काठमाडौँ, असोज १४ गते । बिदेसिएका नेपाली नागरिकहरू दसैँ, तिहार र छठसहितका चाड मनाउनका लागि धमाधम स्वदेश फर्कने क्रम अझै जारी छ । विगत १५ दिनयता मात्र एक लाखभन्दा बढी नेपाली नागरिक स्वदेश फर्किएको अनुमान अध्यागमन विभागले गरेको छ ।
विशेष गरी श्रम गन्तव्य मुलुकहरूमा कामका लागि गएका नेपालीहरू दसैँसहितका पर्व मनाउन घर फर्केका हुन् । अध्यागमन विभागका अनुसार विगत करिब एक महिनायता घर फर्कने नेपालीको सङ्ख्या उल्लेख्य मात्रामा बढ्दो छ । असोज १ गतेदेखि नेपालीहरूको आगमनले उच्चता पाएको छ । विभागका निर्देशक टीकाराम ढकालका अनुसार हरेक दिन विदेशबाट आउने विमानहरू नेपाली नागरिकले खचाखच रहने गरेका छन् । विभागको आगमन र बहिर्गमनको तथ्यले पनि जानेभन्दा आउनेको सङ्ख्या हरेक दिन जसो दोब्बरले बढ्दै गएको देखाउँछ ।
ढकालका अनुसार आइतबार मात्र त्रिभुवन विमानस्थलबाट १० हजार ३९८ जना विदेशबाट आएकामध्ये सात हजार ४४८ जना नेपाली थिए । यीबाहेक मेची नाका, वीरगन्ज, भैरहवा र कोदारी नाका हुँदै स्वदेश फर्कने नेपालीको सङ्ख्या पनि उच्च रहेको छ ।
त्यसअघिका दिनहरूमा पनि सोही हाराहारीमा नेपाली नागरिकहरू विदेशबाट नेपाल फर्कने गरेका छन् । यो व्रmम टीकाको अघिल्लो दिनसम्म पनि कायम रहने छ । ढकालले भन्नुभयो, “नेपालीहरूको महान् चाड भनेर दसैँलाई नै मानिन्छ, कामका लागि गएको दुई वर्ष वा त्योभन्दा बढी वर्षहरू परिवारबाट टाढा रहन कसलाई मन लाग्छ, त्यही नियास्रो मेट्ने अवसर पनि दसैँ हो ।”
घरपरिवारको आवश्यकता पुरा गर्न बाध्यताले बिदेसिएका आफ्ना छोरानाति, भाइभतिज र छोरीहरूको पर्खाइमा धेरै दसैँहरू आफन्तका लागि बिलिनो हुने गर्छ । टिकट नपाएकाहरू पूर्णिमासम्म भए पनि घर पुगेर ठुलाबडाको आशीर्वाद थाप्ने मनसायले विदेशमा पालो पर्खिरहेको अनुमान गरिएको छ ।
दसैँको आसपासमा आउन नपाएकाहरू तिहार र छठ मनाउनका लागि भए पनि टिकटको जोहो गर्नका लागि अहिलेदेखि नै लागिपरेका नेपालमा रहेका आफन्तहरूले बताएका छन् । तराईमा दसैँ र तिहारभन्दा बढी छठपर्वको रौनक हुन्छ । मधेश प्रदेशका धेरै जसो युवा छठमा घर फर्कने तयारीमा छन् ।
श्रम गन्तव्य देशहरू कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, मलेसिया, जापान, कोरिया, रोमानियाँलगायतका देशमा नेपालीहरू तीस लाखभन्दा बढीको सङ्ख्यामा रहेको अनुमान छ । अध्ययन र कामकै लागि अस्ट्रेलिया, अमेरिका, युरोपका विभिन्न मुलुकमा रहेका नेपालीका परिवारका सदस्य पनि मौका मिलाएर स्वदेश फर्कने गरेका छन् । अमेरिकामा रहेकी सिर्जना न्यौपाने भन्नुहुन्छ, “म आफू जान नपाए पनि छोरी र छोरालाई दसैँतिहारका लागि नेपाल पठाउँदै छु ।” ती मुलुकहरूमा परिवारसहित बसेकाहरूलाई सपरिवार एकैचोटि फर्कन आवतजावतको महँगो खर्चले अप्ठ्यारो पर्ने गरेको उनीहरूको अनुभव छ तर पालैपालो हरेक वर्ष मूल घर पुगेर बडाको हातबाट टीका थाप्नु नेपाली संस्कार र संस्कृतिसँगै माटोसँग नजिक हुने अवसरका रूपमा लिएर स्वदेश फर्कन लालयित हुने गरेको पाइन्छ ।
अलि अघि फर्केकाहरूले गाउँघर पुगेर बाल्यकाल सम्झँदै लिङ्गेपिङ, रोटेपिङ हालेर गाउँको रौनक बढाइसकेका छन् । विदेशमा काम गर्दाको गाह्रो सजिलो र रमाइला पलहरूको बयान साथीभाइमाझ साटासाट गरिरहेका छन् । स्वदेशमा राम्रो काम नपाउँदाको गुनासो सुनाउँदै कतिपय युवा विदेशमा कसरी काम गर्न जाने भन्ने सिको गर्न थालेका छन् । वैदेशिक रोजगार विभागले भने विभागमा दर्ता गरेका रोजगारदाता कम्पनीले आह्वान गरेको कामको आवेदन मात्र भर्न सुझाएको छ । जानुअघि आफूलाई आवश्यक पर्ने सिप स्वदेशमै सिकेर जान र अप्ठ्यारो पर्दा कहाँ र कसरी सम्पर्क गर्ने, कागजातहरू सुरक्षित राख्नेलगायतका गुणहरू सिकेर जान पनि विभागले सुझाएको छ ।