ष मार मुलुकको पर्यटनलगायतका वैदेशिक मुद्रा आर्जन गर्ने उद्योगहरूमा देखिएको छ ।
धनजन, मानवीय पीडालगायतका क्षति न्यूनीकरणका अतिरिक्त सकारात्मक हवाई छवि निर्माणका निम्ति पनि हवाई दुर्घटना हुन नदिन आवश्यक प्रशासनिक, प्राविधिक, सुरक्षात्मक उपायहरू अवलम्बन गर्न अब ढिला भइसकेको छ । हवाई दुर्घटनापिच्छे जाँचबुझ समितिको गठन भइरहेका हुन्छन् र यो नियमित एवं औपचारिक प्रक्रियाका रूपमा स्थापित भइसकेकोे छ तर यी जाँचबुझ समितिले दुर्घटना न्यूनीकरणका लागि सिफारिस गर्ने विभिन्न उपायका साथै कदमहरूको परिपालनामा खासै सचेतता एवं तदारुकता देखाएको पाइँदैन । यस अर्थमा मुलुकको हवाई सुरक्षा प्रणालीमा यथार्थवादमा चलिरहेको प्रतित हुन्छ । हवाई दुर्घटनाका कारण प्रमुख कारण मानवीय त्रुटि, खराब मौसम, हवाई यानको गुणस्तर व्यावसायिक प्रतिस्पर्धा आदि नै हुन् । यी पक्षहरूका सम्बन्धमा गुणात्मक सुधार नगरी हवाई सुरक्षामा अभिवृद्धिको अपेक्षा गर्नु व्यर्थ हुन्छ ।
यसर्थ सुरक्षात्मक, प्राविधिक एवं मानवीय पक्षलाई ध्यानमा राखेर नेपाली वायुसेवा कम्पनीहरूले आफ्ना हवाई सुरक्षा प्रविधिलाई अब्बल बनाउनुको कुनै विकल्प देखिँदैन । पछिल्लो दुर्घटनापछि क्यानले मौसम सफा नभएसम्म उडान नगर्ने निर्णय नै गरेको अवस्था छ । यसले थोरै भए पनि नेपाली उड्डयन क्षेत्रलाई राहत पुग्न सक्छ । तारा एयरको विमान दुर्घटनापश्चात् संसदीय समितिमा नेपाल सरकारका मन्त्री प्रेमबहादुर आलेका अभिव्यक्तिले नेपाली हवाई उड्ययनको वास्तविकतालाई धेरै हदसम्म बुझ्न सघाउ पु-याउँछ ।
नेपाल भित्र्याइने अधिकांश विमान तथा हेलिकप्टर अमेरिका तथा युरोपमा पुराना भएपछि यहाँ ल्याइने गरिएका भनाइबाट नेपाली आकाश कति सुरक्षित छ भन्ने प्रश्न उठेको छ । मन्त्रीको यस भनाइले सरकारका साथै सम्बन्धित निकायहरू हवाई यातायातजस्तो संवेदनशील विषयवस्तुमा सर्वसाधारणको जीउज्यानप्रति कति गम्भीर छन् भन्ने तथ्यलाई प्रष्ट्याउँछ । स्वयं मन्त्री यस कटु तथ्यको जानकार हुनुहुन्छ भने यस्ता गतिविधिमा पूर्ण बन्देज लगाउन किन ढिलाइ भइरहेको हो ? जनउत्तरदायी सरकारले यसको चित्तबुझ्दो जवाफ दिनु उपयुक्त हुन्छ ।
अब आउँदा दिनमा हवाई दुर्घटना दोहोरिन नदिन सबै पक्षको समन्वय एवं सहकार्य जरुरी छ । विज्ञहरू सम्मिलित जाँचबुझ समितिको प्रतिवेदनलाई गम्भीरता साथ अध्ययन गरी यसको पालना गराउनेतर्फ अग्रसर हुनु अति आवश्यक छ । हवाई उड्ययन व्यवसाय मात्र नभई मानवीय जीवनसँग प्रत्यक्ष सम्बन्धित भएकाले पनि यसलाई थप सुरक्षित बनाउन कुनै कमी गरिनु हुँदैन । यसलाई सुरक्षित बनाउन जहाजका लागि नयाँ रुटको खोजी पनि एउटा विकल्प हुन सक्छ ।
जोखिमयुक्त रुटमा उडान गर्दा सधैँ खतरा मोल्नुपर्ने भएपछि त्यसको बारेमा वैकल्पिक उपायको पनि खोजी गर्नुपर्छ । साथै अर्को पक्ष प्रतिकूल मौसमका बीच पनि उडान भर्ने प्रवृत्ति नेपाली आकाशमा धेरै देखिन्छ । यस विषयमा समेत सम्बद्ध निकायबाट नयाँ तरिकाले खोज अनुसन्धान तथा नीतिगत निर्णय गर्नु जरुरी छ । नेपाली हवाई उडान सुरक्षित बनाउने कुरा सबैको साझा चिन्ता चासोको विषय हो । यसमा सबै पक्ष गम्भीर हुनैपर्छ ।