काठमाडौँ, माघ ३० गते । अचानक बढेको चिसोसँगै तुवाँलो बढ्दा काठमाडौँ उपत्यकाको एक क्षेत्रको वातावरण ‘खतरनाक’ रूपले प्रदूषित बनेको छ । मङ्गलबार शङ्खपार्क क्षेत्रमा अत्यन्त दूषित वातावरण रहेको रेकर्ड वायु गुणस्तर सूचकको स्टेसनले देखाएको छ । सूचकले ४५७ एक्युआई अर्थात् मानिसका लागि सास लिनै नहुने ‘खतरनाक’ गुणस्तरको वायु रहेको कलेजी रङको सूचक स्टेसनले रेकर्ड गरेको छ । सो क्षेत्रमा स्थानीय रूपमै धुलो उडिरहेकाले त्यस्तो देखिएको दाबी वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले गर्नुभयो । केही दिनअघि ह्वात्तै बढेको तापक्रम घटेर चिसो हुँदा बढेको तुँवालोले वातावरण अति प्रदूषित गराएको वातावरण विभागले जनाएको छ ।
लामो समय वर्षा नभएकाले माथिल्लो वायुमण्डलमा धुलो र धुवाँको तह थुप्रिएको थियो । बढेको तातोले माथि उक्लँदै गरेको धुलो र धुवाँ अचानक घटेको चिसोका कारण तल्लो वायुमण्डलमा झर्दा तुवाँलोको रूप लिएकाले उपत्यकालगायत क्षेत्रमा वायु प्रदूषण उच्च बनेको लामिछाने औँल्याउनुहुन्छ । उहाँले भन्नुभयो, “यो तुवाँलो तापक्रम बढेमा केही घट्थ्यो तर चिसो बढेकाले बढ्ने क्रम जारी रहन्छ ।” त्यसमाथि उपत्यकाका विभिन्न स्थानमा सडक निर्माण तथा अन्य भौतिक पूर्वाधार निर्माणको काम जारी छ । यसले निकालेको धुलो पनि तुवाँलोमा मिसिँदा वातावरण थप दूषित बन्न पुगेको उहाँले बताउनुभयो ।
वायुको गुणस्तर दर्साउने पिएम १० को मात्रा ह्वात्तै बढेर २३८.४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ । यो भनेको वायुमा धुलोको कणको उच्चता हो । यो विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार सास लिन नहुने वायु हो । सामान्यतया ५० एक्युआईसम्मको वायु सास फेर्न मिल्ने मानिन्छ ।
त्यस्तै काठमाडौँबाट उपत्यका बाहिर जाने प्रमुख मार्गका रूपमा रहेको कलङ्की नागढुङ्गा सडक क्षेत्रमा पनि अत्यधिक प्रदूषण बढेको छ । गुर्जुधारा क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग र सडकमार्गका कारण वायुमा अत्यधिक धुलो मिसिने गरेको छ, जुन मानव स्वास्थ्यका लागि हानिकारक छ । ती क्षेत्रका सडक छेउका घर तथा पसल धुलोले सेताम्य हुने गरेका छन् । सार्वजनिक तथा निजी सवारी साधनमा आवतजावत गर्ने आमनागरिकले महिनौँदेखि प्रदूषणमा यात्रा गरिरहेका छन् । बिहान बेलुका कहिलेकाहीँ सडकमा पानी हालिने गरिए पनि अधिकांश समय त्यस क्षेत्रको वातावरण धुलोमय हुने गरेको गुनासो स्थानीयले गरेका छन् ।
त्यस्तै मङ्गलबार मध्याह्न भैँसेपाटीमा १७७, खुमलटारमा १५२, रत्नपार्कमा १२४, भक्तपुरमा १४७ एक्युआई गुणस्तरको वायु रहेको छ, जुन मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । काठमाडौँबाहेक पोखरा, दाङ, धनकुटा र भरतपुरलगायतका स्थानको वायु प्रदूषित रहेको पाइएको छ । एक सयदेखि १५० एक्युआईको वायु बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीका लागि राम्रो मानिँदैन । त्योभन्दा माथि दुई सय एक्युआईको वायु आमनागरिकका लागि अस्वस्थकर मानिन्छ । दुई सय एकदेखि माथिको वायुको गुणस्तर मानव स्वास्थ्यका लागि घातक हुने भएकाले ‘खतरनाक’ मानिन्छ ।
वातावरण विभाग वायु प्रदूषणप्रति संवेदनशील रहेको विभागका निर्देशक शैलेशकुमार झाले भन्नुभयो । उहाँले वायु प्रदूषण कम गर्ने विषयमा सरोकारवाला निकायसँग परामर्शसँगै विभागले आफ्नै पहलमा न्यूनीकरणको काम गरिरहेको बताउनुभयो । सचेतनासँगै धुवाँ नियन्त्रणका लागि विभागले टोली परिचालन गरेरै सवारी परीक्षणका कार्यक्रम अगाडि सारेको पनि उहाँले जानकारी दिनुभयो ।