- सानास्तरका लगानी एवं व्यवसायको प्रवर्धनका लागि अनुकूल वातावरण नभएका कारण रोजगारीका लागि अधिकांश युवाको पहिलो रोजाइ वैदैशिक रोजगारी नै छ ।
- रोजगारीका लागि विदेशी भूमिलाई नै मुख्य गन्तव्य देखेका युवा जमातको सोच र व्यवहार परिवर्तन गर्नु जरुरी छ । कलिलो उमेरमा नै राष्ट्र प्रेम, परिवार एवं समाजप्रतिको जिम्मेवारी र स्वदेशी काम र कमाइमा रमाउने खुसी हुने सोच र व्यवहार विकास गर्न जरुरी छ ।
- प्राविधिक शिक्षालाई व्यावहारिक, जीवनउपयोगी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको माग अनुकूल बनाई स्वदेशी तथा अन्तर्राष्ट्रिय रोजगारीका अवसर सिर्जना गर्ने बनाउनु र सिपमूलक तालिमलाई गुणस्तर बनाई प्रतिस्पर्धी गराउनु पर्छ ।
मुलुकको आर्थिक एवं सामाजिक विकासका लागि युवा जनशक्ति परिचालन अपरिहार्य हुन्छ । रोजगारीका मुख्य क्षेत्रको पहिचान र ती क्षेत्रको व्यावसायीकरणले स्वदेशभित्रै रोजगारीको सुनिश्चितता र आर्थिक विकासको दिगो आधार तयार हुन सक्छ । कृषि, उद्योग, व्यापार, व्यवसायका क्षेत्रमा पूर्वाधारका न्यूनतम आधार तयार गर्न र उत्पादित वस्तु तथा सेवाको मूल्य एवं बजार सुनिश्चित गर्न सरकार अग्रसर हुनु पर्छ । मुलुकको कृषि, पर्यटन, उत्पादन एवं व्यवसायका क्षेत्रमा रोजगारीका प्रशस्त सम्भावना रहेको भए पनि आधारभूत पूर्वाधार विकास हुन नसक्दा स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न सकिएको छैन । उदार आर्थिक नीतिका कारण मुलुकभित्र रोजगारीका आकर्षक अवसर विकास नभएका कारण युवा जनशक्तिलाई स्वतःस्फूर्त स्वदेशमै रोक्न सकिएको छैन । उच्च महत्वाकाङ्क्षा र क्षमता भएका उत्पादनशील युवा जनशक्तिलाई स्वदेशी रोजगार बजारले आकर्षण गर्न सकेको छैन । फलस्वरूप हरेक वर्ष लाखौँको शिक्षित एवं सक्षम जनशक्ति रोजगारीको सपनामा पलायन हुँदै गएका छन् ।
मुलुकबाट युवा जनशक्ति पलायन हुने प्रवृत्ति दशकौँदेखिको पुरानो समस्या हो । सम्पन्नदेखि विपन्न परिवारसम्मका दक्ष एवं अदक्ष जनशक्ति रोजगारीका लागि निरन्तर बिदेसिने क्रम बढिरहेको छ । यो परिस्थिति प्रतिदिन चुनौतीपूर्ण हुँदै गएको भए पनि यसतर्फ सरकार, समाज, परिवार, व्यक्तिको चिन्तन बढेको छैन । उद्योग व्यवसायका क्षेत्रमा रोजगारीका अवसर न्यून रहेको साथै उपलब्ध सीमित रोजगारीबाट प्राप्त हुने पारिश्रमिक जीवन निर्वाह गर्न मुस्किल हुने अवस्था छ । सानास्तरका लगानी एवं व्यवसायको प्रवर्धनका लागि अनुकूल वातावरण नभएका कारण रोजगारीका लागि अधिकांश युवाको पहिलो रोजाइ वैदैशिक रोजगारी नै छ । सहरकेन्द्रित बसाइँसराइले ग्रामीण क्षेत्रका सहज र साना रोजगारीका अवसर बन्द हुँदै गएका छन् । विसं २०८१ को फागुन मसान्तसम्म वैदेशिक रोजगारीमा जाने श्रम स्वीकृति लिनेको सङ्ख्या ६४ लाख ६१ हजार पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा आठ लाख ३९ हजार जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यसरी स्वीकृति लिनेमा नयाँ श्रम स्वीकृति लिने ६० प्रतिशत र पुनः श्रम स्वीकृति लिनेमा ४० प्रतिशत छन् । उच्च अध्ययनका लागि बिदेसिने गरेका अधिकांश युवा अध्ययनकै क्रममा वैदेशिक रोजगारीमा जोडिने गरेका कारण स्वदेश फर्कने सोच र प्रवृत्ति देखिएको छैन ।
रोजगारीका लागि विदेशी भूमिलाई नै मुख्य गन्तव्य देखेका युवा जमातको सोच र व्यवहार परिवर्तन गर्नु जरुरी छ । कलिलो उमेरमा नै राष्ट्र प्रेम, परिवार एवं समाजप्रतिको जिम्मेवारी र स्वदेशी काम र कमाइमा रमाउने खुसी हुने सोच र व्यवहार विकास गर्न जरुरी छ । मुलुकभित्रको सम्भावनालाई बढाउँदै लान सङ्घीय, प्रदेश एवं स्थानीय तहसम्मको लगानी एवं व्यवसाय वृद्धि गर्ने, स्वदेशी रोजगारीका क्षेत्रको आकर्षण र सम्भावनाको जानकारी विद्यालय एवं उच्च तहका विद्यार्थीका लागि अनिवार्य गर्नु आवश्यक भएको छ । स्थानीय कच्चा पदार्थ, उद्यमशीलता र सिपमा आधारित औद्योगिक विकासलाई प्रोत्साहित गर्ने, वित्तीय एवं सहकारी क्षेत्रलाई उद्योग व्यवसायमा अग्रसर गराउने, नवप्रवर्तनमा आधारित उद्यमीलाई प्रोत्साहित गर्न स्टार्टअप कर्जा कार्यक्रम विस्तार गर्ने कार्यलाई महत्व दिनु पर्छ । प्रदेश एवं स्थानीय तहका सरकारी निकाय र निजी क्षेत्रसमेतको सहकार्यमा स्टार्टअप उद्यमीलाई व्यवसाय संवर्धन, क्षमता अभिवृद्धि गर्न जोड दिनु पर्छ । रोजगारीका लागि मुख्य आधार क्षेत्र भएको निजी क्षेत्रको विकास गर्दै सुरक्षित रोजगारी र उत्प्रेरित कार्य वातावरण, जीवनयापनका लागि पर्याप्त पारिश्रमिक, समान कामका लागि समान ज्याला, श्रम र श्रमिकको सम्मान, सबै प्रकारका श्रम शोषणको अन्त्य, श्रमिकको स्वास्थ्य एवं विमाको प्रबन्ध गरिनु पर्छ । यसबाट स्थानीय परिवेश अनुकूलको रोजगारी, मर्यादित काम र दिगो सामाजिक सुरक्षा सुनिश्चित भई रोजगारीका अवसर वृद्धि गर्न टेवा पुग्ने हुन्छ ।
मुलुकभित्रै दिगो र आकर्षक रोजगारीका अवसर सिर्जना गर्न सहरलगायत उच्च हिमाली क्षेत्रसम्मको व्यवसायजन्य लगानीको सूक्ष्म अध्ययन, विश्लेषण जरुरी भएको छ । सहरदेखि ग्रामीण एवं दुर्गम क्षेत्रसम्मका रोजगारीका साना वा ठुला सम्भावनाका क्षेत्रमा रोजगारीको अभियान सञ्चालन गर्नु पर्छ । रोजगारीका अवसरका लागि सरकारी संयन्त्रको लगानी र प्रयासमात्र पर्याप्त हुन सक्दैन । यसका लागि रोजगारीको सम्भावना भएका क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्यलाई महत्व दिई स्थानीय उत्पादनलाई व्यावसायिक गराउँदै विस्तार गर्दै लैजानु आवश्यक छ । आन्तरिक रोजगारीको उच्च सम्भावना भएका कृषि, पर्यटन, विद्युत्, वन, उद्योगलगायतका क्षेत्रमा सरकारी, निजी एवं सहकारीसँगको साझेदारी र सहकार्यलाई देशभरि नै व्यापक गराउनु पर्छ । आन्तरिक रोजगारी सिर्जनामा सङ्घ, प्रदेश र स्थानीय तहबिच सघन रूपमा सहकार्य हुनु पर्छ । युवा स्वरोजगार कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, रोजगारीका विविध लक्ष्यित कार्यक्रम, सहकारीका सफल कार्यक्रमलाई तीन वटै तहमा समन्वयात्मक रूपमा सञ्चालन गर्नु पर्छ । स्थानीय माग र आपूर्तिका आधारमा स्थानीय सम्भावना, क्षमता र लगानीसमेतलाई आधार बनाई दिगो व्यवसाय प्रवर्धन गरी रोजगारीका अवसर सिर्जना गर्न ऐक्यबद्ध हुनु आवश्यक भएको छ ।
जनताको दैनिक जीवन निर्वाहका वस्तु तथा सेवाको उत्पादन स्थानीयस्तरमै गर्दा रोजगारीका अवसर सहजै वृद्धि हुने हुन्छ । पर्यटन, उद्योग व्यवसाय, वनजन्य, खानीजन्य उद्योग व्यवसायलगायतका वस्तु उत्पादनका क्षेत्रलाई कृषिसँग अन्तरनिर्भर गराउनु पर्छ । यस्ता क्षेत्रको व्यवसाय प्रवर्धन गर्नका लागि स्थानीय सिप, क्षमता, लगानीलाई पहिचान र परिचालन गर्न जरुरी छ । स्थानीय तहको क्षमता र सम्भावनालाई व्यवसायमा रूपान्तरण गर्न स्थानीय परिवेश सुहाउँदो सिप विकासका कार्यलाई प्राथमिकता दिनु पर्छ । सरकारका तिनै तह, निजी क्षेत्र, गैरसरकारी संस्थाका विभिन्न निकाय अन्तर्गत छरिएर रहेका व्यावसायिक तालिम तथा प्रशिक्षणलाई एकीकृत गरी प्रभावकारी र गुणस्तरीय बनाउनु आवश्यक भएको छ । रोजगारीसँग सम्बन्धित तालिम कार्यक्रमलाई सार्वजनिक, निजी र सहकारीको साझेदारीमा सञ्चालन गर्ने कार्यलाई मूल प्रवाहीकरण गरिनु पर्छ । विश्वव्यापी उत्पादन तथा श्रमको परिवर्तित सन्दर्भमा जनशक्तिलाई नयां तालिम प्रदान गर्ने, श्रम बजारको माग अनुसारको सिप तथा दक्षतायुक्त श्रमशक्ति विकास गर्ने, तालिम प्रदायक संस्थाको क्षमता वृद्धि गर्ने, व्यावसायिक तथा सिपमूलक तालिमका अवसरमा विस्तार गरी पहुँच अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिनु पर्छ । स्थानीय सिपलाई श्रम बजार, उद्यम र प्रविधिमा आएको परिवर्तन अनुकूलन गराउनु पर्छ ।
मुलुकको शिक्षा सिपउन्मुख हुन नसकेका सन्दर्भमा व्यवसाय र शिक्षालाई अन्तरसम्बन्धित गराउनु आवश्यक छ । माध्यमिक तहको शिक्षालाई काम वा व्यवसायसँग जोड्नु आवश्यक छ । मूलतः प्राविधिक शिक्षाले व्यवसायतर्फ उन्मुख गराउने र व्यवसायले स्वाभाविक रूपमा रोजगारी सिर्जना गर्ने भएकाले शिक्षा, व्यवसाय र रोजगारीलाई अन्तरनिर्भित गराउनु आवश्यक छ । प्राविधिक शिक्षालाई व्यावहारिक, जीवनउपयोगी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको माग अनुकूल बनाई स्वदेशी तथा अन्तर्राष्ट्रिय रोजगारीका अवसर सिर्जना गर्ने बनाउनु र सिपमूलक तालिमलाई गुणस्तर बनाई प्रतिस्पर्धी गराउनु पर्छ । विदेशबाट फर्केका व्यक्तिको ज्ञान, सिप, अनुभव र पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सकिँदा रोजगारीका नयाँ अवसर वृद्धि हुने हुन्छ । यसका लागि तिनै तहका सरकारी निकायको सूचना एवं तथ्याङ्कलाई अद्यावधिक गर्ने, गैरआवासीय नेपाली संस्थासँगको समन्वय र लगानी आकर्षण गरी सामाजिक पुँजी निर्माणमा जोड दिनु पर्छ ।
निजी एवं सहकारी संस्थासँग भएको पुँजी र स्थानीय सिपलाई व्यावसायीकरण गर्नु अपरिहार्य छ । स्थानीयस्तरका लघु, साना र मझौला उद्योग विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, स्वरोजगार प्रवर्धन एवं रोजगारीसम्बन्धी एकीकृत तथ्याङ्क र स्वचालित श्रम विनिमयका लागि राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने, जनशक्तिमा स्वदेशी आत्मनिर्भता र व्यावसायिकता वृद्धि गर्ने, रोजगारदातालाई लगानीका लागि प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्ने, परम्परागत सिप, कला तथा पेसालाई संरक्षण गरी व्यावसायीकरण गर्ने, रोजगार सेवा केन्द्रलाई स्रोतसाधन र प्रविधियुक्त गराउने कार्यलाई प्राथमिकता दिनु पर्छ । यसबाट स्थानीयस्तरसम्म व्यवसाय प्रवर्धन भई रोजगारीका अवसरमा स्वाभाविक वृद्धि हुने हुन्छ ।