रामकृष्ण बोहरा
बागलुङ, चैत ६ गते । सदरमुकाम बागलुङ बजारमा स्थापना गरिएको जिल्ला आर्थिक गणना कार्यालयले काम थालेको छ । देशभर गरिने आर्थिक गणनाका लागि जिल्ला तहमा पनि कार्यालय स्थापना गरिएको हो । गणनाको लागि २०८३ वैसाख २ देखि असार ७ गतेसम्म स्थलगत तथ्याङ्क सङ्कलन गर्ने कार्यतालिका छ ।
तोकिएको ढाँचामा गरिने गणनाबाट देशभरको यथार्थ आर्थिक तथ्याङ्क आउने विश्वास गरिएको छ । विशेषगरी देशको अर्थतन्त्रको अवस्था पत्ता लगाउने र आर्थिक नीति निर्माणमा सहयोग पु¥याउने तथा कुल गार्हस्थ उत्पादन (जिडिपी) थाहा पाउन आर्थिक गणना गर्न लागिएको जिल्ला आर्थिक गणना अधिकारी चन्द्रकान्त सुवेदीले जानकारी दिनुभयो ।
कार्यालयमा ५ जना सुपरिवेक्षक र ३१ जना गणकसहितका ४३ जना जनशक्ति कार्यरत रहने छन् । केन्द्रीय तथ्याङ्क विभागमार्फत छनोट भएका सुपरिवेक्षक तथा गणक जिल्ला तहको जिम्मेवारीमा छन् । सुवेदीका अनुसार, छनोट भएका सुपरिवेक्षक र गणकहरुलाई आगामी चैत २६ देखि ३० गतेसम्म अभिमुखीकरण तालिम प्रदान गरी जिल्लाका दशवटै स्थानीय तहमा तथ्याङ्क सङ्कलनको लागि परिचालन गरिने छ ।
जिल्लामा बागलुङ, गलकोट, जैमिनी, ढोरपाटन, काठेखोला, बडिगाड, निसीखोला, तमानखोला, ताराखोला र बरेङ गरी दश पालिका छन् । ‘‘स्थानीय तहमा खटिने सुपरिवेक्षक तथा गणकले आर्थिक वस्तुस्थितीको यथार्थ तथ्याङ्क संकलन गर्ने काम गर्नेछन्’’ बिहीबार आयोजित पत्रकार अन्तरक्रियामा सुवेदीले भन्नुभयो ।
सुवेदीका अनुसार, व्यवसायिक प्रतिष्ठानहरुको उत्पादन, आयात र निर्यातको यथार्थ विवरण तयार गरी कुल गार्हस्थ उत्पादनको तथ्याङ्क निकाल्न यो गणना गर्न लागिएको हो । विशेषगरी व्यवसाय, कृषि उत्पादन, आय–व्यय र आंशिक तथा दिर्घकालिन रोजगारीको अवस्थालाई आर्थिक गणनाले देखाउने सुवेदीको भनाई थियो ।
‘‘आर्थिक गणनाले देशको कुल गार्हस्थ उत्पादन पत्ता लगाउन सकिन्छ, सोही आधारमा आगामी आर्थिक नीति निर्माणमा सहयोग पुग्छ’’ सुवेदीले भन्नुभयो, ‘‘कृषि र गैरकृषि क्षेत्रबाट पाएको रोजगारी, त्यसले आश्रित परिवारको तथ्यांक समेत गणनामा देखिनेछ ।’’
यो गणनालाई प्रभावकारी बनाउन जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आर्थिक गणना सुपरिवेक्षण समिति, पालिका प्रमुखको संयोजकत्वमा पालिका सुपरिवेक्षण र वडा तहमा कार्यान्वयन समिति बनाइएको छ । यि संयन्त्र प्रयोग गरेर निकालिने आर्थिक गणनाले राज्यको यथार्थ विवरण बाहिर आउने सुवेदीले विश्वास व्यक्त गर्नुभयो ।
२०७५ साल वैशाखमा गरिएको पहिलो आर्थिक गणनामा बागलुङमा आठ हजार नौ सय दर्ता भएका फर्म तथा प्रतिष्ठानको मात्र गणना भएको थियो । ‘‘त्यतिबेला झण्डै ५० प्रतिशत व्यवसाय दर्ता नभएकोले पुरा तथ्याङ्क नआएको हुनसक्छ, स्थानीय तह गठनपछि व्यवसाय दर्ताको क्रम चलेकोले यथार्थ तथ्याङ्क आउँछ’’ सुवेदीले भन्नुभयो ।