काठमाडौँ, साउन ९ गते । बच्चा जन्माउने क्षण महिलाको जीवनकै सबैभन्दा पीडादायी पल हो । प्रसवको बेलामा श्रीमानसँगै बसिदिँदा पीडा सहने शक्ति मिल्ने सेवाग्राही बताउँछन् । सर्लाहीका रामहरि शाह चौथो पटक पिता बन्नुभएको छ । चौथो सन्तान जन्मदा उहाँले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको बर्थिङ युनिटमा प्रसवमा रहेकी श्रीमतीको स्याहार गर्ने अवसर पाउनुभयो ।
श्रीमतीसँगै प्रसूति कक्षमा यो क्षण नजिकवाट अनुभव गर्न पाउनुभयो उहाँले । प्रसव पीडा भएकी श्रीमतीको दुःखाइमा मालिस गर्नुका साथै, श्रीमतीको हात समाएर कोठा वरिपरि घुमाउँदा खुसी लागेको उहाँ बताउनुहुन्छ ।
यो पटक उहाँले आफ्नो आँखा अगाडि बच्चा जन्मिएको देख्ने मौका पाउनुभयो । योभन्दा अगाडि तीनवटा बच्चा जन्मिँदा प्रसूति कक्षमा छिर्न नदिएको आज पनि झलझली सम्झना छ उहाँलाई ।
त्यो बेलामा बच्चा जन्मिसकेपछि मात्र तपाईँको बच्चा जन्मियो भन्ने सूचना पाउनुभएको थियो । पहिलेको जस्तै आफूलाई प्रसूति कक्षमा छिर्न दिइँदैन भन्ने लागेर श्रीमतीको स्याहार गर्न उहाँले गाउँबाट आमा बोलाउनुभएको थियो ।
उहाँ भन्नुहुन्छ,“तीनवटा बच्चा जन्मिँदा प्रसवमा रहेकी श्रीमती भेट्न जाँदा पुरुष आउन पाइँदैन भन्दै बाहिर पठाउनुहुन्थ्यो ।” प्रसूति कक्षमा बस्न नपाउँदा श्रीमतीलाई कति गाह्रो भएको होला भनेर चिन्ता लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ ।
उहाँ मात्र होइन रामेछापकी सीता थापा श्रीमानलाई सँगै राखेर बच्चा जन्माउँदा जुन आत्मबल मिल्यो त्यो शब्दमा बयान गर्न नसक्ने सुनाउनुहुन्छ ।
श्रीमान साथमा राखेर बच्चा जन्माउँदाको पल उहाँका लागि जीवनकै अविस्मरणीय रह्यो । उहाँ भन्नुहुन्छ, “जब म अस्पतालको शय्यामा थिएँ, प्रसव पीडा अत्याधिक बढ्दै गएको थियो । मनमा डरका साथै एक किसिमको उत्सुकता थियो । यस्तो अवस्थामा श्रीमान साथमा हुँदा आत्मबल बढ्यो ।”
श्रीमान साथमा हुँदा उहाँले बलियो महसुस गर्नुभयो । “उहाँले पीडा हुँदा तिमी न आतिउ म यहाँ छु, हाम्रो बच्चा आउँदैछ भनेर सान्त्वना दिँदा आत्मविश्वास बढ्यो ।” उहाँले थप्नुभयो। उहाँले दुःखाइ भएको ठाउँमा मसाज गर्दिनाका साथै पीडामा हुँदा निधारमा चुम्बन गर्दा पीडा सहने हिम्मत बढेको उहाँ सुनाउनुहुन्छ ।
उहाँले यो युनिटमा सहज तरिकाले आफूले चाहेको पोजिसनमा बच्चा जन्माएको सुनाउनुभयो । उहाँले बच्चा जन्मिसकेपछि बच्चा काखमा राख्दा प्रसव पीडा भुलेको अनुभव उहाँले सुनाउनुभयो ।
उहाँ भन्नुहुन्छ, “यो यात्रामा म एक्लै थिइनँ । पीडा मलाई भएको भए पनि मेरो हरेक पीडा मेरो श्रीमानले नजिकबाट महसुस गर्नुभएको थियो । हामी दुवैका आँखा रसाएका थिए ।त्यो क्षण हामी दुवैले एकैपटक महसुस गरेका थियौँ ।”
यो यात्रामा श्रीमानको साथ पाउँदा प्रसवको पीडा, सङ्घर्ष, त्रास सहन सहज भयो । सन्तान जन्मिसकेपछि हामी दुबैले हाम्रो सन्तानलाई सँगै स्वागत गर्यौं ।
यस्तो सेवा कम अस्पतालमा उपलब्ध छ
प्रसवको पीडादायी पलमा श्रीमानको साथ पाउँदा अविस्मरणीय हुने भएपनि नेपालका प्राय अस्पतालको प्रसूति कक्षभित्र पुरुष जान पाउँदैनन् । त्यही कारणले गर्दा अधिकांश महिलाले प्रसवको समयमा एक्लो महसुस गर्छनन् । नेपालमा श्रीमानसँगै राखेर बच्चा पाउने सुविधा निकै कम अस्पतालमा उपलब्ध छ । हालसम्म थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा, धुलिखेल अस्पताल र भरतपुर अस्पतालमा यस्तो सुविधा उपलब्ध छ ।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा २० वर्षदेखि श्रीमानसँगै राखेर बच्चा जन्माउने बर्थिङ युनिट सञ्चालनमा छ । तर यो युनिटको बारेमा धेरै अनभिज्ञ छन् । परोपकार प्रसूतिको अस्पतालमा ९० जनाभन्दा बढीले बच्चा जन्माउने गर्छन् जसमध्ये यो युनिटमा दैनिक १२ देखि १५ जनाले मात्र सेवा लिन्छन् ।
श्रीमान साथ पाउँदा मनोबल बढ्छ
अस्पतालका निर्देशक तथा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारीले बच्चा जन्माउँदा श्रीमानसँगै हुनुभनेको शारीरिक उपस्थितिमात्र नभइ भावनात्मक एकता भएको बताउनुहुन्छ ।
श्रीमानसँगै राखेर बच्चा जन्माउँदा प्रेम र जिम्मेवारीको अनुभूति हुने उहाँको भनाइ छ । प्रसवको बेलामा श्रीमान साथमा हुँदा महिलाको मानसिक स्वास्थ्यका लागि सकारात्मक प्रभाव पर्ने डा. अधिकारी बताउनुहुन्छ ।
नर्मल प्रसूति वार्डमा बच्चा जन्माउँदा श्रीमान जान नपाउने कारणले प्रवसमा रहेकी श्रीमतीको चिन्ताले सताउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“बर्थिङ युनिटमा सेवा लिने सेवाग्राही खुसी हुनुका साथै ढुक्का महसुस गरेको हामीले पाएका छौँ । प्रसवको समयमा श्रीमान साथमा हुँदा महिलाको मनोबल बढ्ने गर्छ ।”
बर्थिङ युनिटकी इन्चार्ज ललिता श्रेष्ठले अस्पतालको यो युनिटमा दक्ष प्रसूतिकर्मीको सहायताले बच्चा जन्माउने गरेको बताउनुहुन्छ । यो युनिटमा प्रसव पीडामा भएकाको दुःखाइ कम गर्नुका साथै सेवाग्राहीले जसरी सजिलो हुन्छ त्यसरी नै बच्चा जन्माउने अवसर पाउने उहाँ बताउनुहुन्छ ।
बच्चा जन्माउँदा श्रीमानमा साथमा हुँदा सेवाग्राहीले सुरक्षित महसुस गर्ने गरेको अनुभव उहाँ सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो युनिटमा प्रसवको समयमा श्रीमान साथमा राखेर दुखेको बेलामा ढाडमा हल्का मालिस गर्न सिकाउँछौँ । हात समाएर गर्भवतीलाई कोठा वरपर हिंड्न लगाउने गर्दा श्रीमान/श्रीमती दुवै खुसी हुन्छन् ।”
यो युनिटमा के कस्ता सुविधा हुन्छन्
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा बर्थिङ युनिट परिवारमैत्री प्रसूति सेवाको मोडेलमा स्थापना गरिएको छ । हाल यो वार्ड १२ शय्याको छ । यो युनिटमा श्रीमानको साथ र मिडवाइफ (दक्ष प्रसूतिकर्मी)को सीपले प्रसव सुरक्षित र सहज हुने युनिटकी इन्जार्च श्रेष्ठ बताउनुहुन्छ । यहाँ गर्भवतीले जसरी मन लाग्यो त्यसरी नै बच्चा जन्माउने सुविधा उपलब्ध छ । उहाँका अनुसार यो युनिटमा म्याट भुइँमा राखेर बच्चा जन्माउने सुविधादेखि दुःखाइको बेलामा बर्थिङ बलको सहायता लिने, विभिन्न सपोट सिस्टम राखेर यो यात्रालाई जतिसक्दो सहज बनाउने गरिन्छ ।
उहाँ भन्नुहुन्छ,“यो युनिटमा दक्षप्रसूतिकर्मीको सहायतामा प्राकृतिक रुपमा बच्चा जन्माउने गरिन्छ । महिलाले इच्छा अनुसार बच्चा जन्माउने गर्छनन् ।” यदि यो प्रक्रियामा कुनै पनि समस्या भएमात्र चिकित्सक सहयोग लिइने श्रेष्ठ बताउनुहुन्छ ।
दुःखाइको समयमा बर्थिङ बलमा जसरी सहज हुन्छ त्यसरी बस्ने, प्रसवको बेला कठिन भएको बेला मालिस गर्न लगाउने । श्रीमानले नजिक बसेर मालिस गरिदिनाले बच्चा छिटो जन्मने अध्ययनले पनि देखाएको छ । श्रीमान साथमा हुँदा प्रसव पीडामा हुने जटिलता कम हुने श्रेष्ठ बताउनुहुन्छ । यहाँ पीडा कम गर्न सेवाग्राहीले गीत सुन्ने वा भजन सुन्ने, श्रीमानसँग गफ गर्ने व्यवस्था छ ।
बच्चा जन्मिएपछि दुई घण्टा अवलोकनमा राखेर सबै सामान्य भएपछि मात्र वार्डमा सार्ने गरेको श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बच्चा जन्मिसकेपछि एक घण्टा बच्चालाई आमाको छातीमा टाँसेर राख्छौँ, बच्चालाई दूध खुवाउन सिकाउने, परिवारका सदस्यलाई कुन पोजिसन दूध आउँछ भनेर सिकाउने गरिन्छ ।” आमाको रगत बग्न रोकिएपछि र बच्चाले दूध खाएर दिसा पिसाब गरिसकेपछि नर्मल वार्डमा सार्ने गरेको उहाँ बताउँनुहुन्छ ।
यहाँ सेवा लिन के गर्नुपर्छ
स्त्रीरोग विशेषज्ञ डा.अधिकारीले प्रसव पीडा सुरु भएपछि अवस्था हेरेर सामान्य भएमा अस्पतालले नै बर्थिङ् युनिटमा पठाउने बताउनुहुन्छ ।
उच्च रक्तचाप छ, अन्य स्वास्थ्य समस्या देखिएका छन् भने आमा र बच्चा जोखिममा छ भने यो युनिटमा रिफर नगरिने डा.अधिकारी बताउनुहुन्छ । यो युनिटमा बच्चा जन्माउँदा नर्मल डेलिभरी हुने भएकाले चिकित्सकको आधा काम कम हुने उहाँ बताउनुहुन्छ ।