• १३ साउन २०८१, आइतबार

मोटर बिग्रिएपछि पानीको अभाव

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, जेठ १६ गते । सिन्धुलीको तीनपाटन गाउँपालिका–१ स्थित छर्रछरेडाँडाका बासिन्दा सुुक्खा मौसमसँगै खानेपानीको समस्याबाट प्रभावित भएका छन् । गाउँमा सञ्चालित पताले र छर्छरे लिफ्ट खानेपानी योजनाको मोटर बिग्रिएपछि झन्डै २५० घरपरिवार खानेपानीको समस्यामा परेका हुन् ।

स्थानीय कृष्णबहादुर खड्काका अनुसार पताले र छर्छरे लिफ्ट खानेपानी योजना एक वर्षअघि गैरसरकारी संस्था नेवाले करिब ५० लाख रुपियाँको लागतमा निर्माण गरिदिएको थियो । “योजना निर्माण हुनु पहिले पनि खानेपानी समस्याकै कारण छर्छरे डाँडाका सयभन्दा बढी घरपरिवार गाउँ छाडेर बेँसीमा झरेथ्यौँ,” उहाँले भन्नुभयो, “गर्मी सुरु भएपछि तीन महिनाका लागि बेँसीमा पर्ने सिस्ने, जाँते र डिलमुनिका खोला किनारमा झथ्र्यौं र वर्षा मौसमसँगै गाउँमा खानेपानीका मुहान रसाएपछि फर्किन्थ्यौँ ।”

अहिले गाउँमा भएको खानेपानीको कुवामा पानी लिन उपभोक्ताको आधा रातमै भीड लाग्ने गरेको छ । “बिहानभरि सधैँ खानेपानीको जोहो गर्दै बित्छ । त्यो पनि मान्छेलाई खुवाउनु कि पशुलाई दिनु,” स्थानीय गृहणी मिश्रा खड्काले भन्नुभयो, “कुवा सुकेपछि सबैको काम पानी बोक्नेभन्दा अरू हुँदैन ।” खड्काका अनुसार पताले लिफ्ट खानेपानी योजनाको मोटर बिग्रिएर थन्किएको छ । अर्को छर्छरे लिफ्ट खानेपानी योजनामा जडान गरिएको मोटरले राम्रोसँग काम गर्दैन । उक्त मोटर चरक्क घाम लागेपछि मात्रै एक घण्टाजति चल्छ । दुवै योजनाको मोटर बिग्रिएपछि उपभोक्तालाई पुनः कुवाको पानी खोज्दै हिँड्नुपर्ने बाध्यता भएको छ ।

“गाउँमा भएका कुवामा ‘राति १÷२ बजे नपुगे पानी नै पाइँदैन,” उहाँले थप्नुभयो,  “त्यो पनि जो पहिले पुग्यो, उसैले ल्याउँछ, कुवामा अलिअलि गरी रसाएर जम्मा भएको पानी पछि पुग्ने त रित्तो गाग्री लिएर फर्किन्छन् ।” कुवामा भएको पानी धमिलो भए पनि बाध्य भएर उपभोग गर्नुपरेको उहाँको गुनासो छ । गृहणी खड्कका अनुसार खानपानीको समस्याले गर्दा पनि गर्मी मौसमा छर्छरे डाँडामा विवाह, व्रतबन्धजस्ता कार्य गर्न कोही पनि अघि सर्दैनन् ।