• ६ जेठ २०८१, आइतबार

रोग पहिचानका लागि शिविर

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, जेठ १७ गते । म्याग्दीको बेनी नगरपालिकाले नसर्ने रोगको पहिचान तथा रोकथामका लागि स्क्रिनिङ शिविर सुरु गरेको छ । ग्रामीण क्षेत्रका सर्वसाधारण नागरिकलाई घरदैलोमै पुगेर नसर्ने रोगको पहिचान गरी स्वास्थ्य सेवा दिने उद्देश्यले निःशुल्क रूपमा शिविर सुरु गरिएको हो । नेपालको संविधानले तोकेको नागरिकको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयनमा लाने प्रतिबद्धताअनुरूप स्वास्थ्य शिविर थालिएको नगरप्रमुख सुरत केसीले बताउनुभयो । संविधानको धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ भन्ने कुरा उल्लेख छ । सोहीअनुरूप प्रत्येक नागरिकलाई  स्वास्थ्यको हक प्रत्याभूत गर्न शिविर थालिएको जानकारी उहाँले दिनुभयो । 

जेठ १५ गते पहिलो दिन ६५० जना नगरवासीले सो सेवा लिनुभएको छ । सबैभन्दा धेरै बेनी नगरपालिका–५ पुलाचौर स्वास्थ्य चौकीमा १४४ जनाले सेवा लिएको बेनी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बेनी नगरपालिका–४, सिङ्गामा सञ्चालित शिविरमा १४२ जना, वडा नम्बर ९ घतानमा ११९, २ ज्यामरुक कोटमा ९७, १ रत्नेचौरमा ९३ र ३ भकिम्ली स्वास्थ्यचौकीबाट ५५ जनाले स्वास्थ्य सेवा लिएका छन् । उक्त शिविर हरेक महिनाको १५ गते नियमित सञ्चालन हुने जनाइएको छ । बेनी नगरपालिका–९, घतान स्वास्थ्यचौकीमा आयोजित शिविर उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख केसीले पहिलो चरणमा नगरभित्र रहेका सबै स्वास्थ्य संस्थामार्फत सुगर, प्रेसरलगायत नसर्ने रोगको पहिचान गर्न शिविर आयोजना गरिएको बताउनुभयो ।

आगामी दिनमा स्वास्थ्य चौकीहरूमार्फत पाठेघर तथा स्तन क्यान्सरलगायत अन्य रोगको पहिचान गर्न स्वास्थ्य शिविर सञ्चालन गरिने जानकारी उहाँले दिनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले निःशुल्क स्वास्थ्य शिविरबाट अधिकतम लाभ लिन सेवाग्राहीलाई आग्रह गर्नुभयो । 

बेनी नगरपालिकाका स्वास्थ्य संयोजक लीला गौतमले समयमै नसर्ने रोगको पहिचान गर्न सकेको खण्डमा समुदाय तथा परिवारमा हुने आर्थिक र मानवीय क्षति कम गरी स्वस्थ नागरिक उत्पादन गर्न सकिने बताउनुभयो । 

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट बेनी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख केसीले पदभार ग्रहण गर्दै गर्दा स्वास्थ्यसम्बन्धी तीनवटा निर्णय गर्नुभको थियो । उहाँले स्वास्थ्य संस्थामार्फत प्रत्येक महिनाको एक पटक ७० वर्षदेखि माथिका ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण, हरेक महिनाको १५ गते ४५ वर्षभन्दा माथिका नागरिकलाई लक्षित गरी नसर्ने रोगको स्वास्थ्य शिविर सञ्चालन तथा नगरभित्रका विपन्न दुई सय घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गर्नुभएको थियो ।