• ६ चैत २०८२, शुक्रबार

महोत्सवमा सात जातिको मौलिक घर मुख्य आकर्षण बन्दै

blog

महोत्सव स्थलमा बनाइएको घर । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, चैत ६ गते ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारामा आजबाट सुरु हुन लागेको ‘पाँचौँ शुक्लागण्डकी महोत्सव’ मा सात जातिका परम्परागत मौलिक घरहरू निर्माण गरिएका छन् । आधुनिक कङ्क्रिटका संरचनाले गाउँघरको मौलिकता हराउँदै गइरहेका बेला आयोजकले गुरुङ, कुमाल, मगर, भुजेल, तामाङ, नेवार र राई समुदायका प्राचीन वास्तुकला झल्कने घरहरू प्रदर्शनमा राखेका हुन् ।

भानुभक्त बहुमुखी क्याम्पसको खेल मैदानमा आयोजना हुने यस महोत्सवमा आगन्तुकहरूले एउटै थलोबाट विभिन्न जनजातिको रहनसहन, प्राचीन निर्माण सामग्री र सांस्कृतिक विविधताको प्रत्यक्ष अनुभूति गर्न पाउनेछन् । नयाँ पुस्तालाई आफ्ना पुर्खाको जीवनशैली र सांस्कृतिक अभ्यासबारे जानकारी गराउने उद्देश्यले यी घरहरू निर्माण गरिएको आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष समुन्द्रराम श्रेष्ठका अनुसार महोत्सवमा ती जातीय घरहरूभित्र सम्बन्धित समुदायको मौलिक भेषभूषा र खानपानको समेत प्रदर्शनी गरिनेछ । “आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्धन’’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको यस महोत्सवमा १७५ वटा व्यावसायिक स्टलहरू रहेका छन् ।

महोत्सवमा जातीय घरहरूका अतिरिक्त सांस्कृतिक झाँकी प्रदर्शनी, दगाम भुजीकोट अवलोकन र मिलेनियम ट्रेक पदयात्रा जस्ता पर्यटकीय गतिविधि पनि समावेश गरिएको आयोजकले जनाएको छ । करिब दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको यस महोत्सवले आर्थिक मन्दीका कारण सुस्ताएको स्थानीय बजारलाई चलायमान बनाउने र पर्यटन प्रवर्धनमा कोशेढुङ्गा सावित हुने अपेक्षा अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।