जनार्जन खत्री
सर्लाही, चैत ६ गते । ‘सर्भर’ नचल्ने समस्या बारम्बार आइरहँदा सर्लाहीका मालपोत र नापी कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राही हैरान भएका छन् । जिल्लाको हरिवन, बरहथवा र मलङ्गवामा रहेका मालपोत तथा नापी कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीले सर्भर ढिलो चल्ने र लामो समयसम्म चल्दै नचल्ने समस्याका कारण हैरानी पाएका हुन् ।
मालपोत कार्यालयको भू–अभिलेख सूचना व्यवस्था प्रणाली (एलआरआइएमएस) र नापी कार्यालयको नेपाल भूमि सूचना प्रणाली (नेलिस) बारम्बार अवरुद्ध हुने समस्याले सेवाग्राही सास्ती बेहोर्न बाध्य भएका हुन् ।
जग्गा रोक्का, फुकुवा, जग्गा पास, कित्ता एकीकरण, अङ्शबण्डालगायत कामका लागि पुगेका सेवाग्राही सर्भरको समस्याले दिनभर काम नहुँदा निराश भइ घर फर्कन बाध्य भएका छन् । सर्भर नचल्दा एउटै कामका लागि दुई÷तीन दिनसम्म मालपोत र नापी कार्यालय धाउने सेवाग्राही धेरै भेटिन्छन् ।
मालपोत कार्यालय हरिवनमा भेटिएका हरिवन नगरपालिका–४, सासापुरका अम्बरबिक्रम भण्डारीले सर्भरको समस्याले घण्टौँ लाइनमा बस्नुपरेको गुनासो गर्नुभयो । “सर्भरको समस्याका कारण अनलाइनबाट एकैछिनमा हुने कामका लागि दिनभर नै कुरेर बस्नुपर्यो,” भण्डारीले भन्नुभयो, “अनलाइनबाट फटाफट काम हुँदा सहज त हुन्थ्यो तर दिनभर नै सर्भर नचल्ने समस्याले झन धेरै सास्ती पाइयो ।”
हरिवनस्थित मालपोत र नापी कार्यालयमा बुधबार र बिहीबार दिनभर नै सर्भरको समस्या देखियो । एक घण्टामा हुने काम सर्भरको समस्याले दिनभर कुरेर बस्दा पनि नभएपछि सेवाग्राही रित्तो हात घर फर्कन बाध्य भए ।
महिला साना किसान कृषि सहकारी संस्था ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरका व्यवस्थापक विजयकुमार बोहोराले संस्थाका शेयर सदस्यको काम लिएर बिहीबार दिनभर मालपोत कार्यालय हरिवनमा गएर बसे पनि काम नभएपछि रित्तो हात फर्कनुपरेको गुनासो गर्नुभयो । “जग्गा रोक्का र फुकुवाका कामका लागि दिनभर नै बसियो तर सर्भर नचलेपछि बेलुका अबेर त्यसै फर्कनुप¥र्यो,” बोहोराले भन्नुभयो, “कार्यालयको काम छाडेर मालपोत कार्यालय आएर दिनभर आएर बस्दा पनि कुनै उपलब्धि हुन सकेन ।”
दुई दिनदेखि मालपोत कार्यालय हरिवनमा निरन्तर धाइरहनुभएका लालबन्दी नगरपालिका–१७, रानिगन्जका पूर्व वडाध्यक्ष नवराज अधिकारीले सर्भरलाई भरपर्दो नबनाए सेवाग्राहीले यसैगरी, दुःख पाइरहने अवस्था रहेको बताउनुभयो । जग्गा फुकुवाको कामका लागि दुई दिनदेखि मालपोत कार्यालय धाइरहनुभएका अधिकारीले सबै काम माया मारेर मालपोत कार्यालय आइरहनुपर्दा अन्य काम चौपट भएको गुनासो गर्नुभयो ।
मालपोत कार्यालय हरिवनका मालपोत अधिकृत प्रकाश श्रेष्ठले सर्भरमा आएको समस्याबारे भूमि व्यवस्था तथा अभिलेख विभागमा निरन्तर गुनासो राखिरहेको बताउनुभएको छ । “सर्भरको समस्या अहिले देशव्यापी नै छ,” मालपोत अधिकृत श्रेष्ठले भन्नुभयो, “सर्भर सञ्चालन र नियन्त्रणको काम विभागबाटै हुने भएकाले हाम्रो हातमा हुँदैन । यताबाट गर्नुपर्ने ताकेता त गरिरहेकै छौँ ।”
बेलाबेलामा सञ्चालन हुने र रोकिनेक्रम जारी नै रहेकाले सेवाग्राहीलाई पर्खिनुस् भन्नुको विकल्प नै नरहेको मालपोत अधिकृत श्रेष्ठको भनाइ छ । गएको असारमा लगातार तीन दिन सर्भर नचल्दा सूचना नै जारी गरिएको भए पनि अहिले त घरी चल्ने घरी नचल्ने भइरहेकाले सूचना जारी गर्न पनि नसकिएको मालपोत अधिकृत श्रेष्ठले बताउनुभयो ।
मालपोत कार्यालय मलङ्गवाका प्रमुख नितेशकुमार झाले सर्भरको समस्याले गर्दा काम थुप्रिएर बसेको बताउनुभयो । “सर्भर हाम्रो हातमा छैन्, अवरुद्ध हुनासाथ काम रोकेर बस्नुको विकल्प नै हुँदैन्,” झाले भन्नुभयो, “एक दिन सर्भरमा समस्या आयो भने अर्को दिनका लागि काम खप्टिएर भ्याइनभ्याइ पर्छ ।”
सर्भरको समस्याका कारण बारम्बार नापी र मालपोत कार्यालय धाउनुपर्दा अन्यत्र अत्यावश्यक काम रहेका सेवाग्राही, अशक्त र वृद्धवृद्धा थप मारमा परेका छन् । सर्भर चल्ने आशमा सेवाग्राही घण्टौँ उभिएर बसेको भेटिन्ट ।
टाढाबाट सेवा लिन पुगेका सेवाग्राही एउटा कामका लागि दिनहुँ धाइरहनुपर्दा गाडी भाडा, खाना, खाजालगायत अतिरिक्त खर्चको मारमा परेका छन् । सर्भर नचल्दा भोग्नुपरेको पीडा सेवाग्राहीले कर्मचारीमाथि पोख्ने गरेका छन् ।
नापी कार्यालय हरिवनका प्रमुख श्रीराम जोशीले सर्भरमा आएको समस्याले नियमित काम गर्न समस्या परिरहेको गुनासो गर्नुभयो । “सर्भर नचलुन्जेल हामी पनि कुरेर बस्ने र सेवाग्राहीलाई पनि कुराउनु वा अर्को दिन आउनुस् भन्नुको विकल्प नै रहेन,” प्रमुख नापी अधिकृत जोशीले भन्नुभयो, “अहिले सबैजसो काम अनलाइनबाटै हुने भएकाले सर्भर नचल्दा त सबै काम रोकिने नै हुन्छ ।”