• १३ साउन २०८१, आइतबार

नेपाल–चीन सम्बन्धको उचाइ

blog

मित्रता, सहयोग र सांस्कृतिक, आर्थिक, सामाजिक तथा धार्मिक आदान–प्रदानका आधारमा नेपालको चीनसँगको सम्बन्ध लामो समयदेखि विकास हुँदै आएको छ । सन् १९५५ अगस्तमा दुई देशबीच कूटनीतिक सम्बन्ध कायम भएपश्चात् यो सम्बन्धले थप उचाइ लिँदै आएको हो । क्रय शक्तिका हिसाबले कुल गार्हस्थ्य उत्पादनमा चीन विश्वमै सर्वोच्च स्थानमा छ । सन् २०१७ मा चीन पर्यटन क्षेत्रमा आफ्ना नागरिकबाट विश्वमै सबैभन्दा बढी खर्च गर्ने देश बनेको छ । यस्तो महìवपूर्ण देशले नेपालसँग सौहार्दपूर्ण व्यवहार गर्दै दुईपक्षीय सम्बन्धको विकास गरिराखेको छ । द्विपक्षीय सम्बन्ध विस्तार र सुमधुर हुनुमा आर्थिक, राजनीतिक र सांस्कृतिक आधार मुख्य रूपमा देखिएका छन् ।

नेपालको आन्तरिक मामिलामा कुनै पनि प्रकारको हस्तक्षेप नगरी चीन सरकारले नेपालको विकास निर्माणमा निरन्तर सहयोग गर्दै आएको छ । दुई देशको विकास र समुन्नतिका लागि आपसी सहयोग विस्तार गर्न पूर्ण प्रतिबद्ध रही साझा रणनीतिकारका रूपमा दुवै देश प्रस्तुत भइराखेका छन् । नेपालले चीनसँगको सम्बन्धलाई अत्यधिक महìव दिएको छ । चीनको महत्त्वपूर्ण राजनीतिक विषयमा नेपालको समर्थन अकण्टक छ । नेपालले चीनको एक चीन नीतिलाई बिनासर्त स्वीकार र समर्थन गर्दै आएको छ । ताइवान र हङकङलाई चीनको अविछिन्न भूभागका रूपमा मान्दै आएको छ ।

तिब्बत र सिन्ज्याङका सन्दर्भमा चीनको आन्तरिक मामिला भएकाले यसमा नेपाल तटस्थ छ । चीनको सार्वभौमसत्ता र स्वतन्त्रतालाई सम्मान र समर्थन गर्दै आएको छ । नेपाली भूमिमा चीनविरुद्ध कुनै पनि प्रकारका गतिविधि हुन नदिन नेपाल दृढसङ्कल्पित छ । चीनले आफ्ना छिमेकी देशमध्ये सबैभन्दा पहिला २१ मार्च १९६० मा दुई देशबीच सीमा सम्झौता नेपालसँग गरेपश्चात् सम्बन्ध विस्तार गर्न सहज वातावरण बनेको र नेपालले चीनको यो उदारता र सौहार्दताको उच्च सम्मान गर्दै आएको छ । कोभिड–१९ को सङ्क्रमणमा विश्वका सबै देशको क्षमताको परीक्षण एकै पटक भयो । ठूलो क्षेत्र र अत्यधिक जनसङ्ख्या भएको देश हुँदै गर्दा पनि चीनले यो सङ्क्रमणको युद्धमा आफ्ना सम्पूर् जनशक्तिलगायतका स्रोतसाधन र संयन्त्रको परिचालन कुशलतापूर्वक गरी शासन व्यवस्थालाई प्रभावकारी तरिकाले सञ्चालन गर्न सफल भएको छ ।

यसमा चीनले आफ्नो अभूतपूर्व क्षमता प्रदर्शन विश्वसामु गरेको छ । सङ्कटको लडाइँमा सबैभन्दा प्रभावकारी व्यवस्थापनमा चीन अब्बल रूपमा प्रस्तुत हुन सफल छ । यो सङ्क्रमणले विश्वका सबै देशका जीवनशैलीलाई ठूलो चुनौती प्रदान गरेको थियो । नेपालजस्तो विकासशील देशमा यस्ता सङ्क्रमणको सामना गर्न असहज स्थिति बन्दै गएकोमा चिन्तित बनिराखेको र सङ्कटग्रस्त अवस्थामा अघि बढ्न सक्षम संयन्त्रको नेपालमा सर्वथा अभाव थियो । 

नेपाललगायत विश्वभर नै चीनले यस सङ्क्रमणबाट मानव जातिलाई बचाउन गरेको सहयोगलाई सबैले आत्मसात् गर्नुपर्छ । नेपाललाई चीनले ठूलो मात्रामा कोभिडविरुद्धको खोप र जीवन रक्षाका लागि आवश्यक पर्ने सामग्री प्रदान गरेको थियो र गरिराखेको छ । यसबाट पनि नेपालीको मनमस्तिष्कमा चीन असल मित्रका रूपमा प्रभाव पार्न सफल भएको छ । सङ्क्रमणको समयमा पनि चीनले लगानी गर्दै पर्यटन क्षेत्र र व्यापार व्यवसायलाई निरन्तरता दिई नेपालको बिग्रँदो अर्थतन्त्रलाई केही हदसम्म सहयोग गरेको हो । दुईपक्षीय पारस्परिक हितका विषयमा क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा दुवै देश एक भएर प्रस्तुति दिइराखेका छन् । यसबाट आपसी हित, विकासनिर्माण र क्षेत्रीय स्थायित्व कायम गर्नमा ठूलो सफलता मिलेको छ । 

चीनको प्राविधिक र वित्तीय सहयोग नेपालका लागि महìवपूर्ण देखिएको छ । विशेषगरी दुई देशका बीचको भौगोलिक र भौतिक सम्बन्ध जोड्ने क्रममा रेलमार्ग, हवाई मार्ग, सूचना प्रवाह, पाइप लाइन विस्तार, राजमार्ग र पर्यटन क्षेत्रमा हुँदै गरेका सहयोग उल्लेखनीय छन् । मानव संसाधनको विकास, स्वास्थ्य, शिक्षा, जलस्रोत, र खेलकुदका क्षेत्रमा सहयोग प्राप्त भइराखेको छ । नेपालमा पर्यटन क्षेत्रको जीवन्तता कायम गर्न, चिनियाँ लगानीको विस्तार गर्न, व्यापार व्यवसायलाई सुदृढ गर्न र उत्पादन क्षमताको विकास गर्न विशेष सहयोग प्राप्त हुनुपर्ने स्थिति छ । नेपालले यी क्षेत्रहरूलगायत क्षेत्रीय अक्षुण्णता, सार्वभौमसत्ता, स्वतन्त्रता र स्थायित्व एवं शान्ति कायम गर्ने सम्बन्धमा प्राप्त सहयोगको सम्मान गरिराखेको छ । यी क्षेत्रमा भइराखेको सहयोगको उचाइ बढाउने अपेक्षा गरिराखेको छ ।

चिनियाँ पक्षको पनि नेपालसँग केही अपेक्षा रहेका छन् । विशेषगरी तिब्बत, हङकङ, ताइवान, सिन्ज्याङ मामिलामा नेपालले सामाजिक स्थायित्व, राजनीतिक तटस्थता, निष्पक्षता, स्वतन्त्रताको निर्वाह गरी कतैबाट प्रभावित नभई स्वतन्त्र निर्णय गरोस् भन्ने इच्छा चीनले गरेको छ तर अन्य शक्तिले नेपाललाई समय–समयमा अनावश्यक प्रभाव पारिराखेकाले नेपालमा विकास निर्माणका लागि चीनले दिइराखेको सहयोगको सन्दर्भमा पनि नकारात्मक प्रभाव परिराखेको छ । आपसी हितका विषयमा केन्द्रित भई दुईपक्षीय सम्बन्ध विस्तार गर्न नेपाललाई कठिनाइ छ । 

नेपाल र चीनबीचको सम्बन्ध निरन्तर रूपमा, विस्तारै र स्वस्थ हिसावले विकास भइराखेको छ । दुई देशबीच शान्तिपूर्ण सहअस्तित्वका आधारमा मित्रता अघि बढिराखेको छ । दक्षिण एसियाली देशमा भुटानलाई छाडेर अन्य देशले चीनबाट जति सहयोग प्राप्त गरी आफ्नो उन्नति गरिराखेका छन्, त्यस अनुपातमा नेपाल अझै पछि परेको छ । नेपालसँग सहयोग लिने शैली र सीपको अभावका कारण निरन्तरता दिन कठिनाइ परिराखेको छ । यथासमयमा उपयुक्त निर्णय दिन सकेको छैन । राजनीतिक अस्थिरताका कारण विभिन्न दलका सरकारले चीनसँग अमुक कार्यक्रम र सहयोगका सन्दर्भमा गरिने सहकार्य प्रभावित बनिराखेका छन् । आफ्नो स्वार्थ, अपेक्षा र चासोका विषयलाई स्पष्ट रूपमा राख्ने क्षमता नेपालसँग कतिपय मामिलामा देखिएको छैन ।

नेपालले चीनसँग अन्य सार्क मुलुकका देशसरह सहयोग प्राप्त गरी लाभान्वित हुन महìवपूर्ण विषयमा राजनीतिक सहमति कायम गर्न सक्नुपर्छ । सहयोग र विकास निर्माणका सन्दर्भमा गरिने लगानीका विषयमा त्यसको उद्देश्य स्पष्ट गरी देशको स्थायित्व र आर्थिक विकासका सन्दर्भमा मतैक्यता कायम गर्नुपर्छ । चीनले सहयोग प्रदान गर्ने तरिका सुनिश्चित हुने गरी उद्देश्य र नीतिका बारेमा प्रस्ट भई नेपालले प्रथामिकता प्रदान गर्ने कार्यक्रमको स्पष्ट सूची तयार पार्नुपर्छ । यस्ता कार्यक्रमबाट सहयोगका क्रममा कुनै व्यवधान सिर्जना हुने खालका सर्त भए यथासमयमा नै त्यस सम्बन्धमा नेपालको अडान र धारणा प्रस्ट पार्न सक्नुपर्छ । सहयोगको निरन्तरता र प्रतिबद्धता हुनु जरुरी छ । सहयोग प्राप्त गरेपश्चात् ती आयोजनाको कार्यान्वयन कुशलतापूर्वक हुने प्रत्याभूति नेपालले गर्न सक्नुपर्छ । 

सैद्धान्तिक हिसाबले स्वीकार गरी सम्झौता गर्ने व्यवहारमा आफ्नो दायित्व पूरा गर्न नसकी सहयोग राशि खर्च हुन नसकेको मात्र होइन, नेपालले आफ्नो विश्वसनीयता नै गुमाउनेसम्मको अवस्था बनाएको पनि छ । चक्रपथ सुधार सम्बन्धमा नेपालले निर्माणस्थलमा काम गर्न सक्ने वातावरण बनाइदिनुपर्नेमा चक्रपथको क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य गर्न नसक्दा सो कार्य एक तृतीयांश मात्र पूरा भएको छ । १८ किमि सडकको चौडा बनाउने कार्यमा अहिले नेपाल सरकारले सहजीकरण गरिदिनु उचित हुन्छ । यस्तो अवस्थामा मात्र सम्झौता भएका आयोजना, परियोजना सुचारु हुनेछन् । चिनियाँ लगानीको सदुपयोग हुन सक्नेछ ।

अबको बाटो

नेपालले चीनको मार्ग भएर युरोप, दक्षिणपूर्व, उत्तर र केन्द्रीय एसिया तथा मध्य एसियामा सम्बन्ध विस्तार गर्नुपर्छ । यसका लागि चीन सरकारसँग भएको समझदारीअनुरूपको रेलमार्ग निर्माण भई सुचारु हुँदा सहज हुनेछ । सबै प्रकारका सम्बन्ध बाहिरी संसारसँग विकास गर्न रेलमार्गको निर्माणलाई नेपालले महìव प्रदान गर्नुपर्छ । नेपाली जनताको भलाइका दिशामा चिनियाँ सहयोग परिचालन गर्न विभिन्न क्षेत्र जस्तै– व्यापार, पारवहन, पर्यटन, लगानी र उत्पादन क्षमतामा वृद्धि गर्ने विषयलाई नेपालले सहयोग प्राप्त गरी रणनीति तय गर्नुपर्छ । यी प्रयासमा नेपालले विशेष जोड दिँदा मात्र आर्थिक वृद्धि र विकास एवं नेपालीको सर्वतोमुखी भलाइका लागि अवसर मिल्ने अवस्था सिर्जना हुनेछ । 

दुई देशको समुन्नतिका लागि समर्पित हुँदै रणनीति तय गर्नुपर्छ । शान्ति, स्थायित्व, विकासमा अर्थपूर्ण उपलब्धि प्राप्त गर्न दुई देशबीच पारस्परिक वार्ता, समझदारी, राजनीतिक विश्वास कायम गर्नुपर्छ । एकले अर्काका संवेदनशील विषय, स्वार्थ र चासोमा सकारात्मक भई सहयोगका लागि सधैँ तत्पर रहनुपर्छ । चीनसँग सहयोगको निरन्तरताका लागि नेपालले यसअघि भएका र अब हुने सन्धि, सम्झौता, समझदारीको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।

चीनले अत्यधिक प्राथमिकतामा राखेको बीआरआईको कार्यान्वयनमा नेपालले चासो दिनु जरुरी छ । क्षेत्रीय विकास, शान्ति र समुन्नतिका लागि चीनले नेपालका लागि भरपर्दो र इमानदार छिमेकीको हैसियतमा आफ्नो परिचय स्थापित गरिसकेको छ । भूपरिवेष्टित देशबाट भूसम्बन्ध (ल्यान्ड लिङ्कड) कायम गर्न रेलमार्गको निर्माण र कार्यान्वयनलाई जीवन रेखाका रूपमा महìव दिनु जरुरी छ । दुवै देशका आपसी स्वार्थका विषयमा खुला र इमानदारीसाथ अन्तर्राष्ट्रिय मञ्चमा समेत एकले अर्कालाई सघाउने, सहयोग र समर्थन गर्ने अवस्था विकास गर्नु अत्यावश्यक छ । यसबाट नेपालको समुन्नति मात्र नभई क्षेत्रीय शान्ति र स्थायित्वमा समेत मद्दत पुग्नेछ । 

Author

श्यामप्रसाद मैनाली