• ५ असोज २०८२, आइतबार

अन्तर्राष्ट्रिय सञ्चारको केन्द्रमा नेपाल

blog

काठमाडौँ, असोज ५ गते । नेपालमा गत साता भएको दुईदिने जेनजी आन्दोलनले ल्याएको सरकार परिवर्तनसहितको राजनीतिक उथलपुथलको घटनाले नेपाल विश्वको ध्यानाकर्षण केन्द्र बन्यो । 

सामाजिक सञ्जालमा लगाइएको बन्देज र भ्रष्टाचारको विरोध गर्दै गत भदौ २३ गते जेनजी समूहले तत्कालीन सरकारविरुद्ध सडक प्रदर्शन गरेको थियो । माइतीघरबाट सुरु भएको प्रदर्शनमा के गर्ने र के नगर्ने भन्ने उनीहरूले आचारसंहितासमेत बनाएका थिए तर दिन घर्किदै जाँदा उक्त प्रदर्शन अचानक हिंसात्मक भएको थियो । सो दिन १९ जनाले ज्यान गुमाएपछि भड्केका जेनजी समूहमा अन्य अज्ञात समूहसमेत मिसिएर भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायत कैयौँ सरकारी निकायमा आगजनी गरेर संरचना ध्वस्त बनाइयो । उक्त हिंसामा ज्यान गुमाउनेको सङ्ख्या ७२ पुग्यो । 

उक्त घटनासँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नुका साथै प्रतिनिधि सभा विघटन भयो । साथै दलका नेताप्रतिको आक्रोश जनतामाझ उच्च बन्यो । घटनाले दलबाहेकको स्वतन्त्र सरकार गठनसँगै ‘अर्ली निर्वाचन’ (संवैधानिक प्रबन्धअगावै निर्वाचन) को घोषणा गराउँदै नेपालको राजनीतिलाई नयाँ दिशा प्रदान ग¥यो । दुई दिनको उक्त प्रदर्शनीको आगो विश्व राजनीतिक आकाशमा मात्र होइन, सञ्चार माध्यमहरूमा पनि अनौठो गरी छायो । विश्वका हरेक सञ्चार माध्यमले यस घटनालाई समाचारको मुख्य विषय बनाए र नेपाल विश्वको ध्यानाकर्षण केन्द्र बन्यो । तेस्रो दिन त्रिभुवन विमानस्थल खुला गरिएसँगै विश्वका दरिएका सञ्चार संस्थाका पत्रकार तत्काल नेपाल आइपुगे । त्यसको उदाहरण शीतल निवासमा सरकारको नेतृत्वकर्ताको नाम चयन हुँदै गर्दा राष्ट्रपति भवन शीतल निवासअघि लागेको पत्रकार र क्यामराको लामलाई लिन सकिन्छ । त्यसअघिका हिंसात्मक प्रदर्शनी, सिंहदरबार र सर्वोच्च अदालत दनदनी जलिरहेका समाचारले अन्तर्राष्ट्रिय छापा र ब्रोडकास्टिङ मिडियामा प्रमुख स्थान पायो । अलजजिराले एरिएल भिडियोमा ती दृश्य कैद गरेर बनाएको समाचार विश्वप्रख्यात नै बन्यो । 

अलजजिरा, बिबिसी, एसोसियट प्रेस, सिएनएन, भारतका नाम चलेका आजतक, जी न्युज, दी हिन्दु, टाइम्स अफ नेपाललगायत विभिन्न मुलुकका स्वदेशी तथा विदेशी पत्रकार त्यहाँ उपस्थित थिए । केही दिन धेरै अन्तर्राष्ट्रिय समाचारमा अब नेपाल बङ्गलादेश जस्तै अस्थिर हुन्छ भन्ने अनुमान गरेर समाचार पनि छापिए तर अन्तरिम सरकारको गठनसँगै पहिलो महिला प्रधानमन्त्रीका रूपमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नियुक्तिले समाचारहरू फरक दिशातर्फ मोडिए । नयाँ सरकारको गठनपछि संयुक्त राष्ट्रसङ्घलगायत विश्वका मुलुकले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई शुभकामना तथा बधाई सन्देश पठाउन थाले । सरकार गठन र समर्थनका समाचार विश्वप्रसिद्ध सञ्चार संस्था बिबिसी, सिएनएन, एसोसियट प्रेस, सिजिटिएन, अलजजिराले प्रचार गरे । 

एसोसियट प्रेसले शनिबार मात्र घटनाको विगतदेखि आगतलाई समेटेर विस्तृत समाचार छापेको छ । अनलाइन संस्करणमा उपलब्ध समाचारमा पहिलो दिन नै कैयौँ प्रदर्शनकारीको ज्यान गएको र भोलिपल्ट सिंहदरबार जलाएपछि प्रदर्शनकारीले सिंहदरबारको गेटमा फहराएको नेपाली झन्डाको चर्चा गरिएको छ । त्यति मात्र होइन, अमेरिका र एसियास्थित एसोसियट प्रेसको सिङ्गो टिम नै समाचार लेखन, सम्पादन र प्रकाशनमा लागेका थिए । 

सिएनएन मात्र होइन, बिबिसीका अङ्ग्रेजी र नेपाली संस्करण दुवैले नेपालको जेनजी आन्दोलन र त्यसपछिका राजनीतिक र सामाजिक परिवर्तनका बारेमा निरन्तर समाचार दिइरहेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिपछिमा चुनावको घोषणा र सम्भावित चुनौतीका बारेमा ती समाचारका विषय बनेका छन् । 

चिनियाँ सञ्चार संस्था सिजिटिएनले शनिबार मात्र जेनजी आन्दोलनले नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको कुरालाई महत्व दिएको छ । ‘एसिया न्युज ¥याप नेपाल गेट्स फस्र्ट फिमेल प्राइम मिनिस्टर एन्ड मोर...’ भनेर विश्लेषणसहित छापेको समाचारमा प्रधानमन्त्री नियुक्तिपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीलाई स्वागत गर्दै गरेको फोटो छापेको छ । यसअघि पनि जेनजी प्रदर्शनले नेपालमा ल्याएको परिवर्तन र घटनाक्रम समेटेर निरन्तर समाचार प्रकाशन गरेको थियो 

सिएनएनको खोजी समाचार

शनिबार सिएनएनले अहिलेसम्म कसैको ध्यान नगएको समाचारलाई शीर्ष समाचारका रूपमा छापेको छ । ‘जेनजीका प्रदर्शनकारी मङ्गा समुद्री डाकुको झन्डामुनि एकत्रित हुँदै’ शीर्षकमा लेक्स हार्भेले लेखेको समाचारमा जेनजी समूहले प्रदर्शनीका क्रममा बोकेको प्लेकार्डमा देखिएको चित्र मङ्गा समुद्री डाकुले प्रयोग गर्ने झन्डाको भएको दाबी गरेको छ । जसमा कालो कपडामा पहेँलो ह्याट लगाएको सेतो मुर्कुट्टाले रातो फेटा बाँधेको चित्र रहेको छ । जुन जेनजी समूहले गरेको प्रदर्शनकारीले बोकेको प्लेकार्डमा पनि देखिएको छ । त्यो कागजलाई सिंहदरबार जलाएपछि पश्चिमतर्फको सुनौलो गेटमा टाँसिएको ठुलो फोटो सिएनएनले छापेको छ । जसको माथिपट्टि नेपाली झन्डा फहराइरहेको छ ।