काठमाडौँ, असोज १० गते । विश्वका विभिन्न मुलुकमा युद्ध र द्वन्द्व कायम रहँदा खुला सिमानाको फाइदा उठाउँदै नेपाल आएर यहीँ बस्ने क्रम बढेको तथ्य पाइएका छन् । अध्यागमनको तथ्याङ्कले युक्रेन, अफगानिस्तान, सुडान, इराक, बङ्गलादेश, बर्मालगायतका देशबाट नेपाल आएर शरणार्थीका रूपमा दर्ता भई यतै बस्ने गरेको देखिएको हो ।
गत वर्ष चैत ८ गते कैलालीको घोडाघोडीस्थित सिमली जङ्गलमा विदेशी नागरिकको ठुलो समूह बसोवास गरिरहेको अवस्थामा फेलापरेका थिए । करिब डेढ सय जनाको ठुलो समूह कहाँबाट त्यसरी त्यहाँ पुगेर जङ्गलमा बस्न पुगे भनेर ठुलै हल्लीखल्ली मच्चियो । बल प्रयोग गरेरै उनीहरूलाई धपाउनुपर्ने अवस्था सिर्जना भएको थियो ।
विदेशी नागरिक नेपाल आएर भिसा समयभन्दा बढी बसेर लुटपाट, जबरजस्ती करणी, लागुऔषध प्रयोगलगायतका आपराधिक गतिविधिमा संलग्न हुन थालेका घटना प्रहरीमा गत वर्ष बढ्न थालेको प्रहरी प्रतिवेदनले पनि औँल्याएका छन् । यिनै विभिन्न घटना दृष्टिगत गर्दै अध्यागमन विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली कार्यान्वयनमा ल्याएको छ । विभागले यही असोज १ गतेबाट लागु हुने गरी प्रणाली जडान सुरुवात गरेको हो ।
सुरक्षा चुनौती कम हुने
विभागका अनुसार अध्यागमन ऐन, २०४९ तथा नियमावली, २०५१ अनुसार नेपालभित्र विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानलाई कडाइसाथ नियमन गर्ने उद्देश्य लिइएको छ ।
विभागका निर्देशक तथा सूचना अधिकारी टीकाराम ढकालका अनुसार यस प्रणालीले यात्रुको स्वतन्त्र र सुरक्षित आवागमनसँगै नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा र राष्ट्रिय आत्मसम्मान अभिवृद्धि, पर्यटन प्रवर्धन र वैदेशिक लगानी प्रवर्धनका लागि मुलुकभित्र हुने सबै आवागमन र गतिविधि राज्यको जानकारीमा रहनु पर्छ ।
नेपाल पक्षराष्ट्र रहेका अन्तर्राष्ट्रिय कानुन र प्रबन्धले सबै सदस्य राष्ट्रलाई अध्यागमनसम्बन्धी अभिलेख व्यवस्थापन गर्ने दायित्व सिर्जना गरे पनि नेपालले त्यो पूर्ण रूपमा यसअघि कार्यान्वयनमा ल्याउन सकेको थिएन । उहाँले भन्नुभयो, “विगत पाँच वर्षदेखि सूचनालाई कसरी सुरक्षित बनाउन र अभिलेखीकरण गर्ने भन्ने प्रयासलाई यो वर्षदेखि सार्थक बनाएका छौँ ।”
नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली विकास गरेको विभागले प्रस्ट पारेको छ ।
यस प्रणाली कार्यान्वयनमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोवास तथा गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्दा आपतकालीन अवस्थामा खोज उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने निर्देशक ढकालले बताउनुभयो । कतिपय अवस्थामा नेपाल घुम्न आएका पर्यटक बिचमै हराउने गर्दा समस्या हुने गरेका छन् । ट्र्याकिङ प्रणालीमा दर्ता भएको खण्डमा ती पर्यटक गएको रुटमा खोजी तथा उद्धार गर्न पनि सहज हुने दाबी उहाँले गर्नुभयो ।
प्रणालीलाई पहिलो चरणमा असोज १ गतेदेखि काठमाडौँ उपत्यकाभित्रका तारे होटलमा अनिवार्य रूपमा लागु गर्ने गरी कार्यान्वयनमा ल्याइएको छ । तर गत साता काठमाडौँ उपत्यकासहित देशभर भएको जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिमा कतिपय होटलमा आगजनी र तोडफोडले क्षति पुगेकाले तत्कालका लागि सबैमा अनिवार्य गरिएको छैन । ढकालले थप्नुभयो, “काठमाडौँका एकाध होटलमा मात्र क्षति भएकाले अन्यत्र प्रणाली जडान अनिवार्य गर्न ताकेता गरिरहेका छौँ ।”
होटल एसोसिएसन नेपालको आग्रहमा थोरै समयका लागि थाती रहे पनि छिट्टै विस्तार गर्ने तयारीमा विभाग छ । हालसम्म काठमाडौँको दुई वटा तारे होटल, पोखराको एक र काभ्रेको एक होटल गरेर चार वटा होटलमा विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली जडान भइसकेको सूचना प्रविधि शाखाका कम्प्युटर इन्जिनियर सन्तोषकुमार शाहले बताउनुभयो ।
दोस्रो चरणमा आगामी मङ्सिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्जरमा यो प्रणाली जडान हुने विभागले जनाएको छ । त्यसपछि सबै प्रकारका होटल, गेस्टहाउस र अन्य सार्वजनिक तथा निजी संस्थामा पनि प्रणाली जडान हुने छ ।
उक्त प्रणाली कार्यान्वयन सम्बन्धमा अनुगमन गर्न ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयस्थित अनुगमन समितिलाई विभागले पत्राचार गरेर अनुगमनका लागि सघाउन भनिएको छ ।