सङ्घीयता कार्यान्वयनमा आएपछिको दोस्रो स्थानीय तह निर्वाचनको परिणामले सुखद सन्देश दिएको छ । यो निर्वाचनमा जनताले विवेकको भरपूर प्रयोग गरेका छन् । निर्वाचनले लोकतन्त्रको उच्चतम अभ्यास मात्र गरेको छैन, राजनीतिक दललाई पनि ठूलो सबक सिकाएको छ । लोकतान्त्रिक अभ्यास बलियो हुँदै जानु मुलुककै लागि गर्वको विषय हो । निर्वाचनमा मतदाताले देखाएको संस्कारले दलहरूलाई स–साना विवादमा फस्न दिएन । यसलाई लोकतन्त्रको उच्चतम अभ्यास मान्नुपर्छ । निर्वाचनले ठूला दललाई आफ्नो कार्यशैली बदल्ने चुनौती पनि थपिदिएको छ ।
केन्द्रीकरणको अन्त्य
स्थानीय तहका नेता तथा कार्यकर्ताले नै स्थानीय तहमा उम्मेदवार चयन गर्ने र त्यसलाई माथिल्ला तहले अनुमोदन गर्ने भनिए पनि अन्ततः त्यसमा जिल्ला, प्रदेश र केन्द्रले हस्तक्षेप गरी उम्मेदवार चयन गर्दा धेरै दलले पराजय भोग्नुपरेको छ । प्रायः तल्लो तहसम्म नै केन्द्र हाबी हुँदा सयौँ स्थानमा बागी जन्मिए र तिनले धेरै स्थानमा जित हासिल गरे पनि । दलले जनताको मनोविज्ञान नबुझी र स्थानीय तहमा सुयोग्य पात्र खडा नगर्दा केही स्थानीय तहमा समस्या देखियो ।
यसरी जनताको मनोविज्ञानलाई अनदेखा गर्ने र केन्द्रवादलाई मेरो गोरुको बाह्र्रै टक्कामा अडिइराख्ने हो भने आगामी प्रादेशिक तथा सङ्घीय निर्वाचनमा धेरै विद्रोही उठ्नेछन् । तिनैको विजय हुनेछ । यसर्थ दलहरूका प्रवृत्ति र कार्यशैलीमा पनि सुधार हुनु अपेक्षित देखिएको छ ।
नेतृत्व नदोहो-याउने
कतिपय स्थानीय तहमा अघिल्लो चुनावमा निर्वाचित जनप्रतिनिधिलाई नै यस पटक पनि अवसर दिएका थिए तर तिनलाई अधिकांश जनताले मनपराएनन् । बहुमत रहेको भनिएको वडामा समेत मेयर, उपमेयर र वडाध्यक्षलाई मताधिकार प्राप्त भएन । उनीहरूले पराजय भोग्नुप-यो । जनताले उनीहरूलाई नराम्ररी दण्डित गरेर छाडे । मनपराइने र जित्नेहरू न्यून सङ्ख्यामा देखिए । आफु पदमा बहाल छँदा गरेका आर्थिक, भौतिक तथा सामाजिक कार्यलाई जनतासमक्ष पु-याउन नसक्दा वा जनअपेक्षाअनुरूप काम नहुँदा उनीहरू पुनः अनुमोदित हुन सकेनन् । यद्यपि जनताको अपेक्षा नै धेरै र ठूलो छ । सीमित स्रोत साधनबाट तमाम अपेक्षा पूरा गर्न सकिने परिस्थिति पनि छैन । सायद त्यसलाई जनप्रतिनिधिले राम्ररी बुझाउन नसक्दा वा पटक–पटक एउटैलाई भन्ने धेरैको नकारात्मक सोच पनि हुन्छ । फलतः पराजित हुनुपरेको हुन सक्छ । यसलाई अब नेतृत्वले बुझ्नु आवश्यक छ ।
सक्षम युवालाई प्राथमिकता
जनताले युवा भएर मात्र नपुग्ने दूरदृष्टि भएको, सशक्त वक्तृत्व क्षमता भएको र आकर्षक व्यक्तित्वयुक्त तथा प्राविधिक विषयको जानकारी राख्ने वा प्राविधिक व्यक्तित्व मनपराएको देखिन्छ । सुख–दुःखमा पनि सधैँ साथसाथै बस्ने, गाउँघरको विकास निर्माण, अर्मपर्म, बिहेबटुलो आदि इत्यादि कार्यमा पनि सधैँ जुटिरहने युवा वा वयोवृद्ध नै भए पनि तिनलाई मनपराएको पाइयो । सुख सुविधाको खोजीमा प्रायः सहरतिरै बस्ने, बेलाबेलामा मात्र गाउँघरतिर आउने एवं चुनावका बेलामा मात्र टिकट लिएर आफ्नो थातथलो, जन्मथलो आदि इत्यादि भन्दै गाउँतिर पस्ने युवा भए पनि त्यस्ता उम्मेदवारलाई पनि मनपराएको पाइएन । यसर्थ टिकट दिइँदा यस्ता विषयमा पनि ध्यान पु-याउनु आवश्यक छ ।
उत्ताउलोपन परित्याग
निर्वाचनको प्रचारप्रसारका क्रममा आपसी असहिष्णुता र उत्तेजनाका कारण पनि परस्पर झडप भए । यो हुनु अत्यन्तै जङ्गली बर्बरता हो । यसका अतिरिक्त विपक्षीलाई देखाउनकै लागि गरिने विभिन्नखाले -यालीमा उत्ताउलोपन प्रस्तुत गर्दा धेरै ठाउँमा मोटर दुर्घटना भए । मतदानकै दिन पनि घरबाट मतदान केन्द्रसम्म पु-याउने व्यवस्था गरिँदा अत्यधिक भीडभाड र चापका कारण पनि मोटर दुर्घटना भएर धेरैले ज्यान गुमाउनुप-यो । विजय -यालीमा समेत यस्तै उत्ताउलोपन प्रदर्शन गरिँदा कैयौँ ठाउँमा मोटर दुर्घटना भए । यस्ता प्रचारप्रसार, मतदान स्थलमा आवागमन गर्नेदेखि विजयोल्लासमा अतिशय उत्साह उल्लास र उमङ्गमा रङ्गिँदा हुने यस्ता अकल्पनीय क्षतिलाई न्यूनीकरण गर्नुपर्छ । यस्ता उत्तेजनशील कर्मको चपेटामा स्वयं उम्मेदवारकै आफ्नै छोराछोरी भाइभतिज पनि पर्न सक्छन् जुन अकल्पनीय र अपूरणीय बन्न पुग्छ भन्ने तथ्यतर्फ हरेकले सोच्नुपर्छ ।
लोकतान्त्रिक अभ्यास
अघिल्ला निर्वाचनभन्दा यस पटकको निर्वाचनमा परस्पर झडप, कलह, वैमनस्य र साङ्घातिक हमलाका घटना न्यून सङ्ख्यामा मात्र भएको पाइयो । जुन भयो भित्री गाउँ र विकट गाउँका दूरदराजमा भए । अशिक्षा र पिछडिएका ठाउँमा यस्ता परिदृश्य भए गरेको देखियो । सहर–बजारमा दुई पक्ष भेट्दा उम्मेदवार परस्पर अङ्कमाल गर्दै गरेको र एकले अर्कालाई शुभकामना दिइरहेको सञ्चारमा प्रसारित थियो ।
यो लोकतान्त्रिक भावना र सोच विकसित हुँदै गएको शुभसङ्केत हो । सँगसँगै नतिजा घोषणा भइसकेपछि पनि उपविजेताले विजेतालाई भेटेर वा सामाजिक सञ्जालमार्फत भए पनि बधाई र शुभकामना दिएको देखियो । हारे पनि समाज सेवामा जुटिरहने, राम्रा काममा विजेता टिमलाई साथ समर्थन र सहयोग गर्ने वचनबद्धता प्रकट गरेको र आपूmलाई मत दिने मतदाताप्रति घरघरै पुगेर र कसैले सामाजिक सञ्जालमार्फत नै भए पनि हार्दिक आभार प्रकट गरेको देखियो ।
वस्तुतः यो असल अभ्यास हो र लोकतान्त्रिक व्यवहार पनि हो । यसलाई हारको पीडालाई भित्र दबाएर भए पनि विजेताप्रति हार्दिक शुभेच्छा प्रकट गर्ने सामथ्र्य जुटाउन सक्नुलाई सकारात्मक मान्नुपर्छ । हिजो एक–अर्कामा पानी बाराबारको स्थितिमा रहेका दल र दलीय कार्यकर्ता हार्दिकतापूर्वक एकले अर्कालाई स्वीकार गर्ने स्थितिमा पुग्नु वास्तवमा नेपालले अहिलेसम्म प्राप्त गरेको राजनीतिक प्राप्ति हो र सुन्दरता पनि हो ।
निर्वाचनको समग्र प्रक्रियादेखि सुरक्षितसाथ मतपेटिका ढुवानी गर्ने त्यसलाई निर्वाचन अधिकृतलाई बुझाउने, मतगणनाका क्रममा हुने अनेकौँ धाँधलीपूर्ण व्यवहार आदि इत्यादि सबै जोखिमका विषय हुन् । त्यसलाई विद्युतीय मेसिनमार्फत विस्थापित गर्नु जरुरी छ । यसले सजिलो गरी निर्वाचन हुने मात्र नभई छिटै परिणाम घोषणा गर्न सकिने, धाँधली हुने सम्भावना कम रहने, खर्च कम हुने जस्ता कारणले विद्युतीय मेसिन उपयोग गर्नेतिर अब मुलुक अग्रसर हुनुपर्छ ।
अब दलहरूले सर्वप्रथम केन्द्रवादलाई बिसर्जन गर्नुपर्छ । जुन दलले उदारवादी नीति अवलम्बन गर्न सक्दैन ऊ बिस्तारै विस्थापित हुन सक्छ । उम्मेदवार चयनमा पनि सशक्त, जुझारु तथा युवा प्राविधिक ज्ञान भएको युवा पात्र चयन गर्नुपर्ने, उत्ताउलोपनलाई परित्याग गर्नुपर्ने, निष्पक्षताका लागि मतदानमा विद्युतीय मेसिनको उपयोग गर्ने तथा लोकतान्त्रिक अभ्यासलाई अझ सबल र सशक्त बनाउँदै लैजानुपर्छ ।