• १० जेठ २०८१, बिहिबार

विद्यालयमा पाठ्यपुस्तक अभाव

blog

मीना कँडेल

कावासोती, जेठ १७ गते । पूर्वी नवलपरासीका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिक सत्र सुरु भएकोे तीन साता बितिसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् । पुस्तक पसलहरूमा किताब लिन आउने विद्यार्थीको भीड लाग्ने गरेको छ । सरकारले निःशुल्क उपलब्ध गराउने किताब नै अभाव भएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको कावासोतीस्थित ज्ञानोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक चेतनाथ अधिकारीले बताउनुभयो । 

सरकारी माध्यमबाट अध्यापन हुने कक्षा ४ देखि कक्षा १० सम्मकै पाठ्यपुस्तक अभाव भएको छ । विशेषतः कक्षा ६ र कक्षा ८ को नेपाली र अङ्ग्रेजी विषयको पुस्तक अभाव भएको छ भने विद्यालयहरूले पाठ्यपुस्तक अभावकै बीच पठनपाठन थालेका छन् । जेठ ४ बाट पठनपाठन थालिएकोमा किताब अभाव भएकाले पाठ्यक्रमअनुसार अध्ययन गराउने र गृहकार्यमा केन्द्रित गरिएको प्रधानाध्यापक अधिकारीले बताउनुभयो । 

पाठ्यपुस्तक अभाव हुँदा विद्यार्थीलाई अध्ययन गर्न असहज भएको गुनासो अभिभावकहरूको छ । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका हुन् । कावासोती वडा नं. ८ मा विगत २५ वर्षदेखि पुस्तक तथा स्टेसनरी पसल सञ्चालन गर्दै आउनुभएका प्रकृति पुस्तक पसलका प्रोप्राइटर गीता पराजुलीले  कक्षा ४ देखि १० सम्मकै पुस्तकहरू नआएको बताउनुभयो । 

यसअघिका वर्षमा शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पुस्तक उपलब्ध गराइँदै आएको थियो । नवलपुरका पुस्तक व्यवसायीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट ल्याइएको पुस्तक कावासोतीमा बिक्री केन्द्र राखेर विद्यालयलाई उपलब्ध गराउँदै आएका छन् ।