• १० माघ २०८१, बिहिबार

टोमोथेरापी मेसिनबाट २४४ ले लिए सेवा

blog

टोमोथेरापी मेसिन ल्याएको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रम । तस्विरः सिर्जना खत्री

काठमाडौं, पुस ७ गते । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले आगामी शैक्षिक सत्रदेखि टोमोथेरापी मेसिन सञ्चालन गर्ने जनशक्ति उत्पादन गर्ने भएको छ ।  क्यान्सरको उपचार गर्ने प्रविधि टोमोथेरापी मेसिन ल्याएको एक वर्ष पुगेको अवसरमा प्रतिष्ठानका भिसि डा. भुप्रेन्द्र बस्नेतले न्याम्सले आगामी शैक्षिकसत्रदेखि टोमोथेरापी मेसिन सञ्चालन गर्ने जनशक्ति उत्पादन गर्ने बताउनुभयो ।  

उहाँले भन्नुभयो, “टोमोथेरापी सञ्चालन गर्ने जनशक्तिको पढाइ नेपालमा हुँदैन आगामी शैक्षिकसत्रदेखि न्याम्सले जनशक्ति उत्पादन गर्ने योजना बनाएको छ ।” वीर अस्पतालले एक वर्षअघि टोमोथेरापी मेसिन सञ्चालन गर्न भारतबाट जनशक्ति तयार पारेर ल्याएको थियो । 

अस्पतालका आवासीय चिकित्सक डा. लोकेन्द्र कुमारले टोमोथेरापी मेसिनबाट एक वर्षमा २४२ जना बिरामी उपचार गरेको जानकारी दिनुभयो । जसमध्ये निको हुने बिरामी १४४ र ९८ विरामीलाई सहज बनाउने उपचार गरिएको उहाँको भनाइ छ । अस्पतालले २५ जनाको १० प्रतिशत सहुलियत र २५ जना पूर्ण नि:शुल्क रुपमा उपचार गराएको छ ।  

हाल १७ जना बिरामी उपचारत छन् भने ४१ जना बिरामी उपचारको पर्खाइमा छन् । क्यान्सर रोग विभागका प्रमुख डा. विवेक आचार्यले यो मेसिन नेपालमा वीर अस्पतालमा मात्र भएकाले चैतसम्म बिरामी पालोको पर्खाइमा रहेको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “बिरामी चैतसम्म यो मेसिनबाट सेवा लिन लाइनमा हुनुहुन्छ। क्यान्सर फैलने भएकाले कतिपय बिरामीलाई फकाउने गरेका छौँ।” 

उहाँका अनुसार मेसिन ८ घण्टामात्र चल्ने गरेको छ । टोमोथेरापी मेसिनमार्फत हाल दैनिक २० देखि २५ जनाले सेवा लिएका छन् । यो मेसिनको १८ घण्टासम्म चल्न सक्ने क्षमता छ ।  हाल अस्पतालले यो सेवा लिएवापत बिरामीबाट डेढ लाख रुपियाँ शुल्क लिने गरेको छ ।

प्रतिष्ठानका उपकुलपति डा. बस्नेतले अस्पतालले थप सेवामार्फत मेसिन १६ घण्टा चलाउने तयारी गरेको जानकारी दिनुभयो । यदि १६ घण्टा यो मेसिन चलाउन सकेमा दैनिक ४० देखि ४५ जना बिरामीले उपचार पाउने उहाँको भनाइ छ । उहाँ भन्नुभयो,“सेवा विस्तार गरेर मेसिन १६ घण्टा चलाएमा धेरैभन्दा धेरै बिरामीले सेवा पाउनुका साथै अस्पतालले आम्दनी पनि गर्न सक्छ ।” 

 क्यान्सरका बिरामीलाई थप सेवा दिन अझ दुई वटा मेसिन ल्याउने पहल भएको अस्पतालका निर्देशन डा. सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “सर्वसाधारणले सुलभ रुपमा सेवा दिनको लागि अस्पताले थप दुई वटा सेक्ने मेसिन ल्याउने पहल गरेको छ ।”

के हो टोमोथेरापी 

क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईका अनुसार टोमोथेरापीमा विकीरण (रेडिएसन) का माध्यमबाट क्यान्सरग्रस्त कोषको उपचार गरिन्छ। क्यान्सरको लागि रेडियसन महत्वपूर्ण उपचार विधी हो । उहाँका अनुसार १०० जना क्यान्सरका बिरामीमध्ये ७० जनालाई रेडिएसनको आवश्यक पर्छ । उहाँ भन्नुभयो, “रोग निको बनाउन र रोगीलाई सहज बनाउनको लागि रेडियसन उपचारको प्रयोग गरिन्छ ।”

डा. चापागाईका अनुसार वीर अस्पतालमा भएको टोमोथेरापी मेसिनले क्यान्सरग्रस्त कोषमा मात्रै रेडिएसन दिएर उपचार गर्न सकिन्छ ।  रेडियोथेरापीको तुलनामा टोमोथेरापीबाट उपचार गर्दा रेडिएसनको साइड इफेक्ट न्यून हुने चिकित्कसहरु बताउँछन्। 

टोमोथेरापीबाट रेडिएसन मार्फत सामान्य क्यान्सरदेखि जटिल क्यान्सरसम्मको सहज र सफल उपचार गर्न सकिन्छ । जुनसुकै अंगको क्यान्सरको पनि उपचार सम्भव भएको चापागाई बताउनुहुन्छ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।