राजन रावत
हुम्ला, चैत ६ गते । हिमाली जिल्ला हुम्लाका सातवटा गाउँपालिकाका ७१३ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर (एचपिभी) विरुद्ध खोप लगाइने भएको छ। खोप अभियान चैत्र १० गतेदेखि १५ गतेसम्म जिल्लाभरका ५२ वटा खोप केन्द्रमा सञ्चालन हुनेछ।
बिहीबार उक्त खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम जिल्ला खोप समन्वय समितिका सदस्य र सञ्चारकर्मीका लागि आयोजना गरिएको थियो। स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख चिकित्सक भिमबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच दिनसम्म चल्ने यस कार्यक्रमले १०–१४ वर्ष उमेर समूहका कक्षा ६–१० मा अध्ययनरत किशोरीलाई लक्षित गरेको छ।
नाम्खा गाउँपालिकाका २३, सिमकोटका १५९, खार्पुनाथका ११०, सर्केगार्डका १२७, चंङ्खेलीका ७२, अदानचुलीका १०७ र ताँजाकोटका ११५ जना किशोरीलाई खोप लिइने भएको हो।
जिल्लाभर ५८ वटा विद्यालयमा अध्ययनरत उक्त उमेर समूहका किशोरीलाई खोप लगाइनेछ। नाम्खा गाउँपालिका–६, हिमालपारी लिमीका खोप केन्द्रमा लक्षित वर्गका किशोरीहरू उपस्थित नहुँदा त्यहाँ खोप कार्यक्रम स्वास्थ्यकर्मी एकजना र स्वयमसेवक दुईजनाको उपस्थितिमा सञ्चालन हुनेछ।
अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्मा, उपप्रमुख दलु फडेरा, सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, गुल्मपतिहरि बाबु श्रेष्ठलगायत सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीहरू उपस्थित थिए।
विद्यालय बाहिर रहेका किशोरीको हकमा खोप कार्यक्रम सम्पन्न भएपछि स्वास्थ्य चौकीमा खोप लगाइनेछ। यसका लागि जिल्लामा ९४० डोज भ्याक्सिन उपलब्ध गराइएको छ।