• ११ वैशाख २०८३, शुक्रबार

बालबालिकाको क्षेत्रमा बजेट बढ्दै

blog

सुर्खेत समाचारदाता

सुर्खेत, वैशाख ११ गते । कर्णाली प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा पाँच प्रतिशत बजेट छुट्याएको छ । विगतको तुलनामा प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा बजेट बढाउँदै लगेको छ । कर्णाली प्रदेश सरकारसँगको समन्वयमा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बालविवाहविरुद्धको अभियान (सिसिआर) कर्णाली प्रदेशले तीन आर्थिक वर्षको बजेटलाई विश्लेषण गर्दा प्रदेश सरकारले लगानी बढाउँदै लगेको देखिएको छ  । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा जम्मा बजेटको पाँच प्रतिशतभन्दा धेरै बजेट छुट्याएको छ, जबकि विगतका वर्षमा यस्तो बजेट दुई प्रतिशतमा सीमित थियो । प्रदेश सरकारले विनियोजन गरेको आव २०८०/८१ देखि चालु आव २०८२/८३ सम्मको बजेटलाई विश्लेषण गरिएको थियो । यस अन्तर्गत आव २०८०/८१ मा प्रदेश सरकारले छुट्याएको पुँजीगततर्फको १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजारमध्ये ४९ करोड ४१ लाख ३३ हजार अर्थात् २.५२ प्रतिशत बजेट बालबालिकाको क्षेत्रमा विनियोजन गरेको थियो ।

त्यसै गरी आव २०८०/८१ मा १८ अर्ब ७५ करोड ५१ लाख ६८ हजार विनियोजित पुँजीगत बजेटमध्ये बालबालिकाका क्षेत्रमा ५८ करोड ९६ लाख ३५ हजार अर्थात् ३.१४ प्रतिशत बजेट विनियोजन भएको थियो भने चालु आवमा बालबालिकाको क्षेत्रमा बजेट वृद्धि भएको देखिन्छ । चालु आवमा एक अर्ब ७२ करोड ९८ लाख ७४ हजार अर्थात् ५.२४ प्रतिशत बजेट विनियोजन गरेको छ । विगतमा बालबालिकाको क्षेत्रमा बजेट न्यून छुट्याउने गरेको प्रदेश सरकारले पछिल्ला वर्षमा भने केही सुधार गरेको पाइएको सिसिआर कर्णाली प्रदेशका कार्यकारी निर्देशक टेकराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार बजेट विश्लेषण गर्दा बालअधिकारका क्षेत्रलाई समावेश गरिएको छ भने विद्यालय पूर्वाधार निर्माणलाई समेत बालबालिकाको क्षेत्रमा बजेट मानिएको छ । यसैबिच सिसिआर कर्णालीले हालै आयोजना गरेको कार्यक्रममा उनीहरूले बालबालिकामा लगानी गरे मात्रै समृद्धि हासिल हुने दाबी गर्दै तिनै तहका सरकारले त्यही अनुसारको योजना र कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका छन् ।