• ११ वैशाख २०८३, शुक्रबार

भोजपुर गोल्डकपः आयोजक भोजपुर फाइनलमा

blog

टक्सार (भोजपुर), वैशाख १० गते । नवौँ भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा गत वर्षको विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ फाइनलमा प्रवेश गरेको छ । भोजपुरले एपिएफ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । 

भोजपुरका लागि खेलको २९औँ मिनेटमा दोर्जी तामाङ र ६५औँ मिनेटमा सञ्जय लिम्बुले गोल गरेका थिए । एपिएफका तर्फबाट कुनै  गोल हुन सकेन । आजको खेलको प्लेयर अफ दी म्याच भोजपुरका दोर्जी तामाङ घोषित भए । उनले रु पाँच हजार पुरस्कार पाए ।

शुक्रबार दोस्रो सेमिफाइनल खेल सातदोबाटो युथ क्लब ललितपुर र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजक संस्थाका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो । 

आठ टोली सहभागी रहेको प्रतियोगिताका खेल भोजपुर नगरपालिका–७, कोदारस्थित रङ्गशालामा खेलाइँदै छन् । प्रतियोगिताको विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः रु पाँच लाख र रु तीन लाख पुरस्कार प्राप्त गर्ने छन् । फाइनल खेल यही वैशाख १२ गते खेलाइने छ ।  रासस