• ११ जेठ २०८१, शुक्रबार

होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा

blog

नेपालगञ्ज, जेठ १६ गते । कोडिभ–१९ महामारीलाई लक्षित गरी नेपालगञ्जमा निर्माणाधीन एक हजार शøया क्षमताको होल्डिङ सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।  उपमहानगरपालिकाको वडा नम्बर १४ भवानीयापुरमा तीव्र गतिमा निर्माण भइरहेको सो होल्डिङ सेन्टरको निर्माणकार्य अन्तिम चरणमा पुगेको र केही दिनभित्रै पूरा हुने जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकरले बताउनुभयो । उहाँका अनुसार होल्डिङ सेन्टरमा २२ वटा भवन, भान्साघर, खानेपानीको ट्याङ्कीसहित शौचालय भवनहरू चार बिघा आठ कट्ठामा निर्माण गरिएका छन् । 

कोरोना महामारीको समयमा भारतबाट आउनेलाई राख्ने गरी होल्डिङ सेन्टर तयार गरिएको भए पनि महामारी नरहेकाले अब आपत्विपत्मा आश्रयस्थलका रूपमा सो स्थानलाई प्रयोग गर्न सक्ने गरी तयार गरिने अधिकृत सोनकरको भनाइ छ । भारतबाट आउने कोभिड–१९ सङ्क्रमितलाई व्यवस्थित रूपमा आइसोलेसनमा राख्ने र आवश्यक परेमा औषधि उपचार गर्ने सुविधासहितको अस्थायी अस्पतालका रूपमा प्रयोग गर्ने उद्देश्यले नेपाली सेनाले नेपालगञ्ज नाकामा उक्त होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियोे ।

२०७७ असोज २६ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी २९ करोड ३८ लाख रुपियाँमा श्री हनुमान कन्स्ट्रक्सन, हेटौँडाले एक हजार श-या क्षमताको होल्डिङ सेन्टर निर्माणको ठेक्का लिएको थियो । निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अब फिनिसिङ, पाइपलाइन अन्डरग्राउन्ड गर्ने कार्य मात्र बाँकी रहको जनाइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सोनकरले निर्माणको करिब ९६ प्रतिशत काम पूरा भएको बताउनुभयो ।

कोरोना महामारी समाप्त हुँदै गएकाले अब सो होल्डिङ सेन्टरलाई विभिन्न प्रकारका दैवी प्रकोप र आपत्विपत्मा आश्रय स्थलका रूपमा प्रयोग गर्ने गरी तयारी भइरहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले बताउनुभयो । उहाँले कुनै पनि प्रकारको विपत्मा उक्त सेन्टरको उपयोग गरिने सहमतिसमेत बनेको बताउनुभयो ।  यसैबीच लुम्बिनी प्रदेश स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकास देवकोटाले सो होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेर निर्माण कार्यको जानकारी लिनुभएको छ । सो अवसरमा उहाँले छिटो काम पूरा गरेर तयारी अवस्थामा राख्न निर्देशन दिनुभयो ।