• ४ जेठ २०८१, शुक्रबार

गौशाला नगरपालिका प्रमुख र उपप्रमुखमा जसपा विजयी

blog

महेशकुमार दास
जलेश्वर , जेठ ७ ।
महोत्तरीको गौशाला नगरपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपाल निर्वाचित भएको छ । 

गौशाला नगरपालिकाको प्रमुखमा जसपाका दीपेन्द्र महतो र उपप्रमुखमा रेणुकुमारी महतो निर्वाचित हुनुभएको छ ।

शनिबार बिहान सम्पन्न मतगणना परिणाम अनुसार गौशाला नगरपालिकाको प्रमुख पदका उम्मेदवार महतो आठ हजार ७९९ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का बिष्णुबहादुर योञ्जन पाँच हजार ६२७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, नेपाली काँग्रेसका उम्मेदवार बसन्त गुरुङले पाँच हजार १३२ मत प्राप्त गरी तेस्रो हुनुभएको छ । प्रमुख महतो आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा तीन हजार १७२ मतान्तरले विजयी हुनुभएको हो ।

गौशाला नगरपालिकाको उपप्रमुख रेणुले आठ हजार ४५५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का जनक दुलारी साहले पाँच हजार ४९० मत प्राप्त गर्नुभएको छ ।

नेपाली काँग्रेसबाट उपप्रमुखका उम्मेदवार सुशीला देवीले पाँच हजार ४७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मदनप्रसाद जयसवालले बताउनुभयो । उपप्रमुख महतो दुई हजार ९६५ मतान्तरले विजयी हुनुभएको हो ।

यसैगरी, १२ वडा रहेको गौशाला नगरपालिकाको वडाहरुमा मिश्रित परिणाम आएको निर्वाचन अधिकृत जयसवालले बताउनुभएको छ ।