• २ कात्तिक २०८२, आइतबार

पहिरोपीडितका लागि स्थायी पुनर्वास

blog

साहारा लिम्बू

फुङलिङ (ताप्लेजुङ), कात्तिक २ गते । मैवाखोला गाउँपालिकाका पहिरोपीडितका लागि स्थायी पुनर्वासका लागि बाटो खुलेको छ । शुक्रबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले स्थायी पुनस्र्थापनाको प्रक्रियालाई स्वीकृत गरेसँगै बाटो खुला भएको हो । 

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले अब स्थायी पुनर्वासका लागि बाटो खुला भएको बताउनुभयो । उहाँका अनुसार चाँडै जग्गा खरिद र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सहित आवास निर्माण अघि बढाइने छ । 

उक्त परियोजना मैवाखोलाको नमुना परियोजना हुने भएकोले केही समय लाग्ने हुँदा धैर्य रहन पनि वनेमले आग्रह गर्नुभयो । गाउँपालिकाले निरन्तर मेहनत गरेर स्थायी पुनस्र्थापनाको प्रक्रिया अघि बढाइरहेको थियो । सोही क्रममा यसअघि पालिकाले भूर्गभविद्सहितको विज्ञ टोलीको स्थलगत रूपमा अध्ययनसहितको प्रतिवेदन राष्ट्र विपत् जोखिम न्यूनीकरण तथा स्थायी पुनस्र्थापनाको प्रक्रिया अघि बढेको हो ।

बैठकले मैवाखोला गाउँपालिका–३ र ४ मा रहेका ओदक, एकबाँसे र ताम्राङ बस्तीका ६५ परिवारलाई त्यही गाउँपालिका–३ को साँघुमा स्थानान्तरण गर्ने निर्णय गरेको छ । विसं २०८० असार ३ गते राति भीषण वर्षासँगै आएको  पहिरोले ६५ परिवार विस्थापित भएका थिए । उहाँहरूलाई हाल मैवाखोला–३ को साँघुस्थित निर्माणाधीन मदन भण्डारी रङ्गशालामा अस्थायी आवास निर्माण गरेर राखिएको छ ।