• १३ साउन २०८१, आइतबार

चन्द्रकोटले स्वास्थ्य बीमामा र रुरुक्षेत्रले विद्युत महशुलमा छुट दिने

blog

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसी र रुरुक्षेत्रगाउँपालिकाका अध्यक्ष यदुज्ञवालीले पदभार ग्रहण गर्दा

तिलाचन पाण्डे
तम्घास, जेठ ७ गते ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले विपन्न नागरिकहरुको स्वास्थ्य बीमामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष युवराज केसीले पदभार ग्रहण गर्दै गाउँपालिका भित्रका विपन्न नागरिकहरुको स्वास्थ्य बीमामा गाउँपालिकाले ५० प्रतिशत छुट दिने पहिलो निर्णय गरेको जानकारी दिनुभयो ।

यस्तै, पालिका भित्रका स्वास्थ्य संस्थामा गर्भवती महिलाले बच्चा जन्माउन नसकी अन्य अस्पतालमा जानु परेमा निःशुल्क रुपमा गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुलाई गुणस्तरीय बनाइ दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गर्ने गरी आफूले योजना बनाएको केसीले बताउनुभयो । 

यसैगरी, पालिकाका हरेक नागरिकहरुको स्वास्थ्य प्रति स्थानीय सरकारको नै रबढी दायित्व हुने भएकाले आगामी ५ वर्षमा स्थानीय जनताको स्वास्थ्य प्रति गम्भीर भएर लाग्ने केसीको भनाइ छ ।

त्यस्तै, उत्पादनमा जोड दिई नागरिकहरुलाई आत्मनिर्भर बनाउने गरी आफू लाग्ने जानकारी दिनुहुँदै केसीले व्यवसायीक कृषि र पशुपालनको माध्यमबाट आत्मनिर्भर बनाउने गरी लाग्ने पनि बताउनुभयो ।

यसैगरी, रुरुक्षेत्र गाउँपालिकाले पालिका भित्रका नागरिकहरुको न्यूनतम विद्युत महशुलमा छुट दिने निर्णय गरेको छ ।

पालिका भित्रका विपन्न नागरिकहरुलाई न्युनतम विद्युत महशुल गाउँपालिकाले तिर्दा ठूलो राहत महशुुस हुने भएकाले यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।

पाँच वर्षको कार्यकालमा पालिका भित्रका नागरिकहरुको आयआर्जनमा वृद्धि गरी आत्मनिर्भर बनाउनु र निर्वाचनमा गरेका प्रतिवद्धताहरुलाई पूरा गर्नु नै पहिलो प्राथमिकता रहेको उहाँको भनाइ छ ।

यस्तै, गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले वडा नम्बर एक बलिथुमा  आर्थिक अवस्था न्यून रहेको एक परिवारमा विद्युत समेत नभएकाले नगद १० हजार रुपियाँ प्रदान गर्दै पदभार ग्रहण गर्नुभएको छ ।
उहाँले गाउँपालिकालाई जतिसक्दो छिटो खरका छानामुक्त गाउँपालिका बनाउन लागि पर्ने बताउनुभयो ।