काठमाडौँ, माघ १६ गते । “सहिदको सम्मान सरकार र पार्टी दुवैले गर्नुपर्छ, एउटाले मात्र गरेर पुग्दैन । पार्टी व्यवस्था अन्तर्गत पार्टी सञ्चालन गरिरहेका र आन्दोलन भइरहेका बेलामा सहिद हुनुभएका साथीलाई सरकार र आन्दोलनकारी सबै नेपाली जनताले सम्मान दिनुपर्छ भन्ने मलाई लाग्दछ”, पुराना वामपन्थी नेता मोहनचन्द्र अधिकारीले भन्नुभयो, “वास्तवमा कम्युनिष्टको सरकार होस् कि, कांग्रेसको, जुन सरकार आए पनि जनतालाई कुनै पनि सहयोग भएन ।”
सहिद दिवसको अवसरमा गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै नेता अधिकारीले सहिदले गर्दा नै नेपाल देश स्वतन्त्ररूपमा रहेको र उनीहरूको बलिदानी कदमले नै प्रजातन्त्र, अग्र समाजवाद र गणतन्त्रको कल्पना गरिएको बताउनुभयो ।
नेता अधिकारीले भन्नुभयो, “सर्वप्रथम, सहिदहरू दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीजी उहाँहरूको बलिदानीले नेपालको राजनीतिक अधिकार स्वतन्त्रताका निम्ति राणातन्त्रलाई निमिट्यान्न पारेर आफ्ना प्रजातान्त्रिक अधिकार बहाली गरिछाडेका छौँ।” उहाँले मुख्य ती चार सहिदसँगै प्रजातान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सबै सहिदप्रति स्मरण गर्नुहुँदै सम्मान व्यक्त गर्नुभयो ।
“अहिले कम्युनिष्ट पार्टीको राज्य जस्तो हुनुपर्ने थियो तर, त्यस्तो नभएकोले मेरो विचारमा फेरि उठ्नुपर्छ कि जस्तो मलाई लाग्छ”, उहाँले भन्नुभयो, “किनभने, जुन उद्देश्य लिएर हामी लडेका थियौं, सहिदले शहादत प्राप्त गर्नुभयो, त्यसको कुनै मूल्याङ्कन भएको छैन ।”
उहाँले झापा आन्दोलन र सुखानी काण्डका पाँच सहिदको स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, “म आफ्नै कुरा गरौं भन्दाखेरी मलाई पनि फाँसी नमागेको होइन । तर, मैले प्रष्ट त्यतिबेला भनेको थिएँ, गोली हान्न सक्छौ भने अहिले हान । नभए, कोटले फैसला गरेर मलाई मार्ने छैन र त्यस्तो कोट बनेको छैन, नेपालमा बन्नेवाला पनि छैन ।”
“जनताको पीर, मर्का हटाइएन, जनतालाई दिनुपर्ने राहत दिइएन”, उहाँले भन्नुभयो, “वर्गीय दृष्टिकोणले हेर्दाखेरी कम्युनिष्ट पार्टी सर्वहारा वर्गीय पार्टी हुनुपर्थ्यो । तर, त्यो नभएर यो एउटा बुर्जुवा पार्टी भयो ।”
उहाँले देशमा लोकतन्त्र पुर्नस्थापना, देश विकास एवम् परिवर्तनका लागि सहिदले आफ्नो अमूल्य जीवन बलिदान गरेपनि सहिदको मार्गदर्शनमा नेतृत्व अगाडि बढ्न नसकेको भनाइ राख्नुभएको हो ।
सहिद दिवसको अवसरमा गोरखापत्र अनलाइनका लागि पुराना वामपन्थी नेता मोहनचन्द्र अधिकारीसँग सपना थामीले गर्नुभएको संवाद :
भिडियो : मनोजरत्न शाही र केशब गुरुङ