• १३ साउन २०८१, आइतबार

नेपालले टिमोर लिस्टे र ओमानसँग मैत्री फुटबल खेल्ने

blog

कतार जानुअघि विदाई कार्यक्रममा नेपाली टोली । तस्बिर : एन्फा

काठमाडौं, जेठ ११ गते । एएफसी एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले कतारको दोहामा टिमोर लिस्टे र ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाली टोली थप तयारीको लागि बुधबार (आज) साँझ दोहा प्रस्थान गर्दैछ । 

नेपाली टोलीले एसिया कप छनोटको तयारीका लागि कतारमा दुई देशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको हो । कतार फुटबल एसोसियनले दुई मैत्रीपूर्ण खेल्ने तालिका सार्वजनिक समेत गरेको छ ।

जस अनुसार नेपालले जेठ १४ गते टिमोर लिस्टे र जेठ २० गते ओमानसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि दोहामा नेपालले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो । तर अफागानिस्तानले अन्तिममा कतार आउन अस्वीकार गरे पनि उक्त खेल रद्ध भएको थियो । 

कप्तानको जिम्मेवारी नवयुगलाई 

मैत्री खेल र एसिया कप छनोटका लागि एन्फाले नेपाली टोलीको कप्तानको जिम्मेवारी नवयुग श्रेष्ठलाई दिएको छ । नेपाली टोलीका सिनियर खेलाडी रोहित चन्दसहित बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग असहमति जनाउँदै बिद्रोह गरेर प्रशिक्षण क्याम्प छाडेपछि टोलीमा नयाँ खेलाडीलाई मौका दिईएको छ । 

विदेशमा रहनुभएका यसअघिका नियमित कप्तान किर चेम्जोङले समेत विद्रोह गर्ने खेलाडीको पक्षमा समर्थन गरेपछि उहाँलाई पनि टोलीमा राखिएको छैन । प्रशिक्षक अल्मुताइरीले यसअघिनै २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसक्नुभएको छ । 

नेपाली टोली जेठ ११ देखि २० गतेसम्म कतारमा रहि अभ्यास र मैत्रीपूर्ण खेल खेलेर उतैबाट कुवेत जानेछ । एसिया कप छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ । तुलनात्मक रुपमा कठिन रहेको यस समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया छ ।  नेपालले समूहको पहिलो खेल जेठ २५ गते जोर्डन, २८ गते कुवेत र ३१ गते इन्डोनेसियासँग खेल्नेछ । 

समूहको शीर्षटोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपका लागि छनोट हुनेछ । नेपाली टोलीलाई मङ्गलबार नै युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले बिदाइ गर्नुभएको थियो । 

नेपाली टोली 

गोलरक्षक – दीप कार्की, विशाल सुनार र टिकेन्द्रसिंह थापा

रक्षक – विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल

मिडफिल्डर – आकाश बुढामगर, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुनिल बल र सुरज ज्यू ठकुरी

स्ट्राईकर – नवयुग श्रेष्ठ (कप्तान), आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की र मनीष डाँगी ।