• ५ मंसिर २०८२, शुक्रबार

तरलता व्यवस्थापन चुनौती

blog

  • सुशासन र विश्वासको अभाव, प्रशासनिक झन्झटिला प्रक्रिया, भ्रष्टाचार, ढिलासुस्ती जस्ता कारणले लगानी बढ्न सकेको छैन । लगानी बढ्न नसक्दा उत्पादन वृद्धि हुन सकेको छैन । 
  • लगानीका आधार निर्माण गर्दैमा लगानी बढ्ने भने होइन । मुख्य कुरो उद्यमीको मनोभावना बढाउनु पर्छ । अहिले उद्योगी तथा व्यवसायीको मनोभावना बढाउन सकिएको छैन ।
  • अर्थतन्त्रले सही नीति र गति लिन नसकेकाले कहिले तरलता अभाव र कहिले अत्यधिक तरलता भएको देखिन्छ । यस्तो अवस्थाले अर्थतन्त्रलाई प्रभावकारी बनाउन सक्दैन ।

तरलता भन्नाले कुनै पनि आर्थिक सम्पत्ति सजिलैसँग नगदमा परिणत गर्न सकिने अवस्था हो । कुनै व्यक्ति, संस्था अथवा बैङ्क तथा वित्तीय संस्थासँग भएका आर्थिक सम्पत्तिलाई सजिलो किसिमले नगदमा परिवर्तन गर्न सकिन्छ भने त्यसलाई तरलता भनिन्छ । अर्थतन्त्रमा तरलताले ठुलो महत्व राख्छ । तरलताको विशेषता भन्नु नै कुनै पनि सम्पत्तिको मूल्य नघटाई नगदमा परिणत गर्न सक्ने क्षमता हुनु हो ।      

व्यक्तिगत जीवनमा जसरी तरलताको आवश्यकता हुन्छ, राज्यका लागि पनि त्यत्तिकै आवश्यक हुन्छ । कुनै व्यक्तिसँग नगदको अभाव छ भने उसले कुनै कार्यक्रम सञ्चालन गर्न सक्दैन र आधारभूत आवश्यकतासमेत पूरा गर्न सक्दैन । कुनै पनि सङ्गठनले तरलताको अभावमा उसले कर्मचारीलाई तलब भत्ता दिन सक्दैन । घरभाडा, ज्याला आदिको भुक्तानी गर्न सक्दैन र दैनिक खर्च सञ्चालन गर्नसमेत नगद अभाव हुन्छ । यसरी नै राज्यलाई पनि तरलताको आवश्यकता पर्छ । राज्यको बृहत् सङ्गठन हुने भएकाले सङ्गठन सञ्चालन गर्न नगदको आवश्यकता हुन्छ भने नागरिकका आवश्यकता परिपूर्ति गर्न पनि नगद चाहिन्छ । 

राज्यसँग आम्दानीका स्रोत धेरै हुन्छन् । यिनै स्रोतबाट सङ्कलित रकमको उपयुक्त किसिमले परिचालन गरेर जनताका आवश्यकता र आकाङ्क्षा परिपूर्ति गरिएका हुन्छन् । आन्तरिक स्रोतसाधनबाट नपुग भएमा राज्यले आफ्नै नागरिकसँग ऋण लिएर आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्छ । राज्यको कार्य क्षेत्र विस्तृत हुने भएकाले समय समयमा उसलाई रकम अभाव हुन्छ । राज्यले आर्थिक सङ्कट समाधान गर्न विभिन्न मित्रराष्ट्र, अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग ऋण लिएर भए पनि जनताका आवश्यकता पूर्ति गर्छ । नेपालले आन्तरिक र बाह्य गरी करिब २७ खर्ब ऋण लिएको छ । ऋणको सावा ब्याज भुक्तानी गर्नुपर्ने अनिवार्य दायित्व भएकाले वित्तीय व्यवस्थापनमा ठुलो बजेट विनियोजन गर्नु परेको छ । सन्तुलित तरलता व्यवस्थापन गर्न राज्यले कर, ऋण र अनुदानलाई प्रयोग गरेको हुन्छ ।

तरलताले सरकारी क्षेत्रसँग मात्र होइन निजी क्षेत्रसँग पनि उत्तिकै सरोकार राख्छ । नेपालमा समय समयमा तरलता अभाव हुने गरेको पाइन्छ । केही वर्षअघि बैङ्क तथा वित्तीय संस्थामा तरलताको अत्यधिक अभाव देखियो । कार्यसञ्चालन गर्न समेत समस्या परेको थियो । त्यस कारण बैङ्कले जनतासँग भएको पैसालाई आफूतिर तान्ने विभिन्न उपाय अवलम्बन गरे । उच्च बैङ्क ब्याज दर लागु गरे, ताकि बैङ्कमा निक्षेप बढोस् । उनीहरूले विभिन्न किसिमका स्किम लागु गरे । छ वर्षको स्थायी निक्षेपको रकम डबल हुने योजनासमेत ल्याइयो । विप्रेषणबाट आएको रकममा थप ब्याज दिइयो । यस्ता कार्यक्रमको मुख्य लक्ष्य जति सक्यो धेरै निक्षेप प्राप्त गरेर तरलता व्यवस्थापन गर्नु हो ।

बैङ्क तथा वित्तीय संस्थामा पैसाको अभाव हुन गयो भने उनीहरूले लगानी गर्न सक्दैनन् । लगानी नभएको अवस्थामा अरिरिक्त आम्दानी हुँदैन । बैङ्क तथा वित्तीय संस्थामा भएको पैसा खर्च भइसक्ने र लगानीका लागि पैसा नहुँदा बैङ्कहरू आर्थिक सङ्कटमा पर्ने हुन्छन् । त्यस कारण उनीहरूले जसरी भए पनि तरलता बढाउने काम गरेका हुन्छन् । जसले गर्दा उनीहरूलाई काम गर्न नगदको अभाव नहोस् ।

अहिले परिस्थिति भिन्न देखिन्छ । बैङ्क तथा वित्तीय संस्थामा कुल निक्षेप ७५ खर्बभन्दा बढी रहेको देखिन्छ । यसमध्ये कर्जायोग्य तरलता ११ खर्ब ३९ अर्ब सञ्चिति छ । कर्जा प्रवाह हुन नसकेर रकम निष्क्रिय भएर थुप्रिएको छ । बैङ्क ब्याजदर घट्दै गएर एकल विन्दुमा आएको छ । यस्तो अनुकूल स्थितिमा पनि उद्योगी व्यवसायी ऋण लिन उत्साहित देखिँदैनन् । एक त अहिले राजनीति तरल अवस्थामा छ । यसमा पनि छिटो छिटो सार्वजनिक नीति परिवर्तन हुने हुँदा पछिसम्म यही अवस्था रहन्छ भन्नेमा उद्योगी तथा व्यवसायी विश्वस्त हुन सकिरहेका छैनन् । अर्कोतर्फ बजारमा माग बढ्न सकेको छैन । उत्पादित वस्तु बजारमा खपत हुँदैनन् भने उत्पादकले किन उत्पादन गर्ने ? अहिले उद्योगीले ४० प्रतिशत क्षमतामा उत्पादन गरिरहेको अवस्था छ । उनीहरूलाई चालु खर्च धान्न पनि मुस्किल भएको छ । मुद्दती तथा बचत निक्षेपमा ब्याजदर घटेको छ । यसरी ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि स्वतः घटेको छ । ब्याजदर घट्नु भनेको लगानीको अवसरमा वृद्धि हुनु हो । तर पनि लगानी बढ्न सकेको छैन । यस्तो अनुकूल अवस्थामा पनि लगानीमा वृद्धि नहुनु भनेको अर्थतन्त्रले सही मार्ग लिन नसक्नु हो भन्ने बुझ्नु पर्छ ।

कुनै पनि सङ्गठनका लागि तरलता शरीरमा हुने रक्तसञ्चार जस्तै हो । शरीरमा रगत सञ्चालन भएन भने जसरी मानिसको मृत्यु हुन सक्छ । सङ्गठनमा पुँजी भएन भने सङ्गठनको अवस्था पनि त्यस्तै हुन सक्छ । बुद्धिमान लगानीकर्ताले विशेष रूपले तरलताको व्यवस्थापन गर्नु पर्छ र गरेका पनि छन् ।

अहिले अधिक तरलता भएकाले यसको उपयुक्त व्यवस्थापन नगर्दा अर्थतन्त्रमा समस्या आएको हो । लगानी बढाउन कानुनीलगायत विभिन्न सुधारका कार्यक्रम ल्याइए पनि लगानीमा खासै सुधार आएको छैन । बैङ्क तथा वित्तीय संस्थामा तरलता थुप्रिनु र पुँजीगत बजेट न्यून खर्च हुनुले पनि तरलता व्यवस्थापनमा असर पर्न गएको छ । अर्थतन्त्रका मुख्य आधार भनेका सार्वजनिक र निजी क्षेत्र नै हुन् । सार्वजनिक क्षेत्रले खर्च गर्न नसकेर रकम निष्क्रिय भएको अवस्था छ भने र बैङ्क तथा वित्तीय संस्थाले लगानी गर्न नसकेर थुप्रिएको रकमलाई नेपाल राष्ट्र बैङ्क ले तान्नु परेको छ । यस्तो अवस्था देखिनु भनेको तरलताको सन्तुलित व्यवस्थापन गर्न नसक्नु हो । 

सुशासन र विश्वासको अभाव, प्रशासनिक झन्झटिला प्रक्रिया, भ्रष्टाचार, ढिलासुस्ती जस्ता कारणले लगानी बढ्न सकेको छैन । लगानी बढ्न नसक्दा उत्पादन वृद्धि हुन सकेको छैन । लगानीका आधार निर्माण गर्दैमा लगानी बढ्ने भने होइन । मुख्य कुरो उद्यमीको मनोभावना बढाउनु पर्छ । अहिले उद्योगी तथा व्यवसायीको मनोभावना बढाउन सकिएको छैन ।

लगानी नबढाई तरलता व्यवस्थापन हुन सक्दैन । अहिलेको अवस्थामा लगानीको वातावरण त्यति देखिँदैन । जेनजी आन्दोलनमा सरकारी तथा निजी सम्पत्ति आगजनी तथा तोडफोड भयो । लगानी हुन नसकेको अवस्थामा झनै बलिरहेको आगोमा घिउ थपे जस्तो हुन गयो । अहिलेको अवस्थामा लगानी बढ्नेभन्दा पनि सङ्कुचन हुन सक्ने सम्भावना देखिन्छ । आन्तरिक अर्थतन्त्र कमजोर भएको अवस्थामा बाह्य लगानीको सम्भावना पनि न्यून हुन्छ । नेपाल ‘ग्रे लिस्ट’ मा पर्नु, अस्थिर राजनीति हुनु, जेनजीको आन्दोलन आदि कारणले अर्थतन्त्र प्रभावित हुन गएको छ ।

अहिले सबैको ध्यान आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित छ । यसले गर्दा पनि अर्थतन्त्र चलायमान हुन सक्ने अवस्था देखिँदैन । जेनजी आन्दोलनबाट भएको आर्थिक क्षतिबाट पनि निजी क्षेत्र त्रसित भएको छ । यो अवस्थालाई सरकारले सुधार नगर्ने हो भने लगानीको वातावरण निर्माण हुने देखिँदैन । बाढीपहिरो, अबिरल वर्षा जस्ता प्राकृतिक प्रकोपका कारणले पनि लगानीमा असर पर्न गयो । आपूर्ति सहज हुन सकेन र कर्जाको माग बढ्न सकेन । विदेशबाट आएको विप्रेषणको रकमलाई पनि लगानीमा आबद्ध गर्न सकिएन । कुल विप्रेषणको ६८ प्रतिशत त उपभोगमा नै खर्च भएको तथ्याङ्कले देखाएको छ । यो रकम उत्पादनशील क्षेत्रमा प्रवाह गर्न सकिएको भए निश्चय नै केही हदसम्म तरलता व्यवस्थित हुन सक्दथ्यो । यसले पनि तरलतामा अवरोध सिर्जना गरेको छ ।

उत्पादन क्षेत्रमा भन्दा व्यापार क्षेत्रमा केही सुधार भएको देखिन्छ । व्यापार क्षेत्रले छोटो अवधिमा नै लाभ दिन सक्ने हुन्छ । त्यस कारण व्यापारी त्यसतर्फ लागेकाले न्यूनतम मात्रामा भए पनि लगानी प्रवाह हुँदै गरेको अवस्था छ । उत्पादनमूलक क्षेत्रमा लागेका उद्योगी पनि औद्योगिक वातावरणमा केही सुधार आउनासाथ लगानीले गति लिन सक्ने हुन्छ । यस अवस्थामा अहिले भएको अधिक तरलतामा सुधार हुने आशा गर्न सकिन्छ ।

अर्थतन्त्रले सही नीति र गति लिन नसकेकाले कहिले तरलता अभाव र कहिले अत्यधिक तरलता भएको देखिन्छ । यस्तो अवस्थाले अर्थतन्त्रलाई प्रभावकारी बनाउन सक्दैन । तरलता अभावभन्दा अधिक तरलताको व्यवस्थापन गर्न सजिलो हुन्छ । उद्योगी व्यवसायीले किन कर्जा लिन चाहेका छैनन् भन्ने विषयमा पहिचान गरेर उनीहरूको माग सम्बोधन गर्नु पर्छ । अहिलेको अवस्थामा अधिक तरलताको सन्तुलित व्यवस्थापन गर्नु जरुरी छ । खास गरेर अर्थमन्त्रालय, नेपाल राष्ट्र बैङ्क जस्ता केन्द्रीय आर्थिक सङ्गठनले ध्यान दिनु आवश्यक छ ।